सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

२०८३ कार्तिक २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २३ कात्तिक: नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी) ले आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ हजारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत विवरण सङ्कलन गरेको छ ।

सन् २०१८ मा सुरु भएको परियोजनाले विभिन्न जात्रा, पर्व र अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी वृत्तचित्र तथा अभिलेख पनि तयार पारेको हो । सङ्कलित विवरण पुरातत्व विभागको राष्ट्रिय सम्पदा सूची र परियोजनाको ‘डिजिटल डेटाबेस’मा समावेश गरिएको छ ।

परियोजना जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गतको हाइडेलबर्ग सेन्टर फर ट्रान्सकल्चरल स्टडिज र हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एण्ड ह्युम्यानिटिज तथा नेपालका सराफ फाउन्डेसन फर हिमालयन ट्रेडिसन्स एन्ड कल्चर र पुरातत्व विभागको सहकार्यमा सञ्चालन भएको हो । परियोजनाका लागि बेलायतको आर्केडिया फण्डले मुख्य आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

यसमा हाइडेलबर्ग विश्वविद्यालय पुस्तकालय, काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी), युनेस्को नेपाल, काठमाडौँ विश्वविद्यालयको सेन्टर फर आर्ट एन्ड डिजाइन तथा हाइडेलबर्ग विश्वविद्यालयको साउथ एसिया इन्स्टिच्युटको काठमाडौँ कार्यालयले पनि सहकार्य गरेका थिए । प्रारम्भिक चरणमा जर्मनीको आइथ्री माइन्जसमेत संलग्न थियो ।

परियोजना सम्पन्न भएसँगै डिजिटल डेटाबेसको सञ्चालन, रेखदेख र व्यवस्थापन नेपाल आर्किटेक्चर आर्काइभमार्फत सराफ फाउन्डेसनले गर्नेछ । परियोजना प्रमुख प्राडा क्रिष्टियाने ब्रोसियसका अनुसार यो डिजिटल भण्डारले अनुसन्धानकर्ता, विद्यार्थी र सम्पदाप्रेमीलाई अध्ययन तथा संरक्षणका लागि आधार उपलब्ध गराउनेछ । परियोजनाको समापनलाई सम्पदा संरक्षणको नयाँ यात्राको सुरुआतका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो ।

सराफ फाउन्डेसनका अध्यक्ष अरुण सराफले सङ्कलित ज्ञान र तथ्याङ्क नेपालमै सुरक्षित राख्न तथा सहज पहुँच सुनिश्चित गर्न फाउन्डेसन प्रतिबद्ध रहेको बताउनुभयो । डेटाबेसको व्यवस्थापनलाई निरन्तरता दिँदै अध्ययनकर्ता र सम्पदा क्षेत्रमा कार्यरत विज्ञलाई जानकारी उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

परियोजनाअन्तर्गत नुवाकोटका ऐतिहासिक भवन र सांस्कृतिक सम्पदाको पनि विस्तृत अभिलेख तयार पारिएको ब्रोसियसले जानकारी दिनुभयो । बाढीबाट क्षति पुगेका वा बगेका संरचनाको पुरानै स्वरूपमा पुनर्निर्माण र संरक्षण गर्न ती अभिलेख उपयोगी हुने उहाँको भनाइ थियो ।

जोसेफ पिटर रिन्डफ्लेइस सङ्ग्रहका ८०० भन्दा बढी ऐतिहासिक नेपाली हस्तलिखित ग्रन्थ तथा कागजात पनि राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको छ । जर्मनीबाट नेपाल फिर्ता ल्याइएका सामग्रीमा १३औँदेखि २०औँ शताब्दीसम्मका ताडपत्र, लालमोहर, अदालती स्रेस्ता, संस्कृत ग्रन्थ, यात्रा संस्मरणलगायत छन् ।

सङ्ग्रहकर्ता स्वर्गीय रिन्डफ्लेइसको इच्छाअनुसार सन् २०१८ मा यी सामग्री हाइडेलबर्ग विश्वविद्यालयका प्राडा एक्सेल माइकेल्सलाई सुम्पिइएको थियो । जर्मनीमा संरक्षण, डिजिटलाइजेसन र सूचीकरणको काम पूरा भएपछि ती सामग्री नेपाल ल्याएर राष्ट्रिय अभिलेखालयलाई बुझाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

ध्वनि प्रदूषण फैलाउने एक हजारभन्दा बढी मोटरसाइकल कारबाहीमा

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति