काठमाण्डौंः स्रष्टा चिनिने सिर्जनाले हो वा परिचयपत्रले ? नेपाल प्रज्ञा प्रतिष्ठानले गत आइतबारदेखि वितरण थालेको ‘लेखक स्रष्टा परिचयपत्र’ माथि स्वयं स्रष्टाहरूले नै प्रश्न उठाएका छन् । कुनै पनि सर्जक वा स्रष्टाका लागि उसको सिर्जना नै परिचय भएको भन्दै प्रज्ञाले बाँड्ने परिचयपत्रको औचित्यमाथि स्रष्टाले बहस थालेका हुन् ।
वृद्धवृद्धा, अपांगता भएका, एकल महिला–पुरुष, पत्रकार, किसान हुँदै सरकारले साहित्यकर्मीलाई पनि परिचयपत्र दिन खोजेको यो पहिलो पटक भने होइन । गीतकार राजेन्द्र थापाले पाँच वर्षअघि नेपाल संगीत तथा नाट्य प्रतिष्ठानबाट परिचयपत्र पाएका थिए । तत्कालीन उपराष्ट्रपतिको हातबाट स्रष्टाका रूपमा परिचयपत्र गलामा लगाए । त्यो परिचयपत्र अहिलेसम्म कतै देखाउनुपर्ने काममै आएन । घरको कुनचाहिँ कोठाको कुनामा छ, उनलाई नै पत्तो छैन । प्रज्ञा प्रतिष्ठानले वितरण थालेको स्रष्टा परिचयपत्रको हालत पनि यस्तै पो हुने हो कि भन्ने थापालाई लागेको छ ।
प्रज्ञाले ३६ औं प्राज्ञ सभाको अवसर पारेर परिचयपत्र बाँड्न सुरु गरेको हो । गत आइतबार समारोहका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीसहित संस्कृतिविद् सत्यमोहन जोशी, बैरागी काइँला, वासुदेव त्रिपाठी र गीता केशरीलाई लेखकका रूपमा परिचयपत्र वितरण गरेका थिए ।
साहित्यकर्मीलाई सरकारले औपचारिक परिचयपत्र वितरण थालिएको घोषणा उक्त समारोहमा गरिएको थियो । प्रज्ञाले तोकेको औपचारिक मापदण्डमा रहेर जोकोही स्रष्टाले लेखक परिचयपत्र प्राप्त गर्न सक्ने जनाएको छ । मापदण्डअनुसार परिचयपत्र पाउन भाषा, साहित्य, संस्कृति, दर्शन र समाजशास्त्र विषयमा कम्तीमा एउटा कृति प्रकाशित हुनुपर्नेछ । कृति प्रकाशित नभएको खण्डमा लेखक तथा अनुसन्धाताहरूले अन्तर्राष्ट्रिय जर्नलमा पाँच वटा लेख प्रकाशित गरेको हुनुपर्छ । यही मापदण्ड पुर्याएर लेखक परिचयपत्रका लागि स्रष्टाहरूले निवेदन पेस गर्न सक्नेछन् । यसका लागि प्रतिष्ठानले सदस्यसचिव जगतप्रसाद उपाध्यायको संयोजकत्वमा ११ जना सदस्यीय परिचयपत्र सिफारिस समिति गठन गरेको थियो । प्रतिष्ठानका अनुसार उक्त परिचयपत्र नै स्रष्टाका लागि मुलुकमा लेखकका रूपमा औपचारिक पहिचान हो । कान्तिपुर दैनिकबाट
