सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपालगञ्ज म्याराथनको १२औँ संस्करणको मिति तय, अनलाइन दर्ता खुला

२०८३ असोज २८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नेपालगञ्ज म्याराथनको १२औँ संस्करण मङ्सिर १२ गते शनिबार आयोजना गरिने भएको छ । आयोजक संस्था क्रिएटिभ ह्यान्ड्सले विज्ञप्तिमार्फत प्रतियोगिताबारे जानकारी दिएको छ । यस पटक म्याराथनमा १२ विधामा दौड समावेश गरिएको छ ।

नेपालगञ्जको बीपी चोकबाट सुरु हुने म्याराथनमा ४२ किलोमिटर पुरुष खुला, २१ किलोमिटर महिला खुला, १० किलोमिटर पुरुष खुला, १० किलोमिटर महिला खुला, पाँच किलोमिटर पुरुष खुला, पाँच किलोमिटर महिला खुला, पाँच किलोमिटर स्कुल स्तरीय छात्र–छात्रा दौड, तीन किलोमिटर कर्पोरेट रन, तीन किलोमिटर किड्स रन, तीन किलोमिटर ह्वीलचेयर रन, दुई किलोमिटर फेमिली रन र तीन किलोमिटर रन फर अल समावेश हुनेछन् ।

४२ किलोमिटरको पुरुष खुला म्याराथनमा महिलाले पनि आफ्नो व्यक्तिगत समयका लागि दौडिन चाहेमा विद्युतीय चिप उपलब्ध गराइनेछ । त्यस्तै, महिलाका लागि निर्धारित २१ किलोमिटर हाफ म्याराथनमा समय सुधारका लागि दौडिन चाहने पुरुष धावकलाई पनि विद्युतीय चिप प्रदान गरिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

४२ किलोमिटरतर्फ विभिन्न उमेर समूहमा समेत वरियता क्रम निकालिने उहाँले बताउनुभयो । ४० देखि ५०, ५० देखि ६० र ६० देखि ७० वर्ष उमेर समूहका धावकलाई पहिलो, दोस्रो र तेस्रो वरियता प्रदान गरी प्रोत्साहन गरिने जनाइएको छ । एबोट वर्ल्ड म्याराथन मेजरसँगको सहकार्यमा उमेर समूहका धावकलाई विश्वव्यापी वरियतामा समावेश गर्ने व्यवस्था यसपटक पनि निरन्तर रहनेछ । साथै, उमेर समूहको विश्व च्याम्पियनसिपमा सहभागिताका लागि सहजीकरण गरिनेछ ।

विभिन्न विधाका शीर्ष धावकलाई मेजर म्याराथन लगायत वर्ल्ड एथलेटिक्सका प्लेटिनम, गोल्ड, इलाईट र लेभल रेसमा सहभागिताको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । अनलाइन दर्ता खुला भइसकेको दर्ता संयोजक गगन थापाले जानकारी दिनुभयो । दर्ताका लागि नेपालगञ्ज म्याराथनको वेबसाइटमा जानुपर्ने उहाँले बताउनुभयो ।

नेपालगञ्ज म्याराथनले गत जुनमा नर्वेको ट्रम्सोमा विश्वभरका रेसमध्ये एम्स सोसल अवार्ड प्राप्त गरेको थियो । नेपालगञ्ज म्याराथन सन २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको छ । कोभिड कालमा समेत नेपाल सरकारको प्रोटोकल पालना गर्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनोट गर्ने काम यसले गरेको थियो ।

बहुजाति, धर्म र सम्प्रदायका मानिसको बसोबास रहेको नेपालगन्जलाई शान्ति, सद्भाव र एकताको सूत्रमा बाँध्ने प्रभावकारी माध्यमका रूपमा म्याराथनलाई अघि बढाइएको हो । अहिले नेपालगञ्ज म्याराथनसँग करिब एक दर्जन भगिनी इभेन्ट सञ्चालनमा छन् ।

स्कुले बालबालिकालाई जलवायु परिवर्तनले निम्त्याएका समस्याबारे सचेत गराउने र अनुकूलनका लागि प्रेरित गर्ने उद्देश्यले गौघाट ग्रीन रन र राप्तीसोनारी नेचर रन दुई वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएका छन् । रात्रिकालीन समयमा समेत सुरक्षित अनुभूति दिलाउने उद्देश्यले नेपालगञ्ज १० के नाइट रनका दुई संस्करण आयोजना भइसकेका छन् ।

विश्वसामु नेपाली सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले गत वर्षदेखि काठमाडौँ २५ किमी हेरिटेज रेस सुरु गरिएको छ । कर्णाली प्रदेशमा पनि कर्णाली हाफ म्याराथन सुरु गरिएको छ । लोकतन्त्रमा संवाद र बहस अपरिहार्य रहेको महसुस गर्दै नेपालगञ्ज डिस्कोर्सको शृङ्खला अन्तर्गत नेपालगञ्ज कन्क्लेभका छ संस्करण सञ्चालन भइसकेका छन् ।

गत वर्ष एम्सको बोर्ड बैठकसहित नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गरिएको थियो । त्यसमा १८ देशका प्रतिनिधि सहभागी थिए । यस वर्षदेखि ‘वन ग्लोबल माइल’ अन्तर्गत नेपालमा कोहलपुर माइल पनि सुरु गरिँदै छ । यसका साथै नेपाल रनिङ म्यागेजिन समेत निरन्तर प्रकाशित हुँदै आएको छ ।

नेपालगञ्ज म्याराथनले विभिन्न अवधारणामा निरन्तर काम गरिरहेको विषयको मूल्याङ्कनका आधारमा प्रतिष्ठित अवार्ड प्रदान गरिएको आफूलाई लागेको संस्थापक टीएस ठकुरीले बताउनुभयो । ‘हामी दौडलाई सामाजिकीकरण गर्न र संस्कृति बनाउन चाहन्छौँ,’ उहाँले भन्नुभयो, ‘यो अन्तर्राष्ट्रिय अवार्डले हामीलाई ऊर्जा दिनेछ । नेपाललाई विश्वभर चिनाउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान