सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

इन्द्रध्वजोत्थान सम्पन्नः इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु (फोटो फिचर)

२०८३ असोज ७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ७ असोज : आज बिहान सात बजेर ४७ मिनेटको साइतमा ‘यसिँ थनेगु’ (इन्द्रध्वजोत्थान) सम्पन्न भएसँगै इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु भएको छ ।

हनुमानढोका कागेश्वरी मन्दिर नजिक कालभैरव अगाडि यसिंँ उठाइएको हो । उठाइएको यसिँमा आठवटा काठका टुक्रा राख्ने चलन छ । त्यस कार्यमा न्हय्स नाय, चस्वाद्वँ टोलका मानन्धर समुदाय अनिवार्य उपस्थित हुने चलन छ । अष्टमातृकाको प्रतीकका रूपमा काठका टुक्रा राख्ने गरिएको हो । त्यसलाई ‘लाकासिँ’ भनिने गरिएको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले बताउनुभयो ।

अध्यक्ष शाक्यका अनुसार यसिँ उठाउँदा गुर्जुको पल्टनले तोप पड्काएको थियो । यस अवसरमा तलेजु भवानीको प्रतीकस्वरुप सेतो घोडा ल्याउने चलन छ । यस्तै दिप्याखं (देवी नाच) प्रस्तुत गरियो । यो नाच इन्द्रजात्रामा निकालिने पहिलो नाच हो ।

यसिँ उठाइसकेपछि यसको माथि इन्द्रअङ्कित चिह्नसहितको ध्वजा फहराइयो । यसलाई ‘हलिंपता’ भनिन्छ । ‘हलिंपता’ फहराइसकेपछि मानन्धरहरुले सबैभन्दा पहिले पूजा गर्ने चलन छ । यसिँको माथि गजुरजस्तै देखिने भोगटे राखिएको हुन्छ । फेदमा इन्द्रको सुवर्ण मूर्ति राखिन्छ । त्यसको श्रद्धालुहरूले पूजा आराधना गर्ने गर्दछन् ।

‘यसिँ थनेगु’ (इन्द्रध्वजोत्थान) अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, वडाध्यक्षसहित जनप्रतिनिधि, स्थानीयवासी र श्रद्धालुको बाक्लो उपस्थिति थियो ।

जात्रामा यसिँ ठड्याउने परम्परा कसले चलाए भन्ने एकिन नभए पनि रणबहादुर शाहका पालाबाट हालको स्थानमा ठड्याउन थालिएको विश्वाश गरिन्छ । त्यसअघि मरुटोलस्थित अड्को नारायण मन्दिरअघि यसरी नै यसिँ ठड्याइन्थ्यो भन्ने भनाइ छ । यसिँलाई उल्लास, विजय र उत्सवका रूपमा हेर्ने गरिन्छ ।

इन्द्रजात्राको मुख्य रथयात्रा यही असोज ९ गते शुक्रबारदेखि सुरु हुनेछ । पहिलो दिन श्रीकुमारी, श्रीगणेश र श्रीभैरवलाई रथारोहण गराएर पूजा सम्पन्न गरेपछि तल्लो टोलतर्फ रथयात्रा गराइनेछ ।

पहिलो दिनको रथयात्रा सम्पन्न भएपछि दाँगीको नगर परिक्रमा गर्ने परम्परा रहेको छ । दाँगीलाई इन्द्र देवताकी आमाका रूपमा मानिने गरिएको छ । वर्षभरिमा दिवङ्गत भएका व्यक्तिको चिरशान्तिको कामना गर्दै दाँगीको नगर परिक्रमा गराउने परम्परा पनि इन्द्रजात्रासँग जोडिएको छ । असोज १० गते शनिबार माथिल्लो टोलमा रथ यात्रा हुनेछ ।

त्यस्तै, असोज १३ गते मङ्गलबार नानीचायाको दिन माथिल्लो टोलको किलाघः हुँदै नगर परिक्रमा गराउने चलन छ । इन्द्रजात्राको अन्तिम दिन हुने नानीचाया रथयात्रामा स्थानीय महिला दिदीबहिनीको सहभागिताले निरन्तरता पाउँदै आएको छ ।

पछिल्लो १४ वर्षदेखि स्थानीय महिलाको नेतृत्वमा श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ तान्ने कार्य हुँदै आएको छ । त्यस दिन राष्ट्रपति उपस्थित भई कुमारीको बाहुलीबाट टीका ग्रहण गर्ने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना