सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सरकारले राम्रो गरेको छ तर जिम्मेवारी सकिएको छैन- डा.जोस भ्यान्डेलर, डब्लूएचओका नेपाल प्रतिनिधि

२०७७ श्रावण ८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कोभिड–१९ को रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपाल सरकारलाई गरिरहेको सहयोग र सहकार्यबारेमा बताइदिनुहुन्थ्यो कि ?

नेपाल विश्व स्वास्थ्य सङ्गठनको सदस्य राष्ट्र हो । संयुक्त राष्ट्रसङ्घको एक नियोगका रूपमा हामी विगत ६० वर्षदेखि नेपाल सरकारसँग सहकार्य गरिरहेका छौं । विशेषतः हामी सरकार त्यसमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग काम गर्छौ । महामारी बढ्न थाल्नेबित्तिकै नेपालले बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गर्यो । त्यस अवधिमा हामीले यहाँ कार्यरत हाम्रा कर्मचारीहरूलाई नयाँ प्रस्ताव गर्यौ । अहिले सबैजना कोभिडसँग जुध्न सरकार सँगसँगै गरिरहेका छौँ ।

हामीले सरकारसँग वृहत्तर क्षेत्रमा काम गर्यौ । एक शब्दमा भन्ने हो भने हामीले प्राविधिक सहयोग (टेक्निकल सपोर्ट) गर्यौ । प्राविधिक सहयोग थुप्रै क्षेत्रमा रहेको छ, जस्तो कि यस्तो बेला कुन–कुन सामग्रीहरू आवश्यक पर्छ भनेर पूर्वानुमान गर्न सहयोग गर्यौ, हामीसँग भएका समग्र महामारीको तथ्याङ्क विश्लेषण गर्न तथा यो कतातिर उन्मुख हुँदै छ भन्ने पत्ता लगाउन सहयोग गर्यौ । हामीले गाइडलाइन लेख्ने, हस्पिटलहरूलाई तयारी अवस्थामा राख्ने, तालिम दिने र सूचना प्रवाह गर्ने प्रक्रियामा पनि सहयोग गर्यौ । यी सबै क्षेत्रमा हामीले काम ग¥यौँ तर यी सबै सरकारले चालेको कदममा हाम्रो सहयोगमात्र हो ।

अन्य मुलुकसँग तुलना गर्दा कोभिड रोकथाममा नेपालले चालेको कदमलाई तपाईं कसरी लिनुहुन्छ ?

विश्वव्यापी रूपमा हेर्नुहुन्छ भने अझै पनि ‘सङ्क्रमण’ बढिरहेको छ र मृत्युदर स्थिर देखिन्छ । हामीले अमेरिकाको वृद्धिदर देख्यौँ, त्यस क्षेत्रको वृद्धि पनि देख्यौँ । त्यसका साथै अफ्रिकी क्षेत्रमा केस बढिरहेको छ, युरोपमा धेर–थोर उस्तै–उस्तै देखिन्छ । कैयौँ देशमा सङ्क्रमण तीव्र देखिन्छ । हामीले नेपालमा पनि त्यही देखिरहेका छौँ तर नेपालले जसरी सङ्कटको सामना गरिरहेको छ, मलाई लाग्छ-नेपालले राम्रो गरिरहेको छ । सरकारले निकै छिटो बन्दाबन्दी घोषणा ग¥यो, भारतबाट मानिसले नेपाल प्रवेश गर्न थालेपछि तत्काल उनीहरूलाई क्वारेन्टाइनमा राख्यो ।

नेपालमा हामीले देखेको यो महामारी निकै विशेष र फरकखालको छ । सङ्क्रमितको सङ्ख्या वृद्धि भएर फेरि घट्न थालेको छ । नेपालमा सङ्क्रमितमध्ये ठूलो सङ्ख्या भारतबाट फर्किएकाहरूको छ । निकै सानो सङ्ख्यामा मात्र ट्रान्समिसन (फैलिएको) देखिएको छ । यहाँ समुदायगत रूपमा अहिलेसम्म त्यत्रो ठूलो सङ्क्रमण फैलिएको छैन । सङ्क्रमित बढ्नुका कारण पनि भारतबाट फर्किएकाहरूको सङ्ख्याकै कारण हो । जति भारतबाट फर्किनेको सङ्ख्या छ, त्यति नै सङ्क्रमितको बिन्दु माथि पुगेको छ । त्यसैले यो नेपालको विशेष परिस्थिति हो । यो निकै भिन्न छ, ९० प्रतिशत विदेशबाट फर्किएकाहरूमध्ये जसमा अधिकांश भारतबाट फर्किएकाहरू छन्, तिनमा ९० प्रतिशतको पीसीआर टेस्ट पोजिटिभ देखिएको छ ।

यसका अलावा हामीले नेपालमा अर्को तथ्य पनि देखिरहेका छौँ कि अधिकांश भारतबाट फर्किकाहरू युवा, त्यसमा पनि पुरुष छन् । त्यसैले यहाँका सङ्क्रमितहरूको तथ्य हेर्दा अधिकांश युवा पुरुषहरू देखिन्छन् । हामीलाई थाहा छ कि विश्वव्यापी अनुभवमा कोभिडले युवालाई कम प्रभाव पार्छ, युवामा कि त लक्षण नै देखिँदैन देखिए पनि निकै कम देखिन्छ र तिनीहरूको मृत्यु हुँदैन । त्यसैले नेपालमा नेपालको केस गैरलक्षणयुक्त छ र मृत्यु निकै कम छ ।

अहिलेसम्म समुदायगत रूपमा सङ्क्रमण फैलिएको नदेखिुनमा चाहिँ बन्दाबन्दी र क्वारेन्टाइनलाई धन्यवाद भन्नैपर्छ । क्वारेन्टाइनको व्यवस्थापनबारे केही विवादहरू रहेकोबारे हामी जानकार छौँ । सुरुमा क्वारेन्टाइनमा क्षमताभन्दा बढी मानिस हुने, चाहिनेजति सुविधा नहुने समस्या थियो । तर, त्यहाँबाट छनोट भएर पोजेटिभ देखिएकाहरूलाई अस्पतालमा राखेका कारणले सङ्क्रमण समुदायमा सर्न पाएन । हामीसँग खराब नतिजा नभए पनि सङ्क्रमणको ठूलो खतरा अझै टरेको छैन । कुनै न कुनै बिन्दुमा पुगेर सङ्क्रमण समुदायमा फैलन सक्छ । यदि तपाईं सहरी क्षेत्रको वरिपरि हेर्नुहुन्छ भने मानिस भौतिक (सामाजिक) दूरी कायम गरिरहेका छैनन् । मानिसले जे गर्नुपर्ने थियो त्यो गरिरहेका छैनन्, भाइरस सर्नका लागि जे चाहिन्छ त्यो गरिरहेका छन् । यदि तपाईं आपसमा अति नजिक भएर बस्नुहुन्छ, हात धुनुहुन्न, मास्क प्रयोग गर्नुहुन्न भने भाइरस सर्न सुरु हुन्छ ।

मलाई नेपालमा सङ्क्रमण फैलिन्छ कि भनेर एकदम डर लागिरहेको छ । अन्य देशहरूको अनुभवले भन्छ– एकपटक त्यस्तो भएमा नियन्त्रण गर्न निकै कठिन हुनेछ । सम्भवतः नयाँ बन्दाबन्दी वा स्थानीयस्तरको बन्दाबन्दी पुनः एकपटक आवश्यक पर्नेछ । म किन यसो भनिरहेको छु भने हामीले अन्य देशहरूमा देखेका छौँ– यो बिस्तारै सुरु हुन्छ र ह्वात्त बढ्छ । अन्य देशको फरक के छ भने उनीहरूमा नेपालमा जस्तो आप्रवासनबाट फर्किएकाहरू धेरै सङ्ख्यामा थिएनन् ।

यसको मतलब, डब्लुएचओको प्रतिनिधिका रूपमा तपाईं नेपाल सरकारले चालेको कदमप्रति सन्तुष्ट हुनुहुन्छ ?

