सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

२०८३ मंग्सिर ५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर, ५ मङ्सिरः नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर ६ गतेदेखि प्रारम्भ हुने भारत भ्रमण सफल र उपलब्धिमूलक बनाउन राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आज  विज्ञप्ति जारी गर्दै दुई राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपालको सर्वोत्तम राष्ट्रिय हितमा भ्रमