सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रहरीकै हतियार खरिद गर्ने योजनामा रहेको लुटेरा समूहका नाइकेसहित तीन जना पक्राउ

२०८३ असोज २२, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । काठमाडौँ उपत्यकामा शृङ्खलाबद्ध रूपमा लुटपाट मच्चाउँदै आएको ‘आयन माझी समूह’ का नाइकेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई हाल काठमाडौँको कलंकी ढुङ्गेअड्डा बस्ने २४ वर्षीय आयन माझीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।

असोज २१ गते जडीबुटी पुलमुनिको सडक खण्डमा पक्राउ गर्ने क्रममा माझीले प्रहरी टोलीमाथि नै धारिलो हतियार प्रहार गरी भाग्न खोजेका थिए। त्यसपछि चेतावनी स्वरूप दुई राउन्ड हवाई फायर र घुँडामुनि एक राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

माझीको बयान र अनुसन्धानका आधारमा लुटपाटमा संलग्न अन्य दुई जनालाई प्रहरीले भक्तपुरको ठिमीबाट नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भई हाल ठिमी बस्ने ३६ वर्षीय मनोज कुमार मोक्तान र बकैया–५ घर भई ठिमी नै बस्ने ३४ वर्षीय राकेश थिङ रहेका छन्। लुटपाट गर्ने समयमा मोक्तानले मोटरसाइकल चलाउने र थिङ पछाडि बस्ने गरेको खुलेको छ। उनीहरू दुवै जना यसअघि गम्भीर उत्तेजना वा आवेगमा कुटपिट गरेको मुद्दामा प्रहरी वृत्त ठिमीबाट पक्राउ परिसकेका व्यक्ति हुन्।

आयन माझीको आपराधिक पृष्ठभूमि निकै लामो रहेको अनुसन्धानबाट देखिएको छ। उनीविरुद्ध काठमाडौँ, भक्तपुर र काभ्रेमा गरी डाँका चोरीका २७ वटा मुद्दा दर्ता छन्। २०७७ सालमा डाँका चोरी मुद्दामा तीन महिना कैद बसेका उनी धरौटीमा छुटेपछि सोही मुद्दामा फरार रहेका थिए।

पछि अदालतले ६ महिना कैद तोकेपछि २०८२ वैशाखमा पुनः पक्राउ परी तीन महिना कैद भुक्तान गरेर उनी छुटेका थिए। त्यसैगरी आठ–नौ महिना अगाडि पनि १० जनाको समूह बनाएर लुटपाट गरेको अभियोगमा उनी पक्राउ परेका थिए। गत भदौ गते भएको जेनजी आन्दोलनका समयमा उपत्यकाका विभिन्न बैंकका एटीएम बुथहरू लुटपाट गर्ने कार्यमा समेत माझी संलग्न रहेको प्रहरीले उल्लेख गरेको छ।

कारागारबाट छुटेपछि उनी पुरानै आपराधिक कार्यमा फर्किएको प्रहरीको भनाइ छ। उनीहरूले मुख्यतया बिहान अँध्यारोको समयमा मर्निङ वाक हिँड्ने र तरकारी किन्न जाने सर्वसाधारणलाई लक्षित गर्ने गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँले आफ्नो विवरणमा स्पष्ट पारेको छ, ‘सर्वसाधारणहरूसँग ठेगाना सोध्ने बहाना बनाई सिक्री लुटपाट गरी भाग्ने क्रममा ३ वटाभन्दा बढी सवारी साधनहरू परिवर्तन गर्ने गरेको पाइयो।’ राति र बिहानको समयमा ‘इनड्राइभ’ तथा ‘पठाओ’ चालकको बहाना बनाएर सुनसान इलाकामा यात्रुलाई लगेर हतियार देखाई लुटपाट गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानका क्रममा माझीले विगतदेखि नै सिक्री लुट्ने, मोटरसाइकल चोर्ने र डलर देखाएर ठगी गर्ने गिरोहसँग सम्पर्क स्थापित गरी आफ्नो समूह खडा गरेको पाइएको छ। यस अनुसन्धानबाट बाहिरिएको सबैभन्दा गम्भीर तथ्य भनेको यो समूह प्रहरीकै हतियार खरिद गर्ने योजनामा थियो।

जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका आधुनिक हतियारहरू समेत खरिद गर्ने तयारीमा गिरोह रहेको कुरा खुल्न आएको छ। लुटपाटकै लागि उनीहरूले काठमाडौंका विभिन्न स्थानबाट १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरेको तथ्य पनि बाहिर आएको छ।

हालै मात्र बालकुमारी पुलमुनिबाट चोरिएको पल्सर २२० मोटरसाइकल उनीहरूले लुटपाटमा प्रयोग गरेका थिए।

यही समूहले असोज १४ गते राति बौद्धमा तरकारी किन्न जाँदै गरेका महेन्द्र कुमार बललाई गेट नम्बर २ नजिकै अपरिचित समूहको नाममा दुई लाख रुपैयाँ नगद र कागजात लुटेको थियो। यसैगरी असोज १३ गते राति डल्लु चौतारामा कारभित्र बसिरहेका रमेश खड्काको घाँटीबाट साढे १० लाख रुपैयाँ बराबरको साढे तीन तोलाको सुनको सिक्री लुटेर यो समूह फरार भएको थियो। अल्फाबेट नखुलेको पल्सर मोटरसाइकलमा आएका तीन जनाले कारभित्रैबाट सिक्री लुटेर डल्लु झोलुङ्गे पुलतर्फ भागेका थिए।

प्रहरीले उनीहरूको साथबाट लुटपाटमा प्रयोग भएका दुई वटा मोटरसाइकल, पाँच वटा नक्कली नम्बर प्लेट, एक थान खुकुरी र वारदातको समयमा लगाएका कपडाहरू बरामद गरेको छ। हाल यस गिरोहमा संलग्न अन्य व्यक्तिहरूको समेत तीव्र रूपमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