पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान घोषणा भएको छ, यसको उद्देश्यचाहिँ के हो ?
अहिले मुख्य रूपमा दुई वटा ठुला वामपन्थी पार्टी नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेको नेतृत्वमा ध्रुवीकरण नहुने भयो । आन्दोलनमा वामपन्थी शक्तिहरू सहभागी भएको भए वा भूमिका निर्वाह गरेको भए अर्को ढंगले ध्रुवीकरण हुन्थ्यो । आन्दोलनमा उनीहरूको सहभागिता भएन, कोही आन्दोलन दमन गर्ने, कोही तमासे बन्ने अवस्था बन्यो । त्यसले कम्युनिस्टहरू अलि साइडमा परे ।
साइडमा परेका कम्युनिस्टलाई कसरी जगाउने ? धेरै कम्युनिस्ट पार्टी छरिएर बनेका छन्, स्वतन्त्र व्यक्तिहरू छन् । ती सबैलाई एक ठाउँमा कसरी ल्याउने ? केपी शर्मा ओलीजी र प्रचण्डजीको नेतृत्वमा त्यो सम्भावना सकियो । विकल्पमा झलनाथ खनालले पहल गर्दा केही सम्भावना हामीले देख्यौँ । त्यसैले उहाँलाई अगाडि सारियो ।
झलनाथ पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तित्व हुनुहुन्छ । पार्टी अध्यक्ष तथा महासचिव भइसक्नुभएको व्यक्ति हुनुहुन्छ । उमेर र स्वास्थ्यले पनि साथ दिने अवस्था देखिँदैन । पटक पटक जनतामा टेस्टेड भइसकेको व्यक्तिको नेतृत्वमा फेरि समाजवादी जागरण अभियानले उचाइ लिन्छ भन्ने सुनिश्चिता के छ ?
अहिले निराशा बढ्दै गइरहेको छ । ओलीजी पनि नेतृत्वमा रहिरहने जस्तो देखिन्छ । प्रचण्ड पनि नेतृत्वमा रहिरहने । कम्युनिस्ट आन्दोलन झन् निराशातिर गइरहेको स्थितिमा नयाँ युवाहरूलाई नै हामीले आकर्षित गर्ने हो । २०२५ सालमा विघटन भएको कम्युनिस्ट आन्दोलनलाई पुष्पलालले फेरि सम्मेलन गरेर नयाँ सिराबाट विचार राजनीति अगाडि सारे, युवाहरूलाई आकर्षित गरे । मदन भण्डारी, प्रचण्ड पनि पुष्पलालले आकर्षित गरेका युवा थिए । पुष्पलालले त्यो पहल गर्दाखेरि अरूले पनि पहल गरे, झापा विद्रोह भयो, चौथो महाधिवेशनबाट जनवादी क्रान्तिको र सशस्त्र संघर्षको कुरा उठाउँदै झन् अगाडि आयो ।
त्यो बेला पुष्पलाल आफैँले त गर्न सक्नुभएन, तर पनि एउटा यस्तो वातावरण तयार गरिदिनुभयो कि जसले गर्दा नयाँ युवाहरू र कम्युनिस्ट आन्दोलन नयाँ राप र तापबाट अगाडि बढ्यो । त्यसले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएर पञ्चायतलाई पनि फाल्यो । राजतन्त्रलाई पनि फाल्यो, गणतन्त्र पनि आयो । त्यसैले समाजवादी क्रान्तिका लागि तत्काल हामीले के गर्ने भन्दाखेरि पुराना, नयाँ सबैलाई समेट्नुपर्ने आवश्यकता छ । त्यसरी समेट्दाखेरि केही युवाहरूलाई आकर्षित गर्ने एउटा वातावरण बन्छ कि भनेर कोसिस गर्दैछौँ ।
समाजवादी जागरण अभियानको स्वरुप कस्तो हुन्छ ? योजना के–के छन् ?
मुख्य कुरो कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हाबी भयो । त्यसको कब्जामा आन्दोलन पर्यो । त्यो कब्जाबाट मुक्त गर्ने वैचारिक राजनीतिक ढंगले नै हो । प्रचण्ड र ओली विचारमा स्खलन हुँदै जानुभयो । वैचारिक राजनीतिक धरातल छोड्दै गएपछि कार्यशैली, आचरणमा पनि स्खलन हुँदै गएको कुरो हो । त्यो स्थितिमा वैचारिक बहस गरेर समाजवादको कार्यदिशा कस्तो हुने ? नेपाली विशेषताको समाजवाद कस्तो हुने ? आर्थिक, सामाजिक, सांस्कृतिक पक्षहरू के हुने ? अहिलेको विश्व परिवेशमा सूचना प्रविधिको, विज्ञान प्रविधिको विकास भएको छ । विश्वमा पर्यावरणको समस्या पनि गम्भीर रूपमा अगाडि आइरहेको सन्दर्भमा कसरी नेपाली विशेषतासहित समाजवादलाई अगाडि बढाउने भन्ने बहस गराउने कुरो हो । पहिलो चरणमा तलसम्म बहस गराउने, छलफल गर्ने र वैचारिक राजनीतिक एउटा नयाँ निष्कर्षमा पुर्याउने छौँ । त्यसपछि के गर्ने भन्ने कुरो आउँछ । अहिले मुख्य विचारको स्पष्टता नै छैन ।
गत वर्ष निर्वाचनकै बेलामा झलनाथले पार्टीका उम्मेदवारहरूलाई जिताउन त्यति सक्रियता देखाउनु भएन भन्ने आरोप छ । तपाईंमाथि गुटबन्दी गरेको, बागी उम्मेदवारलाई सघाएको भनेर पार्टीले कारबाही नै गर्यो । हरिबोल गजुरेलले गुटबन्दीको विरोध गर्नुहुन्छ, तर आफैँ गुटबन्दीतिर लाग्नुहुन्छ भन्ने आरोप छ । त्यस्तै आरोप अन्य नेताहरूमाथि पनि छ । विगतमा पटक–पटक असफल भइसकेका पात्रहरूको नेतृत्वमा जागरण अभियान कति सम्भव छ ?
झलनाथजी पार्टीको नेतृत्वमा हुँदा होस्, चाहे नेतृत्व बाहिर हुँदा होस्, उहाँले उठाएका विषयवस्तुहरू मुख्य कुरो हो । मैले उठाएका विषयवस्तुको कुरा हो । खाली यो चुनावको कुरो वा पछिल्लो घटनाक्रम मात्रै हेर्ने होइन । मुख्य कुरो हरिबोल गजुरेलले के विषय उठाएको थियो ? झलनाथले के विषय उठाएको थियो ? उठाउँदै आएको विषय मुख्य कुरो हो । पार्टीमा सँगै सहयात्रा गरेका हुनाले यसमा हाम्रो पनि कमजोरी देखियो । किनभने हामीले त्यसलाई रोक्न सकेनौँ । गलत दिशातिर जानबाट पार्टीलाई रोक्न सकेनौँ । त्यसमा हाम्रो पहल समयमा पुगेन भन्ने कुरा रियलाइज गर्नुपर्यो । जिम्मा हामीले पनि लिनुपर्छ । आन्दोलनलाई अगाडि बढाउने जिम्मेवारी पनि लिनुपर्यो । सबै विषय हामीले उठाउँदै आएकै हो । विगत ५/७ वर्षदेखि नै विषयवस्तु हामीले उठाउँदै आएका छौँ । प्रमाणित रूपमा, तथ्यहरूसहित भोलि हामी ल्याउँछौँ । कहाँ–कहाँ के–के विषय उठान गरेको थियो, संसदमा के विषय उठान गरेको थियो, पार्टीमा लिखित रूपमा के विषय उठाइएको थियो, मिडियामा के उठान गरेको थियो भन्ने कुरा समीक्षा गर्दा कस्तो–कस्तो कामकारबाही गरेको थियो भन्ने प्रस्ट हुन्छ ।
पछिल्लो समय म पूर्व गएपछि कारबाही प्रक्रिया कसरी अगाडि बढ्यो, स्थानीय उपनिर्वाचनमा कसरी परिणाम आयो, यी सबै तथ्यहरू छन् । विचार राजनीतिको कुरा त्यहाँ बागी उम्मेदवारमा व्यक्त भयो । जेनजी आन्दोलन के सामाजिक सञ्जाल बन्द भएको कारणले भएको हो ? होइन नि । सामाजिक सञ्जाल बन्द गरिदिएको हुनाले जेनजी आन्दोलन भयो भन्ने हो त ? वर्षौंदेखि थुप्रिएर आएका समस्याहरू जेनजी आन्दोलनमा विस्फोट भएको हो । नेपाली कम्युनिस्ट पार्टीभित्र पनि जे–जे समस्या थिए, विचार राजनीतिलाई छोडेर दक्षिणपन्थी अवसरवादी भासमा फस्दै गएपछि त्यसका विरुद्धमा हामीले उठाएका आवाज हुन् । त्यो कुरा हामी तथ्यमा ल्याउँछौँ नि ! मैले अघि नै स्विकार गरिसकेँ, यसमा हाम्रो पनि कमजोरी भए । हामी जहाँ–जहाँ, जुन ठाउँमा, जुन तहमा भूमिका निर्वाह गर्नुपर्थ्यो, त्यो तहमा निर्वाह गर्न सकेनौँ । हामी कमजोर भयौँ भन्ने कुरा पनि रियलाइज गर्नुपर्ने कुरा छ, तर मुख्य कुरा हामी हैन– प्रचण्ड, केपी ओली, माधव नेपाल दोषी हुन् ।
तपाईंले २०४७ सालमा भएको नेकपा एकता केन्द्रको महाधिवेशनदेखि २०८२ फागुन २१ गतेसम्म मुख्य नेताको हैसियतमा प्रचण्डसँग सङ्गत गर्नुभयो । झन्डै ३१ वर्ष बाबुराम भट्टराई, मोहन वैद्य, मोहनविक्रम सिंहसँग पनि सहकार्य गर्नुभयो । वामपन्थी आन्दोलनको मुख्य समस्या के रहेछ ?
