सर्लाही, असोज २९ गते । जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ गते केन्द्रीय कारागार जग्गनाथदेवल, सुन्धाराबाट फरार भएका बाबु थापालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार रात महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिकास्थित मिलनचोकमा रहेको आफ्नै घरबाट थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र नाथ पौडेलले जानकारी दिनुभयो । फरार भएता भारत तथा नेपालका विभिन्न ठाउँमा लुकेर बसेका थापा घरमा आएको सूचना प्राप्त भएपछि बुधबार राति जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय हरिवन, इलाका प्रहरी कार्यालय कर्मैयाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
एसपी पौडेलका अनुसार थापाको साथबाट दुई थान पेस्तोल र १५ राउण्ड गोली बरामद भएको छ । अब थापाविरुद्ध हात हतियार खरखजाना कसुरमा सर्लाही जिल्ला अदालतमा मुद्धा प्रक्रिया अगाडि बढाइने एसपी पौडेलले जानकारी दिनुभयो ।
चुरे भावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा दोषि ठहर भई जन्मकैद भुक्तानका लागि कारागारमा रहेका थिए । न्यायाधिश बमको हत्या २०६९ जेठ १८ गते भएको थियो । थापालाई २०७१ मा पक्राउ गरेर प्रहरीले अदालतमा पेश गरेको थियो ।
