काठमाण्डौः नेपाल आयल निगमले युरो ६ मापदण्डको इन्धन ल्याउने भएको छ ।
आगामी बैशाखबाट सर्वसाधारणले वातावरणमैत्री युरो ६ मापदण्डको इन्धन ल्याउन लागिएको हो ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) ले आफ्ना सबै रिफाइनरी केन्द्रमा युरो ६ मापदण्डको इन्धन अपग्रेड गर्ने भएपछि नेपालले पनि त्यही प्रकारको इन्धन ल्याउन लागेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए ।
नेपालले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट युरो ४ मापदण्डको इन्धन मात्र आयात गर्दै आएको छ ।
निगमले असोज पहिलो सातादेखि नै युरो ६ मापदण्डको इन्धन प्रयोग गर्न चाहने व्यापारीलाई अनुमति पत्र दिँदै आएको छ । वैशाखदेखि भने सर्वसाधारणले समेत प्रयोग गर्न पाउने निगमले जनाएको छ ।
युरो ६ मापदण्ड इन्धन ल्याएपछि विस्तारै युरो ४ मापदण्डको इन्धन विस्थापित गर्दै लगिने छ ।
