
काठमाण्डौ: त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनका लागि दीक्षित हुने विद्यार्थी ह्वात्तै बढेका छ्न् ।
गएको बर्षदेखी मात्रै त्रिविले अनलाइन फारामको व्यवस्था गरेको थियो ।
यो बर्ष ४५ औँ दीक्षान्त समारोहमा १० हजार १७८ विद्यार्थीले दीक्षितका लागि आवेदन दिएको दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए ।
गत वर्ष ९ हजार ५०४ विद्यार्थी दीक्षित भएका थिए । अनलाइनबाट फाराम भर्न थालेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा पनि वृद्धि भएको पाइएको छ ।
यो पटक १० हजार विद्यार्थी मात्र सहभागी हुने भएका छन् । आगामी पुस ३ गते हुने समारोहमा ६ हजार ९०० अभिभावक समेत सहभागी हुने सदस्य–सचिव अधिकारीले बताएका छ्न सहभागी अभिभावकका लागि रु ३०० तोकिएको छ ।
त्रिविले स्नातक तहका लागि २ हजार २ सय स्नातकोत्तर तहका लागि २ हजार ७०० सय र एमफिल र पिएचडी (विद्यावारिधि) का लागि ३ हजार २०० शुल्क तोकेको छ ।
त्यस्तै गाउन, स्कार्फ र टोपीका लागि रु एक हजार ५०० धरौटी तोकिएको छ ।
सबैभन्दा बढी दीक्षान्त समारोहमा व्यवस्थापन सङ्कायका विद्यार्थीले आवेदन दिएका छन् । व्यवस्थापन सङ्कायका विद्यार्थी तीन हजार ७२० सहभागी हुने भएका छन् ।
यस्तै मानविकी सङ्कायका दुई हजार १४४, इञ्जिनीयरिङतर्फ एक हजार १९०, विज्ञान सङ्कायतर्फ एक हजार १०९, चिकित्सातर्फ ८८०, शिक्षा सङ्कायमा ७८३, कानून सङ्कायमा १८६, कृषितर्फ १३३ र वन विज्ञानतर्फ ३३ विद्यार्थी सहभागीका लागि आवेदन दिएका छन् ।
त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीको अध्यक्षतामा ४६ सदस्यीय समिति ४५ औँ दीक्षान्त समारोहका लागि मूल समारोह समिति गठन गरिएको छ ।