काठमाण्डाैः आफ्नै सहकर्मी शिक्षिकालाई अश्लील म्यासेज पठाएको आरोपमा मोरङको भगवती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक विरुद्ध प्रहरीमा उजुरी परेको छ ।
सहायक प्रधानाध्यापक दुर्गाप्रसाद पौडेलले सहकर्मी शिक्षिकालाई सामाजिक सञ्जालमार्फत् अश्लील म्यासेज पठाएर हैरानी दिएको भन्दै उजुरी परेको हो ।
गत सोमबार पिडित पक्षले पत्रकार सम्मेलन गर्दै सामाजिक सञ्जाल फेसबुकमा निज शिक्षिकालाई अश्लिल म्यासेज लेखेको घटना सार्वजनिक गरेका हुन्।
त्यस्तै विद्यालय समयमा पनि पौडेलले अनेकन प्रलोभन देखाउँदै आएको र ‘मलाई कसैले केही गर्न सक्दैन, झन् तिम्रो कुरा त तिम्रो परिवारले पनि पत्याउँदैन’ भन्दै थर्काउने गरेको तर प्रत्येक वाक्यांशमा शिक्षिकाले असहमति र आपत्ति जनाउदै आएकी थिइन् ।
शिक्षक नै दुराचारी भएपछि विद्यार्थीले कस्तो शिक्षा लिन्छन् भन्ने प्रश्न गर्दै पौडेल विरुद्ध प्रहरीमा जाहेरी दिएका शिक्षिकाका बुबाले निज शिक्षाकले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। तर निज पौडेल भने अहिलेसम्म फरार रहेकाले कानूनी उपचार खोज्न बाध्य भएको शिक्षिकाका बुबाको भनाइ छ ।
उलाबारी–७ वस्ने पौडेल विरूद्ध अभद्र व्यवहार गरेको मुद्दा दर्ता भएकोले निजको खोजी कार्य तीव्र रूपका भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुभाष राईले जनाएका छन् ।
सहायक प्रधानाध्यापक रहेका पौडेलले १५ दिनका लागि भनेर २२ कात्तिकमा बिरामी बिदा लिएको तर ७ मङ्सिरमा हाजिर हुनुपर्ने भएपनि हालसम्म सम्पर्कमा नआएको भगवती माविका प्रधानाध्यापक प्रेमप्रकाश कोइरालाले बताए छन्।
मोरङ मिक्लाजुङ–६ स्थायी घर भएका पौडेल यसअघि पनि स्थानीय एक महिलासँग यौनकाण्डमा मुछिएका थिए सो घटना सामाजिक रूपमा मेलमिलापमै टुङ्गिएपछि उनी स-परिवार सहित उर्लाबारीमा बसाइ सरेको स्थानीयले बताइएका छन्।
