काठमाडाैं- सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई हिरासतमै फोन चलाउन दिएको खुलेपछि ललितपुरका तत्कालीन एसएसपी होबिन्द्र बोगटीलगायतका प्रहरीमाथि छानबिन गर्न गत जेठमा डिआइजी ओम अधिकारीको नेतृत्वमा समिति बन्यो ।
चार महिना छानबिन गरेर समितिले एसएसपी बोगटीसहित एसपी गौतम मिश्र, प्रहरी नायब निरीक्षक विष्णु विकलगायतमाथि कारबाही सिफारिस गर्दै गत असोजमा हेडक्वार्टरलाई प्रतिवेदन बुझायो । छानबिन प्रतिवेदन दुई महिनादेखि प्रहरी प्रधान कार्यालयको कानुन महाशाखामा थन्किएको छ, कारबाही प्रक्रिया अघि बढेको छैन ।
हाल कर्णाली प्रदेशको ट्राफिकको प्रहरी प्रमुख रहेका एसपी मुकुन्द रिजालमाथि प्रदेश प्रहरी कार्यालयले छानबिन गरी कारबाही सिफारिस गरेको पनि सात महिना बितिसकेको छ । उनी अर्घाखाँचीको प्रहरी प्रमुख हुँदा ज्यान मुद्दाको अनुसन्धानमा चरम लापरबाही गरेकामा कारबाही सिफारिस भएको थियो । भूमिस्थान–७ का पदम केसीको हत्या घटनालाई भवितव्य मृत्यु बनाएर अनुसन्धानमा चलखेल गरेको आरोप उनीमाथि छ ।
केसी २६ साउन ०८० मा मकैबारीमा मृत भेटिएका थिए । उनको शरीरमा गोली लागेको थियो । बाँदर धपाउने क्रममा आफैँले चलाएको गोली लागेर मृत्यु भएको निष्कर्षका आधारमा घटनालाई भवितव्य भनेर अनुसन्धान गरिएन । गत वर्ष अर्घाखाँची प्रहरीले थप अनुसन्धान गर्दा सौतेनी दाइ निमबहादुर केसीले गोली हानेर हत्या गरेको खुल्यो । पक्राउ परेका निमबहादुर हाल कारागारमा छन् । त्यति वेला अनुसन्धानमा चरम लापरबाही गर्ने रिजालसहितका प्रहरी अधिकारीमाथि छानबिन गरी प्रदेशले कारबाही सिफारिस गरे पनि हेडक्वार्टरमा रोकिएको छ ।
एसपी रुगमबहादुर कुँवरलगायतमाथिको कारबाही सिफारिस पनि अघि बढ्न सकेको छैन । मधेश प्रदेशका तत्कालीन डिआइजी गोविन्द थपलिया र धनुषाका तत्कालीन एसपी कुँवरबिचको विवाद सामाजिक सञ्जालमै आएपछि प्रहरी प्रधान कार्यालयले एआइजी उमाप्रसाद चतुर्वेदीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । समितिले एसपी कुँवरसहित वरिष्ठ सइ सागरशमशेर राणा, गोपाल थापामगरलगायतलाई कारबाही सिफारिस गरेको थियो । सामाजिक सञ्जालकै दुरुपयोग गरी प्रहरी आचरणविपरीतको गतिविधि देखिएको भन्दै उनीहरूमाथि कारबाही सिफारिस भएको थियो । यो प्रतिवेदन पनि कार्यान्वयन हुन सकेको छैन ।
त्यस्तै, हाल जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत डिएसपी हेमबहादुर केसीमाथि पनि गम्भीर विभागीय कारबाहीको सिफारिस भएको थियो । गत वर्ष सल्यानको प्रहरी प्रमुख हुँदा दुर्घटनाको एक मुद्दामा मिलेमतो गरी सवारीको चालक नै फेरेको गम्भीर आरोप उनीमाथि छ । १२ असोज ०८२ मा कपुरकोट गाउँपालिका–३, चोरखोलानजिकै लु २ ख ६५०२ नम्बरको गाडी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो । सो गाडी वीरबहादुर नेपालीले चलाएका थिए । तर, उनको लाइसेन्स नभएकाले कर्णबहादुर खड्कालाई चालकको रूपमा खडा गरी मुद्दा चलाइएको थियो ।
डिएसपी केसीले आर्थिक लेनदेन गरी नक्कली ड्राइभर खडा गरेको आरोप छ । यसमा प्रदेश प्रहरी कार्यालयले छानबिन गरी उनीसहित वीरेन्द्रराज गुरुङलगायतका प्रहरी अधिकारीमाथि कारबाहीको सिफारिस गरेको थियो । तर, यो प्रतिवेदन पनि प्रहरीको कानुन महाशाखामै रोकिएको छ ।
आर्थिक लेनदेनको गम्भीर आरोपमा मुछिएका इन्स्पेक्टरहरू किशोर तामाङ, विजय चौहान, वीरेन्द्र बोहरामाथि पनि छानबिन टुंगिएको छ, तर कारबाही प्रक्रिया भने अवरुद्ध छ ।
यी केही उदाहरण मात्र हुन् । प्रहरीमा उच्चपदस्थले गर्ने गल्तीमा हत्तपत्त छानबिन नै हुँदैन, छानबिन भए पनि कारबाही अलपत्र पर्ने गरेको छ । पहुँचवाला प्रहरी अधिकारीलाई गम्भीर प्रकृतिको गल्तीमा पनि कारबाही हुँदैन । केहीलाई कारबाही हुँदा सामान्य विभागीय कारबाही मात्रै हुने गरेको छ । प्रहरीभित्र ‘सानालाई ऐन, ठुलालाई चैन’ प्रवृत्ति रहेको आरोप लाग्ने गरेको छ ।
प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले भने उच्च दर्जाका प्रहरीमाथि पनि विभागीय कारबाही हुँदै आएको दाबी गरे । विभागीय कारबाहीमा दर्जा नभई उनीहरूको कसुर हेरिने उनको भनाइ छ । ‘हाम्रो तथ्यांकमा सिनियर अधिकृत पनि धेरै कारबाहीमा परेका छन्,’ उनले भने, ‘प्रहरीविरुद्ध अनुशासनलाई बलियो बनाउन आन्तरिक शुद्धीकरणको काम भइरहेका छन्, यसमा शून्य सहनशीलताकै नीति छ ।’
चालू आर्थिक वर्षमा सात सय पाँचजना प्रहरीमाथि विभागीय कारबाही हुँदा इन्स्पेक्टरभन्दा माथिल्लो दर्जाका चारजना मात्र छन् । गत आर्थिक वर्षमा एक हजार नौ सय ३२ प्रहरी कारबाहीमा परेकामा इन्स्पेक्टरभन्दा माथिल्लो दर्जाका ११ जना थिए ।
थाती रहेका फाइल अघि बढाउन आइजिपी केसीको निर्देशन
प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले विगतमा छानबिन भएर कारबाही थाती रहेका फाइल अघि बढाउन सुपरिवेक्षण महाशाखा र कानुन महाशाखालाई निर्देशन दिएका छन् । उजुरी परेर वा घटना सार्वजनिक भएपश्चात् कारबाही प्रक्रिया सुरु भएर पनि टुंगोमा नपुग्दा संगठनको मर्यादा र छविमा आँच पुग्ने तथा जस्तोसुकै गल्ती गर्दा पनि सजाय नहुने सन्देश जाने भन्दै आइजिपी केसीले कारबाही अघि बढाउन निर्देशन दिएका हुन् । प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले पनि कारबाहीसम्बन्धी थाती रहेका फाइल अघि बढ्न लागेको बताए । ‘विगतमा छानबिन भएर कारबाही टुंगिन बाँकी फाइल अघि बढ्दै छन्,’ उनले भने, ‘शुद्धीकरणको मामिलामा शून्य सहनशीलताको नीति कार्यान्वयन हुन्छ ।’ नयाँपत्रिकाबाट
