सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन

२०८३ कार्तिक २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अन्ताल्या (टर्किए), २४ कात्तिकः टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) स्थलमा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरिएको छ ।

कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले आज पेभिलियन उद्घाटन गर्नुभएको हो । नेपालको जलवायु महत्वाकाङ्क्षा प्रतिबिम्बित गर्ने पेभिलियनमा जैविक विविधता संरक्षणका उपलब्धि तथा समुदायस्तरमा सञ्चालित जलवायु अनुकूलनका पहल प्रदर्शन गरिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिकीय प्रणालीले सामना गरिरहेको जोखिमबारे विश्वको ध्यानाकर्षण गराउनुभयो । उहाँले हिमनदी तथा हिममण्डलसँग सम्बन्धित विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै हालैको भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिनुभयो । नेपालजस्ता जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका मुलुकले असमानुपातिक रूपमा बढी जोखिम वहन गर्नुपरेको उहाँको भनाइ थियो ।

मन्त्री खनालले जलवायु न्याय सुनिश्चित गर्न, हानि तथा नोक्सानीसम्बन्धी वित्तीय सहयोग सहज र सुलभ बनाउन तथा हिमाली क्षेत्रमा उत्थानशीलता निर्माण र तल्लो तटीय क्षेत्रको संरक्षणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले यस विषयमा नेपालको प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री नीशा मेहता, सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्य सागर ढकाललगायत विशिष्ट प्रतिनिधिले पनि सम्बोधन गर्नुभएको थियो ।

यसैबीच, परराष्ट्रमन्त्री खनाल कोप–३१ को उद्घाटन पूर्ण सत्रमा सहभागी हुनुभयो । सो अवसरमा टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले सम्मेलनको अध्यक्षता तथा अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनले वार्ता प्रक्रियाको अध्यक्षता सम्हाल्नुभएको छ ।

सम्मेलनकै अवसरमा परराष्ट्रमन्त्री खनालले इथियोपियाका परराष्ट्रमन्त्री गेडियन टिमोथियोससँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।

भेटमा मन्त्री खनालले हालैका विनाशकारी जलवायुजन्य विपद्पछिको कठिन परिस्थितिमा इथियोपिया सरकार र जनताले व्यक्त गरेको सहानुभूति तथा ऐक्यबद्धताप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले कोप–३१ र इथियोपियाको आगामी कोप अध्यक्षताअन्तर्गत समानता, साझा वातावरणीय जिम्मेवारी तथा बहुपक्षीय साझेदारीमा आधारित विश्वव्यापी जलवायु कार्यलाई अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताउनुभयो ।

भेटवार्तामा दुवै मन्त्रीले जलवायु परिवर्तन, अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नतिको दिगोपन, व्यापार, हवाई सम्पर्क, पर्यटन तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विषयमा विचार आदानप्रदान गर्नुभयो । साथै, नेपाल र इथियोपियाबीचको मैत्रीपूर्ण तथा सहयोगात्मक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श