अहिले मुख्य समस्या ओली, प्रचण्ड, माधव नेपाल नै हो भन्ने कुरा एकदम क्लियर छ । आम जनताले पनि त्यो कुरा बुझिसकेको छ । आम कार्यकर्ताले पनि बुझिसकेका छन् । ती पार्टीमा रहेका हुन् या बाहिर रहेका हुन्, सबैले बुझिसकेका छन्, तर त्यसो भन्दैमा दोषी अरु पनि भए । त्यसका मतियार भइयो होला हामी । २०७५ सालमा नेकपा एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि लिखित रूपमै उठाएका विषय छन्, संसद्मा बोलेका विषय छन् । त्यसैले अबको सन्दर्भमा हामीले युवाहरूलाई कसरी आकर्षित गर्ने ? मलाई लाग्छ कि हामीले हाम्रा गल्ती कमजोरी कहाँ–कहाँ भए, त्यो स्पष्ट र खुला रूपमा लिएर जनतासमक्ष जानुपर्छ । बिस्तारै एकदम क्लियर हुन्छ ।
हामीले आकर्षित गरेर नेतृत्वको विकास युवाहरूकै गर्ने हो । हामीले नेतृत्व गरेर समाजवादी क्रान्ति गर्छौं भन्ने कुरो हैन । हामीले एउटा वातावरण, भूमि तयार गरिदिने हो, जसले गर्दा युवाहरू आकर्षित हुन्, पहल लिउन् । सबै पार्टीहरूमा भएका क्रान्तिकारी युवाहरू, कम्युनिस्टहरू, स्वतन्त्र रहेका सबै युवाहरू पनि हुन्, बाहेक अरू अन्य उमेर समूहकाहरू पनि एक ठाउँमा आउने एउटा वातावरण निकाल्न जागरण अभियान घोषणा गरेका हौँ । झलनाथजी भनेको एमालेको पृष्ठभूमिबाट आउनुभएको, म माओवादी पृष्ठभूमिबाट आएको हो । अहिले पुराना पार्टीहरूबाट निस्किने प्रक्रिया पनि सुरु भएको छ । अन्य पार्टीहरूबाट आएकाहरूलाई हामी जोड्दै गइरहेका छौँ । अरू पनि त्यसमा जोडिँदै जानुभएको छ । यो अभियानमा पार्टी छोड्नै पर्छ भन्ने पनि होइन ।
पार्टी छोड्नै पर्छ भन्ने पनि छैन भन्नुको अर्थ नेतृत्वलाई असफल बनाउने मोर्चाबन्दी हो ?
म अहिले नेपाली कम्युनिस्ट पार्टीमा छैन, यसको अर्थ म माओवादी होइन भनेको छैन, तर त्यो कारबाही खारेज हुनुपर्छ भनेर लिखित रूपमा दिएको हो । त्यसमा कुनै छलफल नै गरेनन् । त्यसैले अहिले कम्युनिस्ट आन्दोलनलाई कसरी बचाउने ? मुख्य समस्या कम्युनिस्ट आन्दोलन अहिले साइडमा पुग्यो । प्रमुख शक्ति हुनुपर्ने कि वैकल्पिक शक्ति हुनुपर्नेमा अहिले किनारमा धकेलियो । किनारमा धकेलिएपछि कम्युनिस्ट आन्दोलनको अस्तित्व झन्–झन् सङ्कटमा फस्यो । त्यसैले वामपन्थी शक्तिहरू वैकल्पिक शक्ति बन्न सकेनन् भने देश दुर्घटनामा जाने खतरा छ । यस विषयलाई गम्भीरतापूर्वक लिएर कसरी वामपन्थी शक्तिलाई वैकल्पिक शक्ति कसरी बनाउने भन्नेतिर हामी फोकस भएर लागेका हौँ ।
यो कुरो प्रचण्ड र ओलीजीले बुझ्नुभएको छैन । उहाँहरू अब वर्तमान सरकार असफल भएपछि हाम्रो हातमा आइहाल्छ भनेर त्यही पुरानै ढंगले सोच्नुभएको छ । त्यो स्थिति होइन, त्यो मनोगत हो । त्यही मनोगतको कारणले यो परिस्थिति पैदा भयो । जेनजी आन्दोलन विस्फोट किन भयो त ? नेताहरूको मनोगत सोचाइका परिणाम हुन् । कांग्रेस, एमाले, माओवादी तीन वटा भएपछि जता–जता भए पनि, जे–जे गरे पनि हुन्छ भन्ने सोचाइले दुर्घटना भएको हो । वामपन्थी शक्तिलाई वैकल्पिक शक्तिको रूपमा विकास गर्ने, प्रमुख शक्तिको रूपमा स्थापित गर्नका लागि हाम्रो अभियान हो ।
तपाईंहरूलाई किन पत्याउने जनताले ?
यो भर्खर सुरुवात हो, मलाई लाग्छ बिस्तारै यसले गति लिँदैछ । यसले धेरै आकर्षण जगाउँदैछ, तर अहिले झलनाथजीको नेतृत्वमा प्रश्न उठ्नु स्वाभाविकै होला । किनभने उहाँको छवि पनि अलि त्यस्तो जुझारु भएको छैन । यद्यपि उहाँले पार्टीभित्र जबज लगायत विषयमा नेतृत्वमाथि प्रश्न उठाउँदै आउनुभएको छ । एउटा पार्टी छोड्ने, नयाँ पार्टी बनाउने ठुलो जोखिम उठाउनुभएको छ, आँट गर्नुभएको छ । त्यसरी पनि हेर्नुपर्यो भन्ने कुरा हो । समाजवादी आन्दोलन एकैपटक चमत्कार हुने कुरो होइन, बिस्तारै हुने कुरा हो । पुराना, नयाँ सबैलाई कसरी समेट्ने भनेर हामी प्रयासरत छौँ, कोसिस गर्दैछौँ । हामी कति सफल हुन्छौँ भनेर हेर्न बाँकी नै छ ।
खासगरी नेपाली कम्युनिस्ट आन्दोलन २०१९ सालको तेस्रो महाधिवेशनपछि टुटफुट र विभाजन भए । २०३१ सालमा भएको चौथो महाधिवेशनपछि दुई वटा धार सफल भएको देखिन्छ । एउटा माले हुँदै वर्तमान एमाले, जसको नेतृत्व अहिले ओलीले गरेका छन् । अर्को नेकपा (चौम), मसाल, माओवादी हुँदै हाल नेपाली कम्युनिस्ट पार्टी, जसको नेतृत्व प्रचण्डले गरेका छन् । यी दुई घटक बाहेक कुनै पनि सफल भएको देखिँदैन । अब तपाईंहरूले उल्का क्रान्ति गर्नुहुन्छ भन्ने आधार के छन् ?
समाजवादी जागरण अभियान पार्टी होइन । यो विचार समूह हो । पार्टी र विचारलाई फरक ढंगले हेर्नुपर्यो । हिजो उहाँहरू (बाबुराम, मोहन वैद्य, विप्लव लगायत) विभिन्न कारणले पार्टी खोल्दै हिँड्नुभयो । आफूले कमाएको सम्पत्ति जम्मै अर्कालाई जिम्मा लगाइदिएर रित्तो भएर हिँड्नुभयो । म सशक्त उम्मेदवार हुँदाहुँदै चुनावको बेलामै मलाई कारबाही गरियो । विचार राजनीतिको मुख्य कुरो हो । असन्तुष्ट पक्षसँग मिलेर हामीले यो कदम उठाएको छैन भनेर स्पष्ट हुनुपर्छ । सबै वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउन राजनीतिक वैचारिक बहस थालेका हौँ । हिजो किरण, बाबुराम लगायत जो–जो क्रान्ति गर्न भनेर हिडे उहाँहरूको आन्दोलन कमजोर देखियो । जनताको आश जागिरहेको छैन । पार्टी छँदैछन्, फेरि अर्को नयाँ पार्टी किन आवश्यक पर्यो भन्ने प्रश्न छ । हामीले सुरु गरेको विचार र राजनीतिक बहसले सकारात्मक सङ्केत नै दिएको मैले बुझेको छु । यद्यपि ओली र प्रचण्डको लागि मन पर्ने कुरो भएन । मुख्यतः हामीले थालेको अभियान सम्बन्धमा झलनाथजीले सार्वजनिक गरेको अवधारणापत्रमा स्पष्ट रूपमा लेखिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले स्थानीय तहको निर्वाचनपछि महाधिवेशन गर्ने घोषणा गरेको छ । त्यस महाधिवेशनले पार्टीभित्रको अन्तर्विरोध पार लगाउन सक्ला ?
त्यो पार्टी बन्छ भन्ने छाँट छैन । पार्टीमा विधि, पद्धति हुन्छ, विचार हुन्छ, नीति हुन्छ, योजना हुन्छ । नेपाली कम्युनिस्ट पार्टीमा विधि, पद्धति केही छैन । विचार पनि छैन । कार्यशैली, आचरण पनि छैन । अर्कोतिर एमाले र नेकपा नै किनारमा धकेलिएका छन्, तर त्यहाँभित्र धेरै क्रान्तिकारी, इमानदार मान्छे पनि छन् । ती सबैलाई एक ठाउँमा ल्याउने उपायको खोजी गर्नु मुख्य काम हो ।
ओली र प्रचण्डजी फेरि मिल्न खोज्नुभएको छ । मिलेपछि चुनाव जितिहालिन्छ भन्नुहुन्छ । दुई वटा पार्टी मिल्ने, चुनाव लड्ने, हरेक निर्वाचनमा एमालेको कति आयो, नेपाली कम्युनिस्ट पार्टीको कति आयो, दुई वटा जोड्दा कति हुन्छ भनेर हिसाब गर्नुहुन्छ । त्यस्तो हुँदैन । उहाँहरू मिलेको सात महिनामा पनि गठबन्धन भत्काउनुभयो । फेरि अस्थिरताको कारण उहाँहरू नै बन्नुभयो । किनभने एमाले र कांग्रेस मिलेर पनि अस्थिरता अन्त्य हुन सकेन नि । यो कुरा उहाँहरू (ओली–प्रचण्ड)ले बुझ्नुभएको छैन । अस्ति चुनावमा पनि ओलीजीले एक्लै चुनाव लडेर बहुमत ल्याउँछु भन्नुहुन्थ्यो । प्रचण्डले पनि हाम्रो पार्टी सबैभन्दा ठुलो पार्टी बन्ने दाबी गर्नुहुन्थ्यो । उहाँहरू वस्तुवादी भइदिएको भए यो अवस्था आउने थिएन ।
तपाईंहरूकै नेतृत्वमा अर्को समाजवादी क्रान्ति हुन्छ, त्यसले नयाँ जागरण ल्याउँछ भन्ने निष्कर्ष हो ?
नेतृत्वमा प्रचण्ड र ओलीजी पूरै असफल हुनुभनेको कम्युनिस्ट आन्दोलन नै असफल हुने होइन । उहाँहरूको कार्यदिशा, उहाँहरूको सोचाइ असफल भएको हो । असफल भएर त्यही पार्टीभित्र पनि अर्को पार्टी बन्छ । कांग्रेस पनि असफलतातिर गइराखेको थियो, विद्रोह भयो र अहिले नयाँ नेतृत्व आयो । एमाले र नेपाली कम्युनिस्ट पार्टीभित्र पनि ढिलोचाँडो विद्रोह हुन्छ । त्यहाँ उकुसमुकुस छ । अन्तर्विरोध चर्को छ । त्यहाँ कसैलाई चित्त बुझिराखेको छैन, तर बाध्यताले मान्छे बसिराखेको छ ।
नेतृत्व परिवर्तनका आवाज त्यहाँ चर्को उठिराखेको छ । मेरो विचारमा भोलिका दिनमा जनमत राम्रो बन्दै जान्छ । एउटा वातावरण बन्दै जान्छ । त्यो बेला फेरि नेतृत्व परिवर्तन हुने सम्भावना भयो भने नयाँ सिराबाट कम्युनिस्ट आन्दोलन फेरि एकताबद्ध हुन्छ । मुख्य कुरा ध्रुवीकरण गर्ने हो । यही एमाले, नेपाली कम्युनिस्ट पार्टी छुट्टै रहिरहने अनि अरु अर्को पार्टी बनाएर हिँड्ने कुरा होइन । एउटै क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउनेतिर हाम्रो पहल हुन्छ । त्यो ढंगले छलफल भइराखेका छन् । रातोपाटी
