सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रको पतन – युवराज गौतम

२०७८ बैसाख ३१, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महाभारतमा राष्ट्र पतनका सम्पूर्ण कारणको व्याख्या छ र राष्ट्र संरक्षणका उपाय पनि बताइएको छ। अनेक पात्र छन्, यसमा। ती सबैले अतुल्य सन्देश दिएका छन्। राष्ट्रनायकले सबै असल मानिसको आदर गर्दै समान व्यवहार गर्नुपर्छ भनिएको छ। खराबलाई दण्ड दिनुपर्छ भनिएको छ। इन्द्र भन्छन्– राजधर्म उपेक्षित हुँदा अराजक प्रवृत्ति फस्टाउँछ। जनता (प्रजा) कर्तव्यविमूढ बन्छन्। त्यहाँबाट सुरु हुन्छ राष्ट्र पतनको सिलसिला।

राजा (राष्ट्रनायक) जस्तो सर्वोच्च व्यक्तित्वले नातेदार, परिवारका सदस्य, साथी, मन्त्री आदि सबैको खबर लिनुपर्छ र यसका लागि जासुसहरू नियुक्त गर्नुपर्छ भन्ने भीष्मको उपदेश छ। राष्ट्रघाती र जनघातीको वध गर्नुपर्ने भएकाले राजाले मिथ्या मार्गमा हिँड्ने कपुतहरूलाई दमन गर्नुपर्छ भन्छन् भीष्म।

राजा, मन्त्री, सेना, अर्थव्यवस्था (कोष) राजाका अनन्य सहयोगी र नागरिकबीच सुमधुर सम्बन्ध नरहे राष्ट्र पतन निश्चित छ भन्छन् वृहस्पति। जसरी शुक्राचार्यनीतिमा राष्ट्र बचाउन कस्तो सैनिक–नीति, राजनीति, आचार र व्यवहार चाहिन्छ भन्ने व्याख्या गरिएको छ, त्यो भन्दा विस्तीर्ण छ महाभारत। श्रीमद्भागवत गीता, महाभारत, रामायणलगायतका ग्रन्थको सारांश बुझेर ‘राष्ट्रिय मूलनीति’ निर्माण गर्ने हो भने नेपाल धेरै वर्षसम्म ढुक्क हुन सक्छ। मूलनीति कार्यान्वयन कडाइका साथ हुनु आवश्यक छ। त्यही नहुँदा राति सुतेको आतंकवादी प्रभातसँगै ‘लोकतान्त्रिक’ बिल्ला लगाएर प्रवचन दिन थाल्छ।

नेपाली इतिहासको लामो कालखण्डमा धेरै आरोह–अवरोह देखिए। पृथ्वीनारायण शाहले एउटै मालामा उनेर नेपाल फूलबारीका रंगीचंगी फूललाई अझ सुन्दर बनाए। १८३१ साल माघ १ गते उनको असामयिक निधन भएपछि युवराज प्रतापसिंह राजा भए।

उनको उत्तराधिकारी रणबहादुर शाह जन्मेपछि प्रतापसिंह शाहको देहान्त भएकाले बालक राजा रणबहादुरका नाममा राजमाता राजेन्द्रलक्ष्मी शाहले शासन गरिन। देवर बहादुर शाह र राजेन्द्रलक्ष्मीबीच फुट गराएर दरवारभित्रै ध्रुवीकरण, कलह, षडयन्त्र र झोसपोलको खेलले राष्ट्र कमजोर हुँदै गयो। काजी दामोदर पाँडे जस्ता सुयोग्य व्यक्तिलाई मृत्युदण्ड दिइयो। पाँडे र थापा गुटको झगडाले राष्ट्र शिथिल भयो। प्रभावशाली व्यक्तिहरू निहित स्वार्थमा केन्द्रित भएमा राष्ट्र पतन निश्चित छ भन्ने यो एउटा उदाहरण हो।

काजी वंशराज पाँडे किन काटिए ? स्वरूपसिंह कार्कीको हत्या किन गरियो ? नवयुवक राजा रणबहादुर शाहले आफैँ सक्रिय हुने रहर गरेपछि राजकुमार बहादुर शाह जस्ता प्रबल, इमानदार र दूरदर्शी व्यक्तिलाई किन थुन्नुपरेको थियो ? गुप्तरूपमा उनको हत्या भयो। आखिर ती देशप्रेमीले के अपराध गरेका थिए ? राष्ट्रको भलो चिताउने धेरैको त्यही हालत भएको छ। यस्ता घटनाको सूक्ष्म अध्ययन गर्दा राष्ट्र पतनका कारणहरू बुझ्न सकिन्छ।

रणबहादुर शाहको उत्थान–पतन जति रोचक छ, गीर्वाणयुद्धविक्रम शाहले राष्ट्रका लागि गरेका असल कर्महरू त्यत्तिकै चाखलाग्दा छन्। हनुमानढोका दरवारमा नेपालको प्रथम पुस्तकालय स्थापना गर्ने उनै हुन्। यस्तै, नेपालका प्रसिद्ध विद्वान्हरूको प्रथम सम्मेलन गरेर उनले प्राज्ञिक र बौद्धिक समुदायको सुझाव लिए। ‘सबै असल विचारको सम्मान गर’ भन्ने ऋग्वेदको वाणीबाट उनी प्रभावित भएको विद्वान्हरूको तर्क छ।

राजनीतिक अस्थिरता बढ्दा राष्ट्र पतनोन्मुख बन्छ भन्ने कुरा दलहरूले स्वीकार गरेनन्। प्रजातन्त्रका नाममा दलतन्त्रले जरा गाड्दै गयो। जनताले राष्ट्रघातीलाई चुनावमै परास्त गर्नुपर्नेमा पुरस्कृत गरे।

इलाममा २०७२ सालमा आयोजित पुस्तकालय दिवसमा कार्यपत्र प्रस्तुत गर्दै पंक्तिकारले भनेको थियो– ‘पुर्खाले गरेका असल कर्मलाई निरन्तर अघि बढाउन सक्यौँ भने त्यसले चेतनाको ज्योति देदीव्यमान गराउँछ।’ प्रसंग गीर्वाणकै थियो। सीमित धार्मिक ग्रन्थ भेला पारेर ती राजाले ज्ञान संग्रह गर्न सिकाए। भावी पुस्ताले ज्ञानमार्ग नत्यागुन् भन्ने कामना गरे।

‘गौँथलीको चिरबिरी’ कवितामा लेखनाथ पौड्यालले दार्शनिक शैलीमा सत्ता, सम्पत्ति र सुख स्थायी हुँदैन भनेका छन्।  कवितामा भनिएको छ– ‘अघि कति भन्थे यो घर मेरो, कति कति घस्थे रंग कमेरो, आज तिनको नाता पर भो, विधिवश अहिले हाम्रो घर भो।’ राजकाजमा पनि गाैंथलीले गुँड बनाउँछन्। असली घर मालिक ‘देखिजान्ने सुनिजान्ने किनाराका साक्षी’ बन्छन्।

चैतारिया कृष्ण शाहको महल भीमसेन थापाले भोग गरे। थापाथली थापाहरूको रहेन, राणाले कब्जा गरे। रंगनाथ पण्डितले दलमर्दन शाहको महल बकस पाए। रणबहादुर शाह मारिएपछि उनका भाइ शेरबहादुर पनि काटिए। नरसिंह गुरुङ (ठमेलको नरसिंह चोक उनकै जमिन थियो।), त्रिभुवन प्रधान, जगत पाँडेलगायत १३ जना भारदार र उनीहरूका बेकसुर सन्तान पनि काटिए। यो १८६३ सालको कुरा हो।

१८९२ कात्तिक १७ गते आफूलाई ‘कमान्डर इन चिफ’ घोषणा गरे भीमसेन थापाले। पृथ्वीनारायण शाह र बहादुर शाहले विस्तार गरेको नेपाल भीमसेन थापा प्रधानमन्त्री भएका बेला मेची र महाकालीबीचमा खुम्चियो। नालापानीको युद्धमा पराजित भएपछि नेपालले झण्डै चालीस प्रतिशत भूभाग गुमायो। राष्ट्रको पतन कसरी हुन्छ भन्ने बुझ्न त्यो कालखण्ड अध्ययन गर्नैपर्छ।

दरवारभित्रको गुटबन्दी, शक्तिसंघर्ष र तयारीबेगरको युद्धले नेपाल थचक्कै बस्यो। सुगौली सन्धि गलपासो भयो। प्रधानसेनापतिबाट खोसिएका थापा दिक्क मान्दै बोर्लाङ (गोरखा) गाउँको पुरानो घरमा बस्न थाले। पछि उनलाई काठमाडौँ बोलाइयो। राजाको छोरालाई विष दिएर मारेको बात–कसुर लगाइयो र जेल हालियो। उनको कारुणिक कथा इतिहासकारले रोचक र हृदयविदारक शैलीमा लेखेका छन्। १८९६ साउन १६ गते आइतबार उनको जीवनलीला समाप्त भयो।

भारतलगायत धेरै मुलुकमा शासन गरिरहेका अंग्रेजको नीतिविरुद्ध उभिने भीमसेन थापामा साहस, जोश र उत्साह त थियो तर अरूको राम्रो सुझाव पनि ग्रहण नगर्ने अभिमान रहेको कुरा नालापानी युद्ध गर्ने ढिपीबाट पुष्टि हुन्छ।

२००७ सालमा राणाको १०४ वर्षे शासन अन्त्य भएपछि नेपाली राजनीति र कूटनीतिमा विदेशीको प्रभाव बढ्दै गएको देखिन्छ। २००७ देखि २०१७ सालसम्म पटकपटक सरकार परिवर्तन भयो। यसबाट वाक्क भएर राजा महेन्द्रले दलहरूमाथि प्रतिबन्ध लगाएको कुरा सर्वसाधारण परिवारबाट पहिलो प्रधानमन्त्री भएका मातृकाप्रसाद कोइरालाले ३७ वर्षअघि बानेश्वरस्थित उनकै निवासमा पंक्तिकारलाई सुनाएका थिए।

राजनीति र अस्थिरता नेपाली राजनीतिका शुक्लपक्ष र कृष्णपक्ष मात्र भइदिए चित्त बुझाउन सकिन्थ्यो। जुन जोेगी आए पनि कानै चिरेको भनेझैं सधैँको कचिंगल र घात÷प्रतिघातले राष्ट्रका हरेक संयन्त्र जीर्ण भएका छन्। कार्यपालिका/व्यवस्थापिका त राजनीतिकै अखडा भयो, न्यायपालिका समेत ‘जुडिसियरी’ होइन, ‘बेनिफिसियरी’ बन्यो।

अमेरिकाको राष्ट्रपति बनेर सन् १९७७ देखि १९८१ सम्म सेवा गरेका डेमोक्र्याटिक पार्टीका नेता जिम्मी कार्टर (जेम्स अर्ल कार्टर, जुनियर) भन्छन्– ‘बलियो राष्ट्र भनेकोे सबल मान्छे जस्तै हो। उसलाई कसैले हेप्न र हप्काउन सक्दैन। कमजोर राष्ट्र कमजोर मान्छे जस्तै सदैव डराउनुपर्ने अवस्थामा हुन्छ। अरूलाई मद्दत गर्नु त परको कुरा, आफैँलाई सम्हाल्न र बचाउन धौधौ पर्छ।’ नेपालको अवस्था त्यस्तै छ।