मैले सबै एकदम ठिकठाक छ भनिरहेको छैन । जहिले पनि गरिरहेकोभन्दा राम्रो गर्ने ठाउँ हुन्छ । मैले भनेँ-बन्दाबन्दी निकै कठिन निर्णय हो तथापि निकै चाँडो गरियो र यसले काम गरेकोजस्तो पनि देखियो । क्वारेन्टाइन पनि मानिसका लागि कठिन निर्णय हो तर यसले पनि काम गरेको देखियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई तयारी अवस्थामा राख्यो । स्वास्थ्य सामग्रीहरूको तयारी राम्रो छ, जुन अझै जारी राख्न जरुरी छ । मलाई लाग्छ, सङ्क्रमण बढ्नेबित्तिकै, जुन सम्भावना देखिँदै छ, यसका लागि धेरै मानिस प्रशिक्षित भइसकेका छन् ।

सरकारले राम्रो गरेको छ तर जिम्मेवारी अझै सक्किएको छैन । अब कन्ट्र्याक ट्रेसिङतिर ध्यान दिनु जरुरी छ । यो निकै महत्वपूर्ण छ । सरकारले अब कन्ट्र्याक ट्रेसिङको काममा सुधार गर्न जरुरी देखिन्छ । मलाई लाग्छ, सङ्घीय सरकारले जे गर्न सक्छ गरिरहेको छ, त्यसमा स्थानीय र प्रादेशिक सरकारले पनि आफ्नो भूमिका बढाउनुपर्छ । यदि फेरि सङ्क्रमण बढेमा स्थानीय र प्रादेशिक सरकारको भूमिका निकै महत्वपूर्ण हुनेवाला छ ।

तीनै तहका सरकारबीच आवश्यक सहकार्य भइरहेको देख्नुभएको छ ?

मैले के भन्न खोजेको हो भने ठूलो सङ्ख्याका डब्लुएचओका कर्मचारीहरू स्थानीय र प्रादेशिक सरकारसँग काम गरिरहेका छन् । नेपालमा अझै सङ्घात्मक व्यवस्थाले पूर्णता पाउनेक्रम जारी छ । यसले केही अप्ठ्यारो सिर्जना गरेको छ । प्रत्येकले एकआपसमा कसरी काम गर्ने ? सङ्घात्मक सरकारमा कसको जिम्मेवारी के हो भन्ने सिक्न जरुरी छ । मलाई थाहा छ, सङ्घीय सरकारले प्रादेशिक सरकारले चालिरहेको कदमसँग सहकार्य गर्न तथा एक आपसले के गरिरहेका छन् भन्ने बुझ्न साप्ताहिक भिडियो बैठक गरिरहेको छ । तर, यसमा अझ थप सहकार्य आवश्यक छ । सङ्घात्मक व्यवस्थाले सरकारलाई ७५३ वटा स्थानीय पालिकाहरूसँग काम गर्ने र सहयोग गर्ने अधिकार दिएको छ । यसमा सबैले साथ दिन जरुरी छ । हाम्रोतर्फबाट प्रत्येक प्रदेशमा धेरैभन्दा धेरै कर्मचारीहरू राखेर सहयोग गर्न तयार छौँ । र, स्वास्थ्य प्रणालीमा काम गरिरहेका हाम्रा कर्मचारीहरूले महामारी तथा इम्युनिटाइजेसनमा प्रादेशिक र स्थानीय सरकारलाई बलियो बनाउन सहयोग गरिरहेका छन् ।

अहिलेसम्म कोभिडविरुद्ध चालेको कदम हेर्दा दक्षिण एसियाली देशहरूको तुलनामा नेपाल कुन स्थानमा रहन्छ ?

समग्रमा हेर्दा दक्षिण–पूर्वी एसियामा सङ्क्रमण बढिरहेको छ र यसमा मुख्य हिस्सा भारतको छ । त्यहाँ सङ्क्रमण बढिरहेको छ । विभिन्न मिडियाबाट आएको तथ्याङ्क हेर्दा मलाई लाग्छ, त्यहाँ करिब दस लाख सङ्ख्या पुगिसकेको छ । यसले यो क्षेत्रको तथ्याङ्कमा वृद्धि गरेको छ । बङ्गलादेशमा पनि सङ्ख्या बढिरहेको हामीले पाएका छौँ । थाइल्यान्डजस्ता केही देशले राम्रो गरिरहेका छन् । इस्ट टिमोरमा केही महिनायता कुनै सङ्क्रमण छैन । अन्य केही देशहरूमा तीव्र वृद्धि पनि देखिएको छ भने केहीमा त्यस्तो तीव्र वृद्धि छैन । नेपाल सम्भवतः यसैमध्ये बीचतिर पर्छ ।

महामारीले विश्वभरको राष्ट्रिय आर्थिक प्रणाली ध्वस्त पारेको छ । नेपाल पनि यसबाट अछुतो छैन । आर्थिक गतिविधि चलायमान बनाउन पर्यटन, यातायात तथा व्यापार व्यवसाय खोल्नुपर्ने ठूलो दबाब छ । के तपाईंलाई लाग्छ कि यो व्यापार पुनः खोल्ने उपयुक्त समय हो ?

सरकार निकै अप्ठ्यारो अवस्थामा छ । यदि तपाईं पूरापूरा स्वास्थ्यको दृष्टिकोणबाट हेर्नुहुन्छ भने बन्दाबन्दी गर्नुपर्छ, यसले काम गर्नेछ । हामीले देखेका छौँ, जब बन्दाबन्दी हुन्छ, त्यस्तो बेला निकै कम केसहरू देखापर्छन् । तर, मानव समाजलाई सामाजिक संवाद पनि आवश्यक पर्छ । त्यसैले सरकारको जिम्मेवारी मानिसको आवश्यकता र स्वास्थ्यबीच सन्तुलन मिलाउनु हो । हामीले खतरा र आर्थिक प्रभावमध्ये कुन महत्वपूर्ण हो भन्ने विचार पुर्याउनुपर्छ ।

बन्दाबन्दी खुकुलो पार्नाले त्यसै पनि आर्थिक गतिविधिमा केही सकारात्मक प्रभाव पारिसकेको छ । धेरैजसो क्षेत्र बिस्तारै खुल्दै गएका छन् । यद्यपि अहिलेसम्म पूर्ण खुला केही पनि छैन । पसल तथा रेस्टुरेन्टहरू केही खुल्न थालेका छन् । तर, अझै पनि हामी खतराभन्दा बाहिर छैनौँ । तपाईंले सोध्नुभएको पर्यटन र यातायातबारे चाहिँ मलाई भन्न गाह्रो छ । मेरो उत्तर भनेको कुनै उत्तर छैन । तपाईंले खतरा र फाइदालाई एक-आपसमा तौलिनुपर्छ । यदि तपाईं कुनै पनि यातायात सञ्चालन गर्नुहुन्छ भने मानिस सङ्क्रमित नहुने उपायहरू अपनाउनुपर्छ ।

यी विषयहरूमा सीसीएमसी, स्वास्थ्य मन्त्रालयले सहकार्य गरिरहेको छ । तपाईंले नेपालले राम्रो गरिरहेको छ त भन्नुभयो, योभन्दा अझ राम्रो कसरी हुन सक्छ ?

त्यसमा एउटा विशेष क्षेत्र सञ्चार हो । मानिस के भइरहेको छ भन्ने जान्न एकदम उत्सुक छन् । हामीले गरेको यो छलफलले पनि परिस्थिति के भइरहेको मानिसलाई बुझ्न थोरै मद्दत गर्छ । सरकारको तर्फबाट सरकारले वास्तवमा के गरिरहेको छ भन्नेबारे अलि धेरै र प्रभावकारी ढङ्गले प्रचार गर्नपर्छ । मलाई लाग्छ, अधिकांश समय मानिस सरकारले के–कस्तो तयारी गरिरहेको छ भन्ने थाहा पाउँदैनन् । अस्पताल तथा स्वास्थ्य सामग्रीहरूको तयारीका लागि धेरै काम भइरहेको हुन्छ तर मानिसले वास्तविक के भइरहेको छ भन्ने जानकारी पाउँदैनन् । यसले उनीहरूमा आक्रोश पैदा गर्छ । मलाई लाग्छ, सरकारले सञ्चार प्रक्रियालाई सुधार गर्नुपर्छ । त्यसले स्वास्थ्य तथा गैरस्वास्थ्यको क्षेत्रमा पनि मानिसलाई किन यस्तो प्रकारका निर्णयहरू भइरहेको छन् भन्ने बुझ्न मद्दत गर्छ । जसले उनीहरूको जीवन, अर्थतन्त्र तथा समाजमा प्रभाव पार्छ । त्यसैले सञ्चार प्रक्रियामा सुधार ल्याउनु एउटा निश्चित काम हो ।

