काठमाण्डौः नेपालबाट रियल तथा रिंगेट कमाउन वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएका नेपाली कामदारहरूको कारुणिक पीडालाई समेटेर नेपाली चलचित्र ‘रियाल रिंगेट’ निर्माण गरिएको छ । यसै क्रममा यो चलचित्रको टिजर यति बेला सार्वजनिक गरिएको छ ।
आउँदो १६ साउनबाट चलचित्र घरमा रिलिज हुने यस चलचित्रको निर्माण कम्पनी रेबेल फिल्म्सले सार्वजनिक गरेको टिजरमा खाडी मुलुकमा कार्यरत नेपालीहरूको पीडा प्रस्तुत छ ।
यस चलचित्रमा प्रमोद चौलागाईं, निता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरीलगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् ।
नेपाली युवाहरूको सपना, संघर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई नजिकबाट यो टिजरमा प्रस्तुत गरिएको छ । मुलुकलाई रेमिटेन्स भित्राउँदै सम्पन्न बनाउने नेपाली युवा युवतीहरूले कसरी खाडीमा रगत पसिना बगाएका छन् भन्ने यथार्थलाई चलचित्रको टिजरमा समेटिएको छ ।
यो चलचित्रलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् । मलेशिया, युएइ, कतार, साउदी अरबलगायतका मुलुकमा कार्यरत नेपालीहरुको कथा यसमा प्रस्तुत गरिएको निर्देशक पोखरेलले बताएका छन् ।
चलचित्रका निर्माता गगनलाल प्रधान हुन् । जसमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, राजीव समरको कोरियोग्राफी रहेको छ । चलचित्रका गीतहरूमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेले स्वर दिएका छन् ।
