काठमाण्डौं ।नेपाली नागरिकको नाममा दर्ता रहेको पसलबाट चिनियाँ नागरिकले कस्मेटिक तथा घरायसी सामग्रीको व्यापार सञ्चालन गरेको पाइएपछि अर्का एक चिनियाँ नागरिक पक्राउ परेका छन् । विराटनगर–२ स्थित एभरपिक सप्लायर्समा सोमबार गरिएको अनुगमनका क्रममा यस्तो तथ्य भेटिएसँगै उनलाई नियन्त्रणमा लिइएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले गरेको अनुगमनमा पसल राधिका बस्नेत कार्कीको नाममा दर्ता रहेको र व्यापार भने चिनियाँ नागरिक लि जोसिज्याकले सञ्चालन गर्दै आएको पाइएको छ ।
अनुगमन टोलीले पसल सञ्चालकलाई कस्मेटिक तथा घरायसी सामग्रीको सम्पूर्ण खरिद बिल उपलब्ध गराउन निर्देशन दिएको छ । सामानको खरिद स्रोत, कारोबार तथा व्यवसाय सञ्चालनसम्बन्धी कागजातसमेत अध्ययन भइरहेको वाणिज्य कार्यालय विराटनगरका प्रमुख दीपेश कुमार झाले जानकारी दिए ।
व्यापार सञ्चालन गरिरहेका चिनियाँ नागरिक लि जोसिज्याकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आवश्यक अनुसन्धानका लागि अध्यागमन विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
नेपाली नागरिकको नाममा पसल दर्ता गरी विदेशी नागरिकले व्यापार सञ्चालन गरेको विषयमा प्रशासनले थप अनुसन्धान अघि बढाएको छ ।
पसल नेपाली नागरिकको नाममा दर्ता गरी विदेशी नागरिकले व्यापार सञ्चालन गरेको विषयमा प्रशासनले थप अनुसन्धान अघि बढाएको छ । अनुगमनका क्रममा भेटिएका कागजात तथा खरिद बिलको अध्ययनपछि व्यवसाय सञ्चालनको कानूनी अवस्था र कारोबारसम्बन्धी थप विवरण खुल्ने बताइएको छ ।
यसअघि पनि विराटनगरमा नेपाली नागरिकको नाममा व्यापार सञ्चालन गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका थिए ।
सूचना प्रविधि (आईटी) क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने र सफ्टवेयर विकास गर्ने भन्दै व्यावसायिक भिसामा आएका चिनियाँ नागरिक जिङ्सियान सिएलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
विराटनगर महानगरपालिका–७ स्थित सेन्ट्रल मलमा रहेको योनो मार्टका सञ्चालकसमेत रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रशासनले पसलमा सिलबन्दी गरेको थियो ।
योनो मार्ट पनि नेपाली नागरिकको नाममा रहेको पाइएको थियो । प्रहरीले बिना बिल प्यान–भ्याट छली कारोबार गरिरहेको आरोपमा जिङ्सियानलाई पक्राउ गरेको जनाएको छ ।
