
काठमाण्डौः सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा एकमहिनादेखि संघर्षरत बीरगञ्जस्थित नेशनल मेडिकल कलेजले फेरी विद्यार्थीमाथि ज्यादती शुरू गरेको छ ।
एकमहिनादेखि शान्तिपूर्ण धर्ना गर्दै आएका विद्यार्थीहरु धर्ना सकेर कलेज, छात्रवास प्रवेश गर्न खोज्दा साँझ ५ बजे कलेज प्रशासनले मुल गेटमै ताला लगाएर विद्यार्थीहरुलाई कलेज प्रवेशमा रोक लगाएको हो ।
एमबिबिएस प्रथम वर्ष १८औँ ब्याजका झण्डै १०० जना विद्यार्थीलाई कलेज प्रशासनले कलेज प्रवेशमा रोक लगाएपछि विद्यार्थीहरू मुलगेट बाहिर अस्पताल क्षेत्रमा धर्नामा बसिरहेका छन् ।
सरकारले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजले लिएको रकम फिर्ता गर्नुपर्ने, कलेजमा अध्ययनरत विद्यार्थी भौतिक तथा प्राज्ञिक सुरक्षा हुनुपर्ने, विद्यार्थीमाथि कुटपिटमा संलग्नलाई कारवाही हुनुपर्ने लगायतका विभिन्न मागहरू विद्यार्थीहरुले अगाडि सारेका छन् ।
सरकारले पछिल्लोपटक पन्ध्र दिनभित्र शुल्क फिर्ता गर्न दिएको अल्टिमेटम अवधि सकिनै लाग्दा कलेज प्रशासनले विद्यार्थीमाथि ज्यादतीमा उत्रिएको विद्यार्थीहरूले आरोप लगाएका छन् ।
कलेज प्रशासनले विद्यार्थीमाथि अवरोध एवं आक्रमणका लागि सिनियार ब्याजकै विद्यार्थीहरूलाइ प्रयोग गर्दै आएको आन्दोलनरत विद्यार्थीको आरोप छ ।
निजी मेडिकल कलेजहरुको संस्थाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली निकट व्यावसायी बसुरुद्दिन अन्सारी नै विद्यार्थीमाथि आक्रमण र धम्कीमा उत्रिने गरेका छन् ।