संसद् जनउत्तरदायी हुन सकेन। सरकारले जनविश्वास गुमाउनु नियमित आकस्मिकता बन्यो। राजनीतिक अस्थिरता बढ्दा राष्ट्र पतनोन्मुख बन्छ भन्ने कुरा दलहरूले स्वीकार गरेनन्। प्रजातन्त्रका नाममा दलतन्त्रले जरा गाड्दै गयो। जनताले राष्ट्रघातीलाई चुनावमै परास्त गर्नुपर्नेमा पुरस्कृत गरे। यी सबै कारणले पक्षघातको बिरामीझैँ राष्ट्र ‘हल न चल’ भयो। जसको सरकार चले पनि, ढले पनि पात्र प्रवृत्ति पुनरावृत्ति भइरह्यो। खड्ग, कर्द, हँसिया र खुर्पाप्रसाद बदलिँदैमा राष्ट्र बदलिँदैन।

राष्ट्रलाई ऊर्जा, गति र समुन्नतिको बाटोमा हिँडाउन जनताको मति सुध्रिनुपर्छ। त्यसपछि नेता स्वतः सही बाटोमा हिँड्छन्। जहाँका बहुसंख्यक जनता नै असल, निष्पक्ष  र देशप्रेमी छन्, त्यहाँ राष्ट्रघातीले नेतृत्व गरेको कतै देख्नुभएको छ ? आश्चर्यको कुरा, राजनीतिक दलहरूकै दुराग्रहले २००७ सालपछि २०१७ सम्म अस्थिरता भइरह्यो। घात/प्रतिघात चलिरह्यो। राणाशासन हटाउन एक भएका नेताहरू अनेक दल र गुटमा बाँडिए।

यस्तै, २०४६ सम्म दलहरू प्रतिबन्धित छँदा ‘सत्ता पाए राष्ट्रलाई सबल बनाउँछौँ’ भन्नेहरूले २०४७ सालपछि झगडामै बिताए। आफैँले बनाएको संविधान, सिद्धान्त र सहमतिमा आगो लगाए। गणतन्त्र सुरु भएपछि पनि अस्थिरता रोकिएन। रोकिने छाँटकाँट छैन। बरु झन बढेको छ। एउटै नेता निर्दलीय, संसदीय र गणतन्त्रवादी बनेको पनि देखियो। त्यसो भए समस्या कहाँ छ त? समस्या सोचमा छ। राष्ट्र र जनता बिर्सेर ससाना स्वार्थमा खण्डित नेतालाई जनताले दण्डित गरेनन्, समस्या नेता र जनताकै दिमागमा छ। समस्या आफैंमा छ। टाढाकालाई मात्र किन दोष दिनु? नागरिक दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देशको आर्थिक नीतिमै त्रुटि : डा. सिके राउत

कर्मकाण्डी नीति–कार्यक्रमको निरन्तरता : प्रा.डा. गोविन्दराज पोखरेल

खुला-बन्द उत्तरी नाका – बुद्धिनारायण श्रेष्ठ

बदलिरहेको विश्व, छुटिरहेको नेपाल : विष्णु सापकोटा

संक्रमणकालीन न्यायको ‘शक्ति’ : चरण प्रसाईं

संघीयताको कसीमा बजेट तर्जुमा : खिमलाल देवकोटा

पुँजीवादभित्रको पुरुषसत्ता : डा. रेणु अधिकारी

समझदारीमा निर्मित नेपालको संविधान : श्यामप्रसाद मैनाली

पतनको बाटोमा प्रचण्ड ? – किशोर नेपाल

मिसन ८४ दाहिना ? – कृष्णमुरारी भण्डारी

श्रमिक दिवस र ट्रेड युनियन आन्दोलनको अभिभारा : अच्युत ओझा

मृतः राजनीति, मृत्युशय्यामा अर्थतन्त्र : अच्युत वाग्ले