काठमाडौं । अवैध रूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका १० विदेशी नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोबाट प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गण बाघभैरवबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका सबै बंगलादेशी नागरिक रहेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ४५ वर्षीय मोहमद मुक्तर होसेन, ३९ वर्षीय अब्बास अली, ४६ वर्षीय रफिक आलम, ४० वर्षीय मोहम्मद अरिफ सोसन, ३० वर्षीय अजिजुल, २९ वर्षीय अब्दुल, ३७ वर्षीय मोहम्मद आलम करिम, ३६ वर्षीय मेहेताब मण्डल, २० वर्षीय रातुल इस्लाम र ३० वर्षीय बसर खान रहेका छन्।
पक्राउ परेका १० जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
