काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिइएको छ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई तोकिएको जानकारीसहितको पत्र कार्यालयमा पुगेको छ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै छन्। उनीसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा सहभागी हुँदै छन्।
मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा रहेका अर्थमन्त्री वाग्ले र तेस्रो वरीयतामा रहेका परराष्ट्रमन्त्री खनालसमेत भ्रमणमा जाने भएपछि चौथो वरीयतामा रहेका ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो राजकीय विदेश भ्रमण हो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यस्तै, सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय तथा एक्लाएक्लै भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।
भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।