नेपाल सम्पन्न देश हैन । नेपालभन्दा सम्पन्न देशहरूले पनि कतिपय सन्दर्भमा जति नेपालले गर्यो, त्यति गर्न सकेनन् । यसको मतलब मैले नेपालमा एकदम राम्रो भयो भनिरहेको छैन । ममात्र यो भनिरहेको छु कि बन्दाबन्दीले राम्रो प्रभाव पार्यो, केही विवादबाहेक क्वारेन्टाइन राम्रो भयो । रोग नियन्त्रणको दृष्टिकोणबाट त्यो राम्रो देखियो । अब पछि धेरै सङ्क्रमण देखिएमा अस्पतालहरूको क्षमताले कसरी काम गर्छ ? अस्पतालमा सीमित शैया छन् । के त्यसले धान्ला त ? यी भने हेर्न बाँकी नै छ । तर, निश्चय पनि अस्पतालमा भएका केही कामहरूमा सुधार आएको छ । सङ्क्रमण नियन्त्रणका मापदण्ड, तालिम, अक्सिजन सिलिन्डर, भेन्टिलेटरहरू थपिरहेका छन् । यी सबै ठीक ठाउँमा राखिएका छन् । त्यसैले यदि ‘सिरियस केस’ आइहालेमा पनि उपचार गर्न सकिने छ ।

एक मेडिकल डक्टरका रूपमा, यो भाइरसले विश्वलाई कहिलेसम्म सताउला भन्ने लाग्छ ?

मलाई थाहा छैन । साँच्चि नै मसँग कुनै स्पष्ट उत्तर छैन । ठूलो आशा भनेको नै भ्याक्सिन पत्ता लाग्नेछ, उपचार पत्ता लाग्नेछ भन्ने हो । जब भ्याक्सिन भेटिनेछ, सबै चीजहरूबारेको छलफल नै अर्कै तरिकाबाट हुनेछ ।

डब्लुएचओले भ्याक्सिन विकासका लागि विभिन्न देशहरूसँग समन्वय गरिरहेको छ । संसारले त्यो भ्याक्सिनका लागि कति कुर्नुपर्ला ? के भ्याक्सिन निर्माण भएपछि साँच्चि नै सबै देशले त्यो समान ढङ्गले प्रयोग गर्न पाउलान् ?

सामान्यतः यस्तो कामका लागि वर्षौं लाग्छ । हाल विश्वमा करिब एक सयवटा संस्थाहरूले भ्याक्सिन निर्माणको प्रयास गरिरहेका छन् । जे भए पनि यो सुरक्षित र काम लाग्ने हुनुपर्छ । हामीलाई थाहा छैन भ्याक्सिन कसरी निर्माण गरिँदै छ र यसले काम गर्छ कि गर्दैन ? यदि तिनीहरू सुरक्षित भएनन् भने हामी बजारमा ल्याउन सक्दैनौँ । यदि तिनीहरू सुरक्षित भए भने पनि काम गर्छ कि गर्दैन भन्ने प्रश्न हुन्छ । केही भ्याक्सिनले जटिल केसमा मात्र काम गर्छ । थाहा छैन कुनचाहिँ भ्याक्सिन प्रयोगका लागि सबैभन्दा उपयुक्त हुनेछ । विश्वव्यापी रूपमा हेर्दा, उद्घोषलाई मान्ने हो भने अर्को वर्ष वा कुनै–कुनै त्यसभन्दा केही अगाडि पनि प्रयोगमा आउन सक्छन् । यी सबै भ्याक्सिनको परीक्षण विभिन्न चरणमा छ । महत्वपूर्ण प्रश्नचाहिँ यसको उत्पादन हो । विश्वका सात अर्ब मानिसका लागि यो उत्पादन गर्नुपर्छ । दोस्रो कुरा, भ्याक्सिनको मूल्य पनि हो । अहिले कसैले मूल्यको कुरा गरिरहेको छैन । तर, जसले उत्पादन गर्छ उसलाई त तिर्नुपर्छ । डब्लुएचओले गरिब देशहरूले पनि कसरी सामान्य मूल्यमा भ्याक्सिन पाउन सक्छन् भनेर काम गरिरहेको छ । जब भ्याक्सिन उपलब्ध हुनेछ, यो संसारका सबै देशमा वितरण गरिनेछ र नेपालले पनि अन्यले जस्तै पाउने सम्भावना हुनेछ ।

अन्त्यमा, हाम्रा पाठकले जान्नैैपर्ने तर हामीले छुटाएको केही विषय रह्यो कि ?

सायद डब्लुएचओ र स्वास्थ्य मन्त्रालयबीचको सहकार्यबारे केही गलत बुझाइ रहेको छ । डब्लुएचओ एउटा सल्लाहकारमात्र हो । डब्लुएचओसँग यो गर्ने वा नगर्ने भन्ने कुनै निर्णयाधिकार हुँदैन । हामी विश्वभर राष्ट्रियस्तरमा के गर्न सकिन्छ भनेर सल्लाहमात्र दिन सक्छौँ । डब्लुएचओ सरकारसँग काम गर्छ तर आफैँ केही गर्दैन । हामी परिस्थिति हेरेर मानिसको स्वास्थ्यमा सुधारका लागि सहयोग गर्छौं, तथ्याङ्क उत्पादन गर्छौं, त्यसको विश्लेषण गरेर हाम्रो अनुभवका आधारमा सल्लाह दिन्छौँ । हामी नेपाली जनताको स्वास्थ्यमा सुधारका लागि सरकारसँग काम गर्छौं । हामी सदस्य राष्ट्रबाट निर्देशित हुन्छौँ । कोभिडजन्य परिस्थितिमा हामीले हाम्रा सहकर्मीहरूलाई सरकारका सहकर्मीहरूका साथसाथै खटाइरहेका छौँ । हामीलाई लाग्यो कि प्राविधिक तहमा हामीले सहयोग गर्न सक्छौँ, त्यसैले सहयोग गरिरहेका छौँ । सबैलाई मेरो अन्तिम सन्देशचाहिँ यो हो-कृपया दूरी कायम राख्नुहोस् । गोरखापत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘जनतासँग टुटेको सम्बन्ध जोड्नु नै एमाले पुनरुत्थानको पहिलो सर्त हो’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘अदालतबाट शेरबहादुर देउवाको नेतृत्वले वैधानिकता पाउनेमा विश्वस्त छौँ’ : डा. प्रकाशशरण महत (अन्तवार्ता)

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी (अन्तवार्ता)

१८ करोडको चर्चा निराधार, निष्पक्ष अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)

‘रास्वपासँग फेरि एकता गर्ने योजना छैन, उज्यालो नेपाललाई आफ्नै रोडम्यापअनुसार अघि बढाउँछौँ’ : कुलमान घिसिङ

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल (अन्तवार्ता)

‘ओली-प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन किनारामा पुग्यो’ : हरिबोल गजुरेल (अन्तवार्ता)

‘अधिवेशन बिथोल्न क्षेत्रीय सभापतिकै योजनामा फलामको भाटासहित आक्रमण गरियो’ : डा. डिला संग्रौला (अन्तवार्ता)

‘संविधान लोकतान्त्रिक छ, यसलाई बचाएर लैजान्छन् भन्ने विश्वास छ’ : पूर्वराष्ट्रपति रामबरण यादव (अन्तवार्ता)

‘तिहार–छठपछि सरकारलाई खबरदारी गर्न वैचारिक आन्दोलन गर्छौं’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

भोटेकोशी बाढीपीडितलाई दसैंअघि अस्थायी घर, दुई वर्षभित्र स्थायी बस्ती उपलब्ध गराउछौं : पूर्वाधारमन्त्री, सुनिल लम्साल