काठमाण्डौं: प्यारालाइसिसले कुवेतको अस्पतालमा थला परेका भोजपुर नगरपालिका–१ हेलौछाका प्रेम सिंह राईको उद्धार गरिएको छ ।
उच्च रक्तचापका कारण बिरामी परेका वान्तावालाई नेपाली दूतावास र विभिन्न सङ्घ संस्थाको सहयोगमा अलजजिरा एयरलाइन्स मार्फत शुक्रबार नेपाल फर्काइएको हो ।
कम्पनीको तर्फबाट प्लेन टिकट, हालसम्मको अस्पतालमा उपचार खर्च र तलब कम्पनीले भुक्तान गरेपछि नेपाल फर्काइएको पारिवारिक स्रोतले जनाएको छ ।
केही समयअघि वैदेशिक रोजगारको सिलसिलामा कुवेत पुगेका राई कम्पनीमा काम गर्दागर्दै ढलेका थिए । “पारिवारिक अवस्था दयनीय रहेका कारण उपचार खर्च जुटाउन र समन्वय गर्दै नेपाल ल्याउनका लागि समस्या भएपछि सामाजिक सञ्जाल मार्फत सहयोग अपिल गरेका थियौँ”, अभियानकर्ता नुमा राईले बताइन ।
राईले भने, “हामीले सामाजिक सञ्जाल मार्फत धेरैभन्दा धेरै रकम सङ्कलन गर्न सक्षम भइसकेका छौं, सामाजिक सञ्जाल मार्फत उठेको रकमले प्रेमलाई आज हामीले नेपाल ल्याउन सकेका छौँ । अहिले पनि सहयोग उठ्नेक्रम जारी छ यो अभियानलाई निरन्तरता दिन्छौँ ।”
हाम्रो प्यारो भोजपुर फेसबुक पेजबाट सामाजिक सञ्जाल समूह मार्फत आह्वान गर्दै आएका अभियानकर्ताले सहयोग गरिसकेपछि सोको भौचर तथा पेजमा पोष्ट गरिदिनुहुन पनि अनुरोध गरेका छन् ।
प्रेमकी श्रीमती शीलाले आफ्नो श्रीमान् गत वर्ष फागुनमा विदेश जान्छु भन्दै काठमाडौँ गएका तर पछि एकैचोटी विदेशमा बिरामी परेको खबर सुनेको बताइन ।
