सदाबहार खबरको रफ्तार ....
मंग्सिर १२, २०८३ शनिबार
November 28, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

निर्वाचनसम्बन्धी कानुन निर्माणको ढिलाइले थप चुनौती निम्त्याउँदै

२०८३ मंग्सिर १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण हुन नसक्दा थप चुनौतीहरू निम्तिँदै गएका छन् । एआई, साइबर सुरक्षा तथा सामाजिक सञ्जालबाट फैलिने गलत र भ्रामक सूचनाको चुनौतीलाई सम्बोधन गर्नका लागि निर्वाचनसम्बन्धी कानुन समयमै नबन्दा थप चुनौती निम्तिएका हुन् । निर्वाचन आयोगका सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मका लागि तयार गरिएको रणनीतिक योजनाको पहिलो दुई वर्षको मध्यावधि मूल्यांकनमा हालसम्म २४ प्रतिशत क्रियाकलाप मात्रै पूर्णरूपमा कार्यान्वयन भएको उल्लेख गर्नुभयो । चौथो रणनीतिक योजना स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचनमार्फत लोकतन्त्रको सुदृढीकरण गर्ने दीर्घकालीन सोचसहित तयार गरिए पनि हालसम्म कानुनमा आवश्यक हेरफेर गर्न नसकिएको हो ।

नागरिकलाई मतदान गर्न गाह्रो भो, निर्वाचन प्रणाली र प्रक्रिया बदलौँ : निर्वाचन आयुक्त सुब्बा

निर्वाचन आयुक्त डा. राजीव सुब्बाले निर्वाचनलाई परम्परागत ढंगले सञ्चालन गर्दै आएको व्यवस्थामा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार ललितपुरमा निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाबारे सरोकारवालाहरूसँग गरेको छलफल कार्यक्रममा उहाँले अबको निर्वाचन प्रणाली, व्यवस्था र निर्वाचनसम्बन्धी सम्पूर्ण क्रियाकलापमा समयअनुकूल परिवर्तन आवश्यक रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘निर्वाचन अहिले जुन परम्परात ढंगले चलिरहेको छ, चलिराखोस् भन्नुहुन्छ भने मेरो विमति छ । जे चलिरहेको छ, राम्रै छ, किन गर्नुपर्‍यो र ऐन ? भन्ने छ । अबको परिस्थितिमा हामीसँग त्यो सुविधा छैन ।’

अहिलेको निर्वाचन प्रक्रियाले विभिन्न कारणले धेरै नागरिकलाई मतदान गर्न कठिनाइ भइरहेको उहाँको भनाइ छ । सुब्बाले विदेशमा रहेका वा कामको सिलसिलामा एक जिल्लाबाट अर्को जिल्लामा पुगेका नागरिकलाई समेत मतदानको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अबको निर्वाचन प्रणाली, अबको निर्वाचन व्यवस्था, अबको निर्वाचनका सम्पूर्ण क्रियाकलापहरूको दृष्टिकोणमा हामीले परिवर्तन गर्नैपर्छ ।’

योग्य सबै नागरिकले जुनसुकै अवस्थामा पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने उल्लेख गर्दै उहाँले यस मान्यताबाट पछि हट्न नहुने बताउनुभयो । अहिलेको निर्वाचन प्रक्रियाले धेरै नागरिकलाई असहज परिस्थितिमा पारेको भन्दै मतदानको अधिकारलाई सहज र सबैको पहुँचमा पुर्‍याउने गरी व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो । आगामी निर्वाचनमा कतै न कतै अन्तरजिल्ला मतदान गर्ने व्यवस्था, विदेशमा रहेकाहरूलाई मतदानको अधिकार दिनुका साथै अनलाइन भोटिङको व्यवस्था गर्नुपर्नेमा उहाँको जोड थियो ।

निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानुनी व्यवस्था र कडा जरिवाना आवश्यक : पोखरेल

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा कृत्रिम बुद्धिमता (एआई) को दुरुपयोग गरी फैलाउन सकिने भ्रामक प्रचार रोक्न एआईबाट निर्मित सामग्रीमा वाटरमार्क अनिवार्य गर्नुपर्ने र दुरुपयोग गर्नेलाई कडा जरिवाना तोक्नुपर्ने बताउनुभएको छ । शुक्रबार ललितपुरमा निर्वाचन आयोगले सरोकारवालाहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पोखरेलले एआईको दुरुपयोगलाई कानुनी दायरामा ल्याएर प्रभावकारी नियमन गर्न अब ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो । ‘निर्वाचनमा पनि एआईको दुरुपयोग गरी हुने प्रचारको चुनौती छ ।

एआईलाई अब कानुनी रूपमा व्यवस्थित गर्दै लैजानुपर्छ,’ पोखरेलले भन्नुभयो, ‘वाटरमार्कहरू सबै राख्नेदेखि कडा जरिवाना गर्ने व्यवस्था गर्नुपर्छ ।’ एआईबाट तयार पारिएका सामग्रीको पहिचान सहज बनाउन प्राविधिक संयन्त्र नै विकास गर्नुपर्ने उहाँको सुझाव छ । एआई टुल्सकै प्रयोगमार्फत अनुसन्धान केन्द्र र प्रयोगशालाबाट गलत तथा भ्रामक सामग्री छुट्याउने प्रणाली निर्माण गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रविधिको दुरुपयोग रोक्न कानुनी कडाइसँगै डिजिटल साक्षरता र शिक्षालाई पनि प्राथमिकता दिनुपर्ने पोखरेलको भनाइ छ । बेलायत जस्ता विकसित देशमा पूर्वप्राथमिक तहदेखि नै डिजिटल शिक्षा दिन थालिएको उदाहरण दिँदै उहाँले यसको प्रभावकारी नियमन कसरी गर्न सकिन्छ भन्ने विषयमा नेपालले पनि अध्ययन र खोज गर्नुपर्ने बताउनुभयो ।

छलफलका क्रममा पोखरेलले निर्वाचन शिक्षालाई अझै विस्तार गर्दै लैजानुपर्ने र निर्वाचन व्यवस्थापनको विकेन्द्रीकरणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । निर्वाचन व्यवस्थापनको विकेन्द्रीकरण अहिलेको निर्वाचन रणनीतिमा समेत समेटिएको जानकारी उहाँले दिनुभयो । यसैगरी, निर्वाचन सुरक्षाको जिम्मेवारी सुरक्षा निकाय र राजनीतिक दलहरू स्वयंले लिनुपर्ने धारणा राख्दै पोखरेलले निर्वाचन खर्चको व्यवस्थापन संघीय, प्रदेश र स्थानीय तहबाटै गर्नेगरी अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

निर्वाचन प्रणाली अझै स्वच्छ बन्न नसकेको पद्मा अर्यालको दाबी

नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले नेपालको निर्वाचन प्रणाली अझै स्वच्छ बन्न नसकेको भन्दै आफूले चुनाव लड्दा भोगेको बुथ कब्जा र धाँधलीको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गर्नुभएको छ । अर्यालले आफ्नै निर्वाचन क्षेत्रमा अस्वाभाविक रूपमा ९९ प्रतिशत मत खसे पनि त्यसको कुनै उपचार नभएको गुनासो गर्नुभयो ।

‘हाम्रो निर्वाचन क्लिन छैन । म चुनाव लड्दा मैले के भोगिनँ ? एक सयमा ९९ प्रतिशत भोट आजसम्म खसेकै छैन, मेरो निर्वाचन क्षेत्रमा खस्यो तर उपचार त भएन,’ अर्यालले भन्नुभयो, ‘मसँग तथ्यसहितका प्रमाण छन् । यहाँ-यहाँ बुथ कब्जा भयो, यहाँ धाँधली भयो र यसरी भोट हालियो भन्ने प्रमाण छ ।’

उहाँले नेपालको निर्वाचन प्रणालीमा अझै पनि धनबल, बाहुबल र सञ्चारमाध्यमको प्रभाव कायम रहेको आरोप लगाउनुभयो । पैसाको चलखेल, शक्तिको दुरुपयोग र मिडियाको प्रभावले निर्वाचनको निष्पक्षतामाथि निरन्तर प्रश्न उठ्ने गरेको उहाँको भनाइ थियो । निर्वाचन प्रणालीमा वास्तविक सुधार ल्याउन पहिले विद्यमान विकृति र समस्याको सही पहिचान हुनुपर्नेमा अर्यालले जोड दिनुभयो । बेलैमा समस्या पहिचान गर्न सके मात्र समाधानतर्फ अघि बढ्न सकिने र समस्या नै नचिने समाधान ननिस्कने उहाँको तर्क थियो ।

छलफलका क्रममा अर्यालले लोकतान्त्रिक व्यवस्थामा नागरिक जहाँसुकै रहे पनि मताधिकारबाट वञ्चित हुन नहुने बताइउनुभयो । आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न निर्वाचन आयोग अघि बढेकोमा प्रशंसा गर्दै उहाँले त्यसका लागि आवश्यक साथ र सहयोग गर्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो । तर, अन्तरजिल्ला तथा अन्तरदेशीय मतदानको व्यवस्था कार्यान्वयन गर्दा भावनामा मात्र बगेर नहुने भन्दै उहाँले व्यावहारिक र कानुनी कठिनाइबारे आयोगलाई सचेत गराउनुभयो ।हिमालय टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दशकसम्म घटेन बालश्रमको ग्राफ

अगाडि बढेन मेट्रोसिटी योजना

कांग्रेस एकताको पहल थाल्ने डा. शेखर समूहको तयारी

मलेसिया प्रकरणमा सभामुख अर्याल पनि जोडिए : संसद् अधिवेशन डाक्न विलम्ब

प्रहरीमा ‘सानालाई ऐन, ठुलालाई चैन’- उच्चपदस्थमाथि छानबिन हुन्छ, कारबाही हुँदैन

अब घट्छ हिमतालको जलसतह

संसद्‍मा १८२ को आसन, जनतामाथि अध्यादेशको शासन

‘हामी तयार छौं’ अभियान : केन्द्रीय ‘नीति’ बोकेर गाउँ जाँदै कांग्रेस

सुकुम्बासीलाई दुई दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको निर्देशन

सार्वजनिक ऋण ३० खर्बनजिक

प्रदेश-स्थानीय तह निर्वाचन : दलहरू दौडिए, छैन मितिको टुंगो

निजी क्षेत्रका समस्या हटाउन ६४ कानुन संशोधनको प्रस्ताव