सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

२०८३ मंग्सिर ४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ४ मङ्सिरः प्रधानमन्त्री वालेन्द्र शाहको आगामी आइतबारदेखि हुने दुई दिवसीय भारतको राजकीय भ्रमणका क्रममा द्विपक्षीय व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रले प्राथमिकता पाउने भएको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका बारेमा जानकारी दिने उद्देश्यले आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त मन्त्रालयका सचिव अमृतबहादुर राईले आपसी सहयोग र सहकार्यसहित विकास निर्माण एवं आर्थिक गतिविधिका विषयलाई प्राथमिकता दिइने बताउनुभयो ।

परराष्ट्र सचिव राईका अनुसार औपचारिक भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता सहकार्यका विविध क्षेत्रसँग सम्बन्धित समझदारीपत्रहरू (एमओयु) समेत आदानप्रदान गरिने सचिव राईले जानकारी दिनुभयो । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने विश्वास गरिएको छ ।

नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल–भारत ‘बिजनेस फोरम’को पनि आयोजना गरिनेछ । उक्त फोरममा भारतीय व्यवसायीका चासो तथा सरोकार सम्बोधनको प्रयास हुनेछ । साथै उनीहरूलाई नेपालमा लगानीका लागि अनुरोध गरिने छ । यसैगरी, भारतीय लगानी थप  आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिने सो कार्यक्रम नेपाली र भारतीय व्यवसायीबीच सहकार्यको ‘सेतु’ बन्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहको राजकीय भ्रमणप्रति उत्साहित  बनेको नेपालको निजी क्षेत्रको पनि प्रतिनिधित्व हुने भएको छ । आफ्नै खर्चमा निजी क्षेत्रका उद्यमी–व्यवसायी सम्मिलित ५२ सदस्यीय टोली प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी हुने छ ।

“नेपाल–भारतबीच सदिऔँदेखिको मित्रवत् सम्बन्धलाई अझ सुदृढ गर्दै सहकार्य र सहयोगात्मक साझेदारीको भावनाअनुरूप दुवै देशका प्रधानमन्त्रीबीच पारस्परिक हित र चासोका समग्र विषयमा छलफल हुनेछ”, सचिव राईले भन्नुभयो ।

प्रधानमन्त्री शाहले मङ्सिर ७ गते सोमबार भारतका राष्ट्रपति  द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । यसैगरी, सोही दिन प्रधानमन्त्री शाहले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आइतबार प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री शाहले नयाँदिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन्जनकार, राजनीतिक सल्लाहकारसहित  उच्चपदस्थ अधिकारी, व्यवसायी र पत्रकारलगायत ३४ सदस्यीय टोली रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाहको यो भ्रमणलाई मुलुकको राजनीतिक, कूटनीतिक एवं बौद्धिक क्षेत्रले महत्वका साथ हेरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जादै

प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

नेपाल–नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल