काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रथम महिला सविता पौडेलसँगै गाई पूजा गर्नुभएको छ।
कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका अवसरमा शीतल निवासमा आयोजित पूजामा राष्ट्रपतिले देवी लक्ष्मीको प्रतीकस्वरूप गाईलाई विधिपूर्वक पूजा गरी खानेकुरा अर्पण गर्नुभएको हो।
गाईतिहारका दिन सम्पूर्ण देशभर गाईलाई पवित्र जनावरका रूपमा पूज्ने परम्परा रहिआएको छ। यस दिन गाईलाई टीका, माला लगाइ पूजापाठ गरी दुध, घिउ, दही, भात लगायत खानेकुरा खान दिइन्छ।
राष्ट्रपति निवासमा गरिएको पूजामा परिवारका सदस्य तथा राष्ट्रपति कार्यालयका कर्मचारीहरूको पनि सहभागिता रहेको थियो।


