
काठमाण्डौं: जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष माईतीराज राईले स्वर्गीय बाबुको सम्झनामा ९६ जना छात्र/छात्रालाई पोशाक वितरण गरेका छन् ।
फूटवल म्याच हेरिरहेको अवस्थामा चट्याङ पर्दा २०७३ साल बैशाख ११ गते ज्यान गुमाएका बाबु जगतबहादुर राईको सम्झनामा अध्यक्ष राईले केपीलासगढी गाउँपालिका-५ सप्तेश्वरस्थित सप्तेश्वर आधारभूत विद्यालयका छात्र/छात्राहरूलाई पोशाक वितरण गरेका हुन् ।
सप्तेश्वर नै घर भएका राईले गाउँकै विद्यालयमा अध्ययनरत छात्र/छात्रालाई एक/एक सेट ट्र्याकसुट र टि–सर्ट वितरण गरेका हुन् ।
शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङ, केपीलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई, नेकपाका जिल्ला सचिव रामप्रसाद दङ्गालको हातबाट पोशाक वितरण गरेको अध्यक्ष राईले बताए ।
केपीलासगढी गाउँपालिकाको बाक्सिला फूटवल मैदानमा बाक्सिला गोल्डकपको नवौं संस्करण अन्तरगतको प्रतियोगीता सञ्चालन भइरहेको अवस्थामा चट्याङ पर्दा जगत बहादुरको घट्नास्थलमै मृत्यु भएको थियो । सो चट्याङबाट फूटवल प्रतियोगीता हेरिरहेका १२ जना दर्शक गम्भीर घाईते भएका थिए ।