
दुई दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील राजु कर्माचार्यको नेपालभाषा गीति संग्रह ‘न्हापांगु पलाः’ सार्वजनिक भएको छ । यस संग्रहमा कर्माचार्यको शब्द, संगीत र स्वर रहेको ७ वटा गीतहरु संग्रहित छन् ।
काठमाडौंस्थित ग्रिन लिभ्स् रेष्टुरेन्टमा सम्पन्न विमोचन समारोहका प्रमुख अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधान, विशेष अतिथि वरिष्ठ संगीतकार राजु सिंह, अतिथिहरु वरिष्ठ गायक जुजुकाजी रजितः, संगीतकार जूगल डंगोल तथा सर्जक कर्माचार्यका पिता चक्रवीर कर्माचार्यले विमोचन गरे ।
यस गीति संग्रहमा रविन दर्शनधारीको संगीत संयोजनमा ‘त्वःताः वन छं’, रोमन भैलको संगीत संयोजनमा ‘भ्यालेन्टाइन’, फिरोज बज्राचार्यको. संगीत संयोजनमा ‘हिसिदुगु ख्वाः’ तथा जूगल डंगोलको संगीत संयोजन रहेको भक्तपुरको नेपालभाषाको गीत ‘धेपमैं’, ‘खुसिया किनारा’, ‘स्वयम्भुइ द्येके’ र सरस्वती मानन्धरको साथ रहेको युगल गीत ‘नु रे नु’ संग्रहित छन् ।
विमोचन समारोहमा सर्जक कर्माचार्यले ‘त्वःता वन छं’, ‘खुसिया किनारा’ र गायिका सरस्वती मानन्धरको साथमा युगल गीत ‘नु रे नु’ सुनाए भने राजन शाही निर्देशित, सोहन मानन्धरको छायांकन र सम्पादन रहेको ‘धेपमैं’ गीतको म्यूजिक भिडियो पनि प्रिमियर गरिएको थियो । यस म्यूजिक भिडियोमा अर्णेश्वरी शिल्पकार, श्यामसुन्दर शिल्पकार, विश्व भैल, राजु मानन्धर, शर्मिला कर्माचार्य, आशाकुमारी कवां, हेलबहादुर मानन्धर, लक्ष्मी लामाको अभिनय रहेको छ ।
मिक्सिङ र मास्टरिङ आर्टोम्यूज रेकर्डिङ स्टुडियोमा गरिएको यस गीति संग्रहमा संग्रहित ‘नु रे नु’ र ‘हिसिदुगु ख्वाः’ गीतको म्यूजिक भिडियो समेत तयार भइसकेको कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रम संचारकर्मी सुरजवीर बज्राचार्यले सञ्चालन गर्नुभएको हो ।
यो गीति संग्रहसँगै नेपालभाषा तथा नेपाली भाषाको सांगीतिक क्षेत्रमा अझ क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गर्ने सर्जक कर्माचार्य पाटन अस्पतालका वरिष्ठ ल्याब टेक्निसियन हुन् ।