कालिकोट। लायन्स क्लब अफ काठमाडौं गोंगबु, लायन्स क्लब अफ काठमाडौं बेथेल र लायन्स क्लब अफ काठमाडौं टेम्पल मञ्जुश्रीले कालिकोटको अति दुर्गम गाउँ नाग्नामा संयुक्त सामुदायिक सेवा कार्यक्रम आयोजना गरेका छन्। तीनवटै क्लबले आयोजना गरेको उक्त कार्यक्रमबाट स्थानीय समुदायका १२६ जना लाभान्वित भएका छन्।
कार्यक्रमको मुख्य उद्देश्य महिला तथा किशोरीहरूको स्वास्थ्य, सरसफाइ र व्यक्तिगत हेरचाहसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै आवश्यक सामग्री उपलब्ध गराएर उनीहरूको स्वास्थ्य र मर्यादित जीवनयापनमा सहयोग पुर्याउनु रहेको थियो।
कार्यक्रमअन्तर्गत महिला तथा किशोरीहरूलाई महिला स्वास्थ्य, व्यक्तिगत सरसफाइ र हेरचाहका विषयमा सचेतनामूलक कक्षा सञ्चालन गरिएको थियो। स्वास्थ्यसम्बन्धी आवश्यक जानकारीसँगै उनीहरूको दैनिक जीवनमा उपयोगी हुने भित्री वस्त्र तथा स्यानिटरी सामग्रीसमेत वितरण गरिएको थियो।
त्यसैगरी, चिसो मौसमबाट बालबालिकालाई जोगाउने उद्देश्यले ७५ थान न्यानो टोपी वितरण गरिएको थियो। स्थानीय बासिन्दाको आवश्यकता र दैनिक जीवनयापनलाई ध्यानमा राख्दै लायन्सले ‘चिकोपी’ (Chicopee) उत्पादनलगायत अन्य अत्यावश्यक सामग्री पनि उपलब्ध गराइएको लायन्स क्लब अफ काठमाडौं गोंगबुका अध्यक्ष अन्जन श्रेष्ठले बताए ।
भौगोलिक विकटता र आवश्यक सेवासुविधाको सीमित पहुँचका कारण आधारभूत स्वास्थ्य सचेतना तथा आवश्यक सामग्री प्राप्त गर्न कठिनाइ हुने दुर्गम समुदायलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो । महिला तथा किशोरीको स्वास्थ्य र सरसफाइसँग जोडिएका विषयमा जानकारी दिनुका साथै बालबालिकालाई न्यानो कपडा उपलब्ध गराउँदा स्थानीय समुदायलाई प्रत्यक्ष राहत पुगेको आयोजकको विश्वास छ।
तीनवटै लायन्स क्लबको सहकार्यमा सम्पन्न यस कार्यक्रमले सामुदायिक आवश्यकता पहिचान गरी सहयोग पुर्याउने र मानवीय सेवाको पहुँच दुर्गम बस्तीहरूसम्म विस्तार गर्ने प्रयासलाई थप बल पुर्याएको छ।
कार्यक्रममार्फत लायन्स क्लब अफ काठमाडौं गोंगबु, लायन्स क्लब अफ काठमाडौं बेथेल र लायन्स क्लब अफ काठमाडौं टेम्पल मञ्जुश्रीले सेवा नै धर्म हो भन्ने मान्यतालाई व्यवहारमा उतार्दै सेवाबाट वञ्चित समुदायसम्म पुग्ने प्रतिबद्धता दोहोर्याएका छन्। खाँचोमा परेका व्यक्तिहरूको जीवनमा आशा, आत्मसम्मान र सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित यस्ता सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने उनीहरूको लक्ष्य रहेको छ।
