सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

टमाटरखेतीमा अब्बल बन्दै टोड्केका किसान

२०८३ मंग्सिर १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इलाम, १ मङ्सिरः इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ । गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन् । यहाँबाट वार्षिक रु एक करोड २० लाखभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ ।

स्थानीय किसान प्रदीप राईले १० वर्षदेखि व्यावसायिक रूपमा टमाटरखेती गर्दै आउनुभएको छ । निरन्तरको मेहनत र अनुभवले उहाँलाई यस क्षेत्रको अगुवा टमाटर किसानका रूपमा स्थापित गरेको छ । गत वर्ष चार हजार ५०० बोट टमाटर लगाउनुभएका उहाँले बिक्रीबाट रु तीन लाख ५० हजार आम्दानी गर्नुभएको थियो । उत्पादनको सुरुआतमा प्रतिकेजी रु ५० र सिजनको अन्त्यतिर रु ९० सम्ममा टमाटर बिक्री गर्नुभएको थियो ।

यस वर्ष उहाँले खेती विस्तार गरी १५ रोपनी जमिनमा सात हजार ५०० बोट टमाटर लगाउनुभएको छ । अहिले अगुवा बोटमा उत्पादन सुरु भइसकेको छ । यस वर्ष करिब १० हजार केजी टमाटर उत्पादन हुने उहाँको अनुमान छ । हाल प्रतिकेजी रु ५० का दरले टमाटर बिक्री भइरहेको छ । गत वर्षकै हाराहारीमा मूल्य कायम रहे रु सात लाखभन्दा बढी आम्दानी हुने उहाँले अपेक्षा गर्नुभएको छ ।

टमाटरखेतीबाटै घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउँदै आउनुभएकी अर्की किसान मनिषा राईले गत वर्ष रु चार लाख आम्दानी गर्नुभएको थियो । उहाँले यस वर्ष पनि तीन हजार बोट टमाटर लगाउनुभएको छ । पूर्वकार्यपालिका सदस्यसमेत रहनुभएकी राईका अनुसार टोड्केका अधिकांश किसानको घरव्यवहार टमाटरखेतीबाट प्राप्त आम्दानीमा निर्भर हुने गरेको छ ।

त्यस्तै, किसान विनोद राईले यस वर्ष पाँच हजार बोट टमाटर लगाउनुभएको छ । यसअघि दुईदेखि तीन हजार बोटसम्म खेती गर्दै आउनुभएका उहाँले टमाटरबाट राम्रो आम्दानी हुन थालेपछि खेती विस्तार गर्नुभएको हो । बजार मूल्य राम्रो पाए आम्दानी पनि बढ्ने उहाँको अपेक्षा छ ।

टोड्के टोलका ८० घरपरिवार नै व्यावसायिक टमाटरखेतीमा संलग्न रहेको वडाध्यक्ष प्रदीप साङपाङले बताउनुभयो । उहाँका अनुसार यहाँबाट वार्षिक रु एक करोड २० लाखभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ । टोड्केलाई टमाटरको पकेट क्षेत्रका रूपमा विकास गर्ने सोच रहेको उहाँले बताउनुभयो ।

टमाटरखेतीबाट अन्य अन्नबालीको तुलनामा राम्रो आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । टमाटरको खेती वर्षमा करिब छ महिना मात्र हुने भएकाले बाँकी समयमा मकैखेती गर्ने गरिएको स्थानीय किसान बताउँछन् । यसरी फरकफरक बाली लगाउँदा बाली चक्र कायम रहने र जमिनको गुणस्तर जोगाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ ।

टोड्केमा टमाटरको मुख्य उत्पादन असोजदेखि पुससम्म हुने गर्दछ । रोपेको करिब ७० दिनमा फल दिन थाल्ने टमाटरको एउटा बोटबाट छ केजीसम्म उत्पादन हुने किसानको अनुभव छ ।

यहाँ उत्पादित टमाटर स्थानीय चिसोपानी पञ्चमी बजारका साथै व्यापारीमार्फत झापाको दमकसम्म बिक्रीका लागि पुग्ने गरेको छ । निर्माणाधीन बिपी मार्गको स्तरोन्नतिसँगै यातायात सुविधा सहज भएकाले बजारसम्म उत्पादन पु¥याउन सजिलो भएको स्थानीय किसान मनुकुमार राईले बताउनुभयो । व्यापारीले बगानबाटै टमाटर खरिद गरेर लैजाने गरेकाले उत्पादन बिक्री नहुने चिन्ता नरहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

ध्वनि प्रदूषण फैलाउने एक हजारभन्दा बढी मोटरसाइकल कारबाहीमा

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति