काठमाडौः प्युठानको सरुमारानी गाउँपालिका-६ पाङवाङबाट भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
६४ वर्षीय सुकराम मगरलाई भरुवा बन्दुक १ थान, सोही बन्दुकमा लाग्ने छर्रा १४ थान र फलामको टुक्रा १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
लेनदेनको विवादमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर राना मगरलाई सुकराम पुनले भरुवा बन्दुक सहित घरमा गई बन्दुक ताकेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले मगरलाई उक्त हातहतियात सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी अछामको रामारोशन गाउँपालिका- ६ पुदुबाट १ थान भरुवा बन्दुक सहित सोही गाउँपालिका भाटाकाटिया बस्ने २२ वर्षीय लाल बहादुर साउद र २१ वर्षीय जगत बहादुर साउदलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी शान्तडाबाट खटिएको प्रहरीले उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका माथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
