
काठमाण्डौ: उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले नेपाली काँग्रेसका उम्मेदवारलाई सघाउने भएको छ ।
मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा राप्रपा संयुक्तको उम्मेदवार नभएपछि काँग्रेसलाई समर्थन गर्ने घोषणा गरेको हो ।
आइतबार नेपाली काँग्रेस र राप्रपा (संयुक्त)ले भक्तपुरको कमलविनायकमा आयोजना गरेको कार्यगत एकता घोषणासभा कार्यक्रममा राप्रपा संयुक्तले आफ्नो पार्टीको सम्पूर्ण भोट काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई दिने घोषणा गरेको हो ।
सो कार्यक्रममा राप्रपा संयुक्तका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह, दिनेश श्रेष्ठ, रामेश्वर थापा र भक्तपुरका अध्यक्ष रामशरण लामिछानेले राप्रपाको भोट नेपाली काँग्रेसका उम्मेदवारलाई हाल्ने गरी समर्थन गरेका थिए ।
कार्यगत एकता घोषणासभा कार्यक्रममा काँग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ, रमा पौडेल, भक्तपुर काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा र क्षेत्रीय सभापति जीवन खत्रीले राप्रपाको मतलाई समर्थन गरेका थिए ।