काठमाण्डौं । नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’मा सहभागी हुन भारतीय सैनिक टोली सोमबार नेपाल आएको छ ।
विक्रम संवत् २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा यो सैन्य अभ्यास सञ्चालन हुँदै आएको छ ।
संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’को बिसौँ संस्करणमा सहभागी हुन भारतीय सेनाको टोली रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा आइपुगेको नेपाली सेनाले जनाएको छ ।
सो सैन्य अभ्यास यही मंसिर ९–२२ गतेसम्म सञ्चालन हुने बताइएको छ । उक्त अभ्यासमा भारतीय सेनाको १२ कुमाउ रेजिमेन्ट र नेपाली सेनाका तर्फबाट ज्वालादल गण सहभागी हुने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जानकारी दिएको छ ।
