इनरुवा। सुनसरीको धरान उपमहानगरपालिका-८ स्थित सेउती पुलबाट गएराति ४९९ किलोग्राम लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित एक जना चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१३ का ३२ वर्षीय अजयकुमार साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले दिएको जानकारी अनुसार उनको साथबाट ठूलो परिमाणमा गाँजा बरामद भएको हो।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ‘बिआर ११ वाई ११३९’ नम्बरको भारतीय स्कार्पियो गाडीबाट उक्त परिमाणको लागूऔषध बरामद गरेको हो।
गाडीभित्रबाट गाँजाजस्तो देखिने पदार्थ फेलाेपछि प्रहरीले स्कार्पियो गाडी र चालक साहलाई तत्काल नियन्त्रणमा लिएको छ। बरामद गरिएको सवारीसाधन, गाँजा र पक्राउ परेका चालकमाथि अहिले कानुनबमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
