काठमाण्डौः नेपाल चिकित्सक संघको सदस्यता वितरण सम्वन्धी विवाद समाधान भएको छ ।
संघको केन्द्रीय कार्यालय बागबजारमा शनिवार अपरान्ह देखिएको सदस्यता वितरण सम्वन्धी विवाद टुंगिएको हो ।
यो बिवाद समाधानसँगै समय अवधी भित्र सदस्यताको रसीद काटदा नगदकै रुपमा चेकलाई पनि मान्यता पाउने भएको छ ।
प्रजातान्त्रिक समूह र प्रगतिशील समूहबीच यसअघि नयाँ सदस्यता वितरणमा प्रक्रिया नपुगेको भन्दै संघको केन्द्रीय कार्यालयमा शनिवार अपरान्ह विवाद भएको थियो ।
उक्त विवाद बढ्दै गएपछी चिकित्सक संघको केन्द्रिय कार्यालयमा प्रहरीले हस्तक्षेप समेत गरेको थियो । निर्वाचन समितिले मध्यस्ता गर्दै उक्त विवाद मिलाएको हो ।
आगामी माघ महिनामा हुने चिकित्सक संघको निर्वाचनमा यसपटक पनि नेपाली काँग्रेस निकट प्रजातान्त्रिक समूह र नेकपा निकट प्रगतिशील समूहबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
आगामी चुनावको लागि मतदान गर्न पाउनका लागि आज शनिवारसम्म सदस्यता लिनुपर्ने समयसिमा तोकिएको थियो । प्रमुख निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीले यसपटक सदस्यता ११ हजार बढी पुग्ने अनुमान भएको बताए ।
