
काठमाण्डौ: नेपाली काँग्रेसले कानून बमोजिम हुने हरेक कुरामा आफ्नो पार्टीको समर्थन हुने प्रतिबद्धता जनाएको छ ।
मंगलबार पार्टी मुख्यालय सानेपामा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्ना रौतहटका सांसद मोहम्मद आफ्ताब आलमका सम्बन्धमा उक्त प्रतिबद्धता जनाएका हुन् ।
२०६४ सालमा बम विस्फोटमा परी घाइते भएकाहरूलाई ज्युँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोगमा जेल गएका आलमलाई पार्टीले कारबाही नगरेको सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले कानुनअनुसार हुने कुरा पार्टीलाई मान्य हुने बताए ।
पत्रकारले आलमका बारेमा सोधेको प्रश्नको जवाफ दिदै प्रवक्ता शर्माले राज्यबाट कानून बमोजिम हुने कार्यलाई पार्टीले सहयोग र समर्थन गर्ने बताएका हुन् ।
निज आरोपित काँग्रेस सांसद आलम जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि कारागार चलान भइ हाल नख्खु कारागारमा जेल जीवन बिताइरहेका छ्न् ।
प्रवक्ता शर्माका अनुसार, ‘काँग्रेस लगायत दल मिलेर फौजदारी अभियोग लागेमा निलम्बन हुने र ६ वर्ष चुनाव लड्न नपाउने कानुन बनाएका छौं । यस्ता घटनामा कानुन अनुसार हुने कुरा मान्य छ ।’ आलम पूर्पक्षका लागि नख्खु कारागारमा छन् ।