सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पूर्वी तराईमा लोकप्रिय बन्दै भक्का

२०८३ मंग्सिर १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मोरङ, १ मङ्सिरः जाडोयाम सुरु भएसँगै मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बिहानैदेखि तातो भक्काको बाफ र बास्ना फैलिन थाल्छ । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको गेटछेउमा विगत २२ वर्षदेखि भक्का बनाएर बिक्री गर्दै आउनुभएकी डाँगीहाट निवासी माल्दा राजवंशीको दैनिकी यतिबेला व्यस्त छ ।

राजवंशी प्रत्येक वर्ष जाडोयाममा दैनिक लक्ष्मीमार्ग आएर भक्का बिक्री गर्नुहुन्छ । बाइस वर्षअघि प्रतिगोटा रु एकमा बिक्री गर्न सुरु गरेको भक्काको मूल्य अहिले बढेर रु १० पुगेको उहाँले बताउनुभयो । चामल, दाउरा तथा अन्य सामग्रीको मूल्य बढेकाले भक्काको मूल्य पनि बढाउनुपरेको उहाँको भनाइ छ ।

उहाँका अनुसार दैनिक करिब पाँच केजी चामलबाट तयार गरिएको भक्का बिक्री हुने गरेको छ । एक केजी चामलको पिठोबाट करिब २० वटा भक्का तयार हुन्छन् । जाडोयाममा बिहानको खाजाका रूपमा तातो भक्का रुचाउने ग्राहक धेरै हुने भएकाले दैनिक उत्पादन सहजै बिक्री हुने उहाँले बताउनुभयो ।

राजवंशी समुदायको मौलिक परिकारका रूपमा चिनिने भक्का पछिल्लो समय पूर्वी तराईका चोक तथा बजारमा लोकप्रिय खाजा बनेको छ । चामलको पिठोलाई बाफमा पकाएर तयार गरिने यो परिकार स्थानीय तथा यात्रुको रोजाइमा पर्ने गरेको छ ।

नेपालको पूर्वी तराई तथा भित्री मधेसमा बसोबास गर्ने राजवंशी, थारू र मेचेलगायत आदिवासी समुदायको मौलिक परिकार भक्का अहिले सबै जातजाति र वर्गका मानिसको साझा खाजा बनेको छ । पहिले घरमा मात्र बनाइने यो परिकार पछिल्लो समय व्यावसायिक रूपमा विस्तार हुँदै सडकका ठेलादेखि साना होटलसम्म बिक्री हुन थालेको छ ।

विशेषगरी झापा, मोरङ र सुनसरीका चोक तथा बजारमा जाडोयाम लक्षित भक्का व्यवसाय सञ्चालन गर्ने परिवारको सङ्ख्या बढेको छ । चामल भिजाएर सुकाएपछि ओखल वा मिलमा पिँधेर तयार पारिएको मोटो पिठोलाई माटोको सानो हाँडीमा राखी बाफमा पकाएर भक्का बनाइन्छ । कपडाले छोपेर केही मिनेट बाफमा पकाएपछि तयार हुने भक्का नरम र सेतो हुन्छ ।

लक्ष्मीमार्गका स्थानीय स्वास्थ्यकर्मी नवराज ढकालका अनुसार भक्कालाई तातोपानी, घिउ, खुर्सानीको अचार तथा नरिवल वा तिलको धुलोसँग खाँदा स्वादिलो हुन्छ ।

बेलबारी नगरपालिकाका जनप्रतिनिधिसमेत रहनुभएका नवराज बस्नेतका अनुसार जाडो बढेसँगै भक्का बिक्रीबाट दैनिक हजारौँ रुपैयाँसम्म आम्दानी हुने गरेको छ । यसले न्यून आय भएका परिवारलाई हिउँदमा आर्थिक सहारा दिएको छ । विशेषगरी महिलाहरू यस व्यवसायमा आकर्षित भएका छन् । घरायसी कामसँगै केही घण्टा भक्का बनाएर बिक्री गर्दा आम्दानी हुन थालेपछि स्थानीय गृहिणीहरूको यस पेसाप्रति आकर्षण बढेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

ध्वनि प्रदूषण फैलाउने एक हजारभन्दा बढी मोटरसाइकल कारबाहीमा

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति