
काठमाण्डौ: चिनियाँ राजदूत होऊ याङछी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बीच भेटवार्ता भएको छ ।
आइतबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री पुनले चीन सरकारले ६० मेगावाट क्षमता भएको अपर त्रिशुली ए जलविद्युत् आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् ।
उर्जामन्त्री पुनले गत महिना भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको र उक्त भ्रमणका क्रममा नेपाल-चीनबीच एक वर्षभित्र ऊर्जा र जलविद्युतको क्षेत्रमा सहकार्यको योजना बनाई कार्यान्वयन गर्ने समझदारी भएको स्मरण गराएका हुन ।
उनले दुवै देशबीच भएका समझदारीलाई अघि बढाउन संयन्त्रको दोस्रो बैठक छिट्टै आयोजना हुने विश्वास व्यक्त गरेका छन् ।
चिनियां राष्ट्रपति नेपाल भ्रमणका क्रममा सम्झौतमा भएको तमोर र माडी जलविद्युत आयोजनाको काम अघि बढिरहेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने मन्त्री पुनको भनाइ थियो ।
मन्त्री पुनले सुनकोशी मरिन डाइभर्सन परियोजनामा चिनियाँ ऋण सहयोगका लागी अर्थ मन्त्रालय मार्फत प्रक्रिया सुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाइदिन चिनियाँ राजदूतको ध्यानाकर्षण गराएका छन।
उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागी चिनियाँ लगानीकर्ताहरुको संख्यामा वृद्धि भइरहेको भन्दै सरकार र मन्त्रालयले पूर्ण रुपमा सहजीकरण गरिरहेको बताएका छन।
भेटमा चिनियाँ राजदूत यान्छीले चीन ऊर्जा क्षेत्रमा सहकार्यका लागि इच्छुक रहेको धारणा राखेकी छिन् ।
उनले चिनियाँ कामदारले व्यहोरिरहेका भिसाको समस्या, लगानीकर्ताका नीतिगत समस्या र बिजुलीको दररेट जस्ता समस्या समाधानमा ऊर्जामन्त्रीले खेलेको भूमिकाको प्रशंसा गरेकी छन् ।
चिनियाँ राजदूत यान्छीले ऊर्जामन्त्री पुनलाई चीनबाट युनान प्रान्तका गभर्नरको नेपाल भ्रमण हुन लागेको जानकारी दिँदै त्यस क्रममा ऊर्जा क्षेत्रमा सहकार्य गर्न आफूहरु इच्छुक रहेको धारणा राखेकी छिन् ।