काठमाडौँ, ७ मङ्सिरः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अर्थसम्बन्धी असान्दर्भिक कानुनको खारेजी तथा संशोधनसम्बन्धी कार्य अघि बढाइएको बताउनुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदले राख्नुभएको जिज्ञासाको जवाफमा उहाँले नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने कानुनहरुलाई खारेज तथा संशोधन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
मन्त्री गौतमले व्यवसायको लागत बढाउने, कार्यान्वयनमा गलत प्रयोग हुन सक्ने तथा अनावश्यक नियन्त्रणमुखी र वर्तमान सन्दर्भमा असान्दर्भिक देखिएका कानुनको खारेजी तथा संशोधन अघि बढाइएको स्पष्ट पार्नुभयो ।
“उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदन, आर्थिक सुधारको मार्गचित्र, २०८१ ले दिएका सुझावका आधारमा नै अनावश्यक र असान्दर्भिक भएका ऐनहरुलाई खारेज गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “सरकारले आर्थिक वर्ष २०८३÷८४ को बजेट वक्तव्यमा यस्ता ऐन, असान्दर्भिक पुराना कानुनलाई खारेज गर्ने उल्लेख गरेको थियो । सोही बमोजिम नै त्यस्ता ऐनहरुको खारेज तथा अनावश्यक दफा संशोधन गर्न खोजिएको हो ।”
मन्त्री गौतमले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ मार्फत पुराना झण्डै आधा दर्जन ऐनलाई संशोधन तथा परिमार्जन गर्न लागेको बताउनुभयो । प्रादेशिक विकास आयोजना कार्यान्वयन ऐन २०१३, नेपाल मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४ आय टिकट दस्तुर ऐन २०१९, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२, वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन २०५५ र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७०लाई खारेज गर्ने भनिएको स्मरण गराउनुभयो ।
मन्त्री गौतमले ती ऐन खारेजसँगै प्रस्तावित विधेयकबाट मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०८२ गरी तीनवटा ऐन संशोधन गर्न प्रस्ताव गरिएको पनि बताउनुभयो ।
“नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन अप्ठ्यारा कहाँ छ भन्ने कुरा फुकाउँदै जाने क्रममा पहिचान गरिएका र खारेज गर्नुपर्ने विषयवस्तु सरकारले पहिचान गरी प्रस्ताव गरेको हो”, उहाँले भन्नुभयो, “यसमा केही थप विषयवस्तु रहेछ भन्ने छलफल गर्न लागि खुल्ला छौँ ।”
बैठकमा सदस्यले सम्बन्धित मन्त्रीको उपस्थिति नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभापति डा कृष्णहरि बुढाथोकीले १० मिनेट बैठक स्थगित गर्नुभएको थियो ।
