काठमाण्डौः विपिन कार्की र मिरुना मगर अभिनित फिल्म ‘ऊनको स्वीटर’ को गीत ‘मखमली’ सार्वजनिक भएको छ। बिहीबार आर्टमान्डुको युट्युब च्यानमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो।
‘मखमली चोलीमाथि छड्के लायौं घलेकी
रुपै सुन्दर मेरी हजुर धपक्कै बलेकी’
मगर समुदायमा प्रचलित कौराहा/चुड्का भर्सनको ‘मखमली’ मा सुजन चापागाईं र सुनिता थेगिमको स्वर रहेको छ। हर्क साउदले लेखेका शब्दमा सुजनले संगीत भरेका हुन्। भिडियोमा विपिन, मिरुनासँगै विल्सन विक्रम राईले कम्मर मर्काएका छन्।
वैशाख २६ लाई प्रदर्शनको मिति घोषणा गरेको फिल्मलाई नविन चौहानले निर्देशन गरेका हुन्। चौहानको लेखनमा बनेको फिल्ममा विपिन, मिरुना, विल्सनसँगै सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमु लगायतको अभिनय रहेको छ।
विशेषत म्युजिकल फिल्म प्रस्तुत गर्दै आएको आर्टमाण्डुले पहिलो पटक फिचर फिल्म ’ऊनको स्वीटर’ को निर्माण गरेको हो। नेपालको पूर्वी पहाड पाँचथरको बहुसाँस्कृतिक परिवेशमा आधारित फिल्मले मानवीय सम्बन्धलाई देखाउनेछ। मानवीय भावनाका जटिलतालाई एकसाथ बुनेर प्रेम र आशाको किरण दर्शकमाझ प्रस्तुत गर्नेछ।
केन्द्र मोसन पिक्चर्स फिल्मको एसोसिएट निर्मातामा रहेकोमा सह–निर्मातामा साहाङ चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने हुन्। कार्यकारी निर्माता सागर बुढाथोकी र मिलन खत्री रहेका छन्।
फिल्ममा सुजन चापागाईंको संगीत निर्देशन, कोबिद बज्रको ब्याकग्राउण्ड म्युजिक छ। हर्क साउद र युवराज काफ्लेले रचना गरेका गीत फिल्ममा समावेश छ।
