सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यी हुन् मन्त्रिपरिषद् बैठकले तय गरेका १९ निर्णयहरू

२०७६ भाद्र २६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सरकारका प्रवक्ता एवं सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका छन् ।

बिहिवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले भाद्र २२ गते बसेको मन्त्री परिषद्को बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

सरकारले कर्तव्य पालनाको सिलसिलामा शहादत प्राप्त गरेका प्रहरी जवान संजिव राईलाई शहीद घोषणा गर्ने र निजको परिवारलाई राहत स्वरूप रू. १० लाख उपलब्ध गराउने, बालुवाटार जग्गा प्रकरणको छानविन गर्न गठित समितिको म्याद थप गर्ने लगायतका निर्णयहरू गरेको बताएका छन् । यी हुन मन्त्रिपरिषद बैठकले तय गरेका निर्णयहरु जस्ताको तस्तै:

१. Food safety and Agriculture Commercialization Program का लागि एशियाली विकास बैंकबाट रू ५ अर्ब ७५ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गर्ने निर्णय गरिएको छ।

२. Rural Enterprise Financing Project का लागि एशियाली विकास बैंकबाट प्राप्त गर्ने ऋण सहायता रू ५ अर्ब ७५ करोड सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गर्ने निर्णय गरिएको छ।

३. आर्थिक वर्ष २०७६/०७७ का लागि एकल बिन्दु सेवा केन्द्रको २५ जना अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ।

४. नेपाल सरकार, मन्त्रिपरिषद्को २०७५ चैत ११ को निर्णय बमोजिम गठित विराटनगर जुटमिल्स जाँचबुझ आयोगको म्याद २०७६ भदौ १७ देखि एक महिनाका लागि थप गरिएको छ। नेपाल सरकारलाई थप आर्थिक व्ययभार नपर्ने गरी साविककै संरचना र कार्यशर्त (TOR) लागू हुनेगरी म्याद थप गरिएको हो।

५. ऊर्जा दक्षता तथा संरक्षण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिइएको छ।

६. निम्न प्रयोजनका लागि विभिन्न श्रेणीका राजपत्रांकित पदहरूमा दरबन्दी स्वीकृत गरिएको छ ।

(क) ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मातहतको जलस्रोत तथा सिंचाइ विभाग अन्तर्गत सञ्चालन हुने आयोजना÷कार्यक्रमका लागि ३६० वटा

(ख) सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि ५६ वटा र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २३ वटा

(ग) कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित आयोग/परियोजना/आयोजना/कार्यक्रमका लागि २७२ वटा

(घ) कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगत सञ्चालित नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाका लागि १९ वटा

(ङ) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतका विभिन्न परियोजना/कार्यक्रमका लागि ५८ वटा

(च) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत सञ्चालित आयोजनाहरूको लागि अधिकृतस्तरका ६५ वटा

७. कर्तव्य पालनाको सिलसिलामा शहादत प्राप्त गरेका प्रहरी जवान संजिव राईलाई शहीद घोषणा गर्ने र निजको परिवारलाई राहत स्वरूप रू. १० लाख उपलब्ध गराउने निर्णय गरिएको छ।

८. नेपाल सरकार, मन्त्रिपरिषद्को २०७५ फागुन २८ को निर्णय बमोजिम गठित सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिना सम्बन्धी छानबीन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान व्यूरो (CIB) को छानविन समितिको म्याद २०७६ साउन २८ देखि २०७६ असोज २८ सम्म दुई महिना थप गर्ने निर्णय गरिएको छ।

९. सार्वजनिक हितका लागि आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ।

१०. गोरखा, कञ्चनपुर, सर्लाही, रौतहट, धनकुटा, पाल्पा र काभ्रेपलाञ्चोक गरी ७ जिल्लामा राजपत्रांकित प्रथम श्रेणी अधिकृतस्तरको प्रमुख जिल्ला अधिकारीको पद रहेकामा राजपत्रांकित प्रथम श्रेणी (नेपाल प्रशासन सेवा) को पदपूर्ति भएको अवस्थामा सोही बमोजिम हुने गरी हाललाई राजपत्रांकित द्धितिय श्रेणीको प्रमुख जिल्ला अधिकारीको पद कायम गर्ने निर्णय गरिएको छ।

११. खाँदवारी-किमाथाङ्का सडकको १४ किमि चट्टानी खण्ड नेपाली सेना मार्फत गराउन स्वीकृति दिइएको छ।

१२. राष्ट्रिय युवा परिषद्का लागि आर्थिक वर्ष ०७६/७७ मा आवश्यक पर्ने १५ वटा राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी तेरिज स्वीकृत गरिएको छ।

१३. निम्न प्रयोजनका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ–

(क) शुभश्री अग्नि सिमेण्ट अद्योग प्रा.लि.लाई चूनढुङ्गा उत्खनन गर्न दाङ जिल्लाको बंगलाचुली गाँऊपालिका–६, तिमिलेमा रहेको राष्ट्रिय वन क्षेत्रको ३.९३५ हेक्टर जमिन (१० वर्षका लागि)

(ख) सम्राट सिमेन्ट कम्पनी प्रालिलाई चुनढुङ्गा उत्खनन गर्न दाङ जिल्लाको बंगलाचुली गाऊँपालिका-३, थारागाउँमा रहेको राष्ट्रिय वन क्षेत्रको (जनचेतना सामुदायिक वनमा समेत परेको) ५ हेक्टर जमिन (१५ वर्षका लागि)

(ग) नेपाल विद्युत प्राधिकरणलाई कोशी कोरिडोर २२० केभी प्रसारणलाईन आयोजना (बसन्तपुर–चाँगे खण्ड) को ‘राइट अफ वे’सहित केही टावर निर्माण गर्न तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न सामुदायिक वनसहित राष्ट्रिय वन क्षेत्रको ७२.७४६ हेक्टर जमिन (२५ वर्षकका लागि)

(घ) नेपाल विद्युत प्राधिकरण, बुटवल (गोरुसिंगे-लुम्बिनी) १३२ केभी प्रसारणलाईन आयोजना संरचना विस्तार गर्दा आवश्यक पर्ने रुपन्देही जिल्लाको योगीकुटी स्वीचयार्डको ‘टु बे एक्सटेन्सन’ निर्माण गर्न स्वीचयार्डसँगै वन अनुसन्धान प्लटको छेउमा रहेको वन क्षेत्रको ०.४८ हेक्टर जमिन (२५ वर्षका लागि)

(ङ) नेपाल विद्युत प्राधिकरणलाई बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारणलाईन आयोजनाको जितपुर–कपिलवस्तु खण्डको ‘राइट अफ वे’सहित केही टावर निर्माण गर्न कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका लगायत विभिन्न स्थानमा रहेका विभिन्न ४ सामुदायिक वन र तिलौराकोट साझेदारी वनसहित राष्ट्रिय वन क्षेत्रको १६.७६१ हेक्टर जमिन (२५ वर्षका लागि)

१४. काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनाईने ईन्द्रजात्रा पर्वको सञ्चालन र व्यवस्थापनका लागि ईन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको छ।

१५. हुलाक सेवा विभाग अन्तर्गत अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिक २०७६ साउन महिनादेखि लागू हुने गरी वृद्धि गर्ने निर्णय गरिएको छ।

१६. नेपाल प्रशासन सेवाको समूहीकरण (क्लस्टर) तर्फको राजपत्रांकित विशिष्ट श्रेणी पदमा कामु प्रमुख सचिव तोयनारायण ज्ञवालीलाई बढुवा गरी मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं ५ को प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरिएको छ।

१७. नेपाल इन्जिनियरिङ सेवाको समूहीकरण (क्लस्टर) तर्फको राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा राजपत्रांकित प्रथम श्रेणीका अधिकृत श्री ऋषिराम शर्मा र श्री रविन्द्रनाथ श्रेष्ठलाई बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय गरिएको छ।

१८. समपूरक अनुदान सम्बन्धी (दोश्रो संशोधन) कार्यविधि, २०७६ स्वीकृत गरिएको छ।

१९. विशेष अनुदान सम्बन्धी (दोश्रो संशोधन) कार्यविधि, २०७६ स्वीकृत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’