काठमाण्डौः पछिल्लो समय निकै चर्चामा रहेका अभियन्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) शनिवार चितवनमा सांघातिक आक्रमणमा परेका छन् । नेपालका लागी नेपाली अभियानका अभियान्ताका रूपमा परिचित शाही केही समय यता सरकारको खरो आलोचकका रूपमा प्रस्तुत हुदै आएका थिए ।
नागरिक आयोग मार्फत पन्चायतकालदेखि उच्च ओहदामा रहेका व्यक्तिहरुको सम्पत्तिको स्वतन्त्र छानबिन गरि स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण एवम् दोषी उपर दण्ड सजाय हुनुपर्ने माग गर्दै देशब्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका अभियान्तामाथी चितवनमा एक्कासि कुटिएका हुन् ।
यसअघि पनि विभिन्न पटक प्रहरीको धरपक्कड तथा सत्तारूढ दलकै कार्यकर्ता एवं अज्ञात समुहका नाममा कुटपिटमा परि नै रहने पात्र हुन् । विभिन्न सामाजिक सञ्जालमा विवाद र चर्चामा समाचारको पात्र बनेर छाइरहने शाही किन आक्रमणमा परिरहन्छन् । खोजीको बिषय बन्दै गइरहेको छ ।
हुनत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक साता अघि मात्र लोकतान्त्रिक गणतन्त्रविरूद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्ति प्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गरेका थिए ।अध्यक्ष प्रचण्डको निर्देशन लगत्तै युवा संगठनले कास्की, रूपन्देही, धनुषा, दाङ्ग लगायतका जिल्लामा अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रतिबन्ध लगाइसकेको थियो । गत भदौ २८ गते पर्यटनमन्त्री योगेश भट्टराईले गर्दा नेपालगञ्जबाट काठमाडौं आउन लागेको जहाजको उडानमा ढिला भएको कारण देखाउदैँ शाहीको समूहले मन्त्री भट्टराईलाई ‘दुर्व्यवहार’ गरेको थियो ।
त्यसको भोलिपल्ट नै ललितपुरको कुपण्डोलमा पत्रकार सम्मेलन गर्ने क्रममा केही युट्युवरहरु बीच सामान्य झडपको अवस्था सृजना भएपछि प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरको नियन्त्रणमा २४ घन्टा रहेका शाहीलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा भदौ ३० गते छाडेको थियो ।
शनिवार दिउँसो शाहीमाथि चितवनको चौविसकोठीमा रहेको एक होटेलबाट निस्केर सार्वजनिक सवारीमा भ्रष्टाचार विरोधी एक कार्यक्रम स्थलतिर जानै लाग्दा उनीमाथि आक्रमण भएको थियो । आक्रमणबाट घाइते शाहीको चितवन मेडिकल अस्पतालमा उपचार सम्भब नभएपछी काठमाण्डौ रिफर गरिएको थियो । त्यसपछि उनलाई यति एयरको विमानबाट साँझ सवा ६ बजे काठमाडौं ल्याइ ट्रमा सेन्टरमा राखी उपचार भइरहेको छ । यद्दपी शाहीको टाउको र हातमा गम्भिर चोट लागेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
माैलिक अधिकार र मानवअधिकार
नेपाली नागरिक भएकै कारणबाट प्राप्त गर्ने विभिन्न अधिकारलाई मौलिक अधिकारको रूपमा परिभाषित गरी नेपालको संविधानमा स्पष्ट रूपमा किटान गरिएको छ । यस्ता मौलिक अधिकार मानव अधिकारको सिद्धान्तसँग प्रत्यक्षरूपमा जोडिएका हुन्छन् । तर यहाँ हरेक मानिसले राज्यको नागरिक भएर प्राप्त गर्ने मौलिक मानव अधिकारका सम्बन्धमा मानव अधिकारको विश्वव्यापी घोषणापत्रले पनि परिभाषित गरेको छ ।
लोकतन्त्रमा समानता र समताको निकै व्याख्या हुनेगर्छ । लोकतन्त्रमा समतामूलक समाज र राज्य हुनु भनेको त्यस राज्यले पूर्णरूपमा मानव अधिकारको पालना गरेको छ भन्ने बुझिन्छ । तर यहाँ जो कोही माथी सांघातिक हमला हुँदा राज्य प्रसासनले के गर्छ भन्ने कुरा ठुलो हने गर्छ । नागरिक तथा राजनीतिक अधिकारहरू मध्य शान्तिपूर्वक भेला हुन पाउने अधिकार लगायतका अधिकारलाई कुनै पनि प्रजातान्त्रिक देशले विनाशर्त नागरिकलाई प्रत्याभूत गर्छन् तर याहाँ कुन अधिकार कति उपभोग गर्न पाइन्छ ब्यबहारमा देख्न मुस्किल हुन्छ ।
मौलिक हक मानव अधिकारकै विषयहरू हुन् । सरकारको स्वेच्छाचारिता नियन्त्रण गर्दै जनताको स्वतन्त्रतालाई अझ बढी संस्थागत गर्न मौलिक हकको व्यवस्था गरिने भएकाले राज्यले नागरिकका सम्पूर्ण अधिकारको सम्मान गर्दै उदाहरणीय प्रजातान्त्रिक राज्यको रूपमा स्थापित हुनु आजको आवश्यकता हो ।