काठमाडौँ, कात्तिक २९ । भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ शुक्रबारदेखि नेपाल र भारतका चलचित्र घरमा एकसाथ प्रदर्शनमा आएको छ। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको भावनात्मक संघर्ष, आर्थिक अवस्थाको कठोर यथार्थ र सामाजिक परिवेशलाई चित्रण गर्ने उद्देश्यले निर्माण गरिएको यस चलचित्रले दर्शकको चासो आकर्षित गरेको छ।
निर्देशक उदीप राणा थापा द्वारा निर्देशित चलचित्रमा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा प्रस्तुत छिन्। उनको साथमा प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ र सुनील थापा लगायत कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ।
फिल्म म्याग्नेट इन्टरटेनमेन्ट प्रोडक्सन हाउसको निर्माणमा तयार भएको ‘धागो’का निर्माता उमा थापा, उत्तम थापा र निर्देशक उदीप थापामाथि नै रहेको छ। चलचित्र निर्माण टिमले सीमावर्ती नेपाली परिवारको कहालीलाग्दो वास्तविकता र भावनात्मक सम्बन्धलाई संवेदनशील ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको बताएको छ।
