काठमाण्डौं: मनाङ मर्स्याङदी र थ्री स्टार क्लब नेपालका दुई ठूला र चर्चित क्लब हुन् । तर यस सिजन शहीद स्मारक ए डिभिजन लिग सुरु हुनुअघि दुवै क्लबका पहिलो रोजाईँका अधिकांश खेलाडीले छाडेपछि प्रदर्शन कस्तो होला भन्ने कौतुहलता जागेको थियो ।
यस सिजन लिगमा तीन चरणको खेल सकिँदासम्म यी दुई क्लबको प्रदर्शन भने राम्रो रहेको छ । मैदानको प्रदर्शन जस्तो भए पनि नतिजाको हिसाबमा हेर्दा यीनै दुई क्लब अगाडि आएका छन् ।
दुवैको केही समानता पनि छन् । दुवै यस सिजन अपराजित । यी दुई बाहेक मछिन्द्र र जावालाखेल पनि अपराजित छन् ।
मनाङले र थ्री स्टारले तेस्रो चरणसम्म गोल खाएका छैनन् । यसको अर्थ दुवै टिमले तीन खेलसम्म क्लिनसिट राखेको छ ।
मनाङले तेस्रो चरणसम्म सबै खेल जितेको छ । यसमा भने थ्री स्टार पछाडि छ । थ्री स्टारले दुई खेल जित्दा एक खेल बराबरी गरेको छ ।
तेस्रो चरणमा भने दुवैले विपक्षीविरुद्ध समान १-० को जित हात पारेका थिए । मनाङले ब्रिगेड ब्वाइज र थ्री स्टारले एपीएफलाई पराजित गरेको हो ।
लगातार तीन खेल खेल्दै ९ अंक जोडेको मनाङ अंक तालिकामा शीर्ष स्थानमा कायम छ । दुई जित र एक बराबरीपछि थ्री स्टार ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ ।
यी दुई क्लबलाई पछ्याउने अर्को क्लब हो मछिन्द्र क्लब । यस सिजन मनाङ र थ्री स्टारकै खेलाडीलाई भित्र्याएको मछिन्द्रले लिगमा अपराजित यात्रा काम राख्दै २ जित र १ बराबरीको नतिजा निकालेको थियो । यसबाट ७ अंक जोडे पनि गत सिजन ननरेलिगेसन लिगमा पुछारबाट दोस्रो भएकोले यस सिजन १ अंक ऋणमा खर्चिएको हो ।
मछिन्द्रले तेस्रो चरणमा फ्रेण्ड्सविरुद्ध ३-० को आरामदायी जित हात पारेको थियो । यी तीन बाहेक अर्को अपराजित जावलाखेल भने तेस्रो चरणमा संकटासंग १-१ को बराबरी खेल्यो ।
यस्तै दुई विभागीय क्लब नेपाल पुलिस र त्रिभुवन आर्मीले जित हात पारे । पुलिसले सरस्वती युथ क्लबलाई तथा आर्मीले हिमालयन शेर्पा क्लबलाई समान २-० ले हरायो ।
तेस्रो चरणको एउटा खेलमा स्तब्ध नतिजा आयो । १० खेलाडीमा रहेर पनि एनआरटीले च्यासल युथ क्लबलाई २-१ ले पराजित गर्यो ।
तेस्रो चरणमा ७ मध्ये ६ खेलमा स्पष्ट नतिजा आउँदा एक खेल भने गोल रहित बराबरीमा सकियो । यस्तै तेस्रो चरणमा तीन खेलाडीले रातो कार्ड पाए । एनआरटी र र नेपाल पुलिसका खेलाडी दोहोरो पहेँलो पछि रातो कार्ड पाए पनि मनाङका खेलाडी एकराज बुढाथोकीले सिधै रातो कार्ड पाएका थिए ।
शुरुआती दुई चरणमा लगातार गोल गर्दै लिगमा सर्वाधिक गोलकर्तमा अगाडि रहेको च्यासलका फरवार्ड सन्तोष साहुखला तेस्रो चरणमा भने गोल गर्न असफल रहे । यसको अर्थ नेपालको ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बन्न उनलाई अझै एक गोल आवश्यक छ । यस सिजन ३ गोल गरेका सन्तोषले लिगमा ९९ गोल पुर्याइसकेका छन् ।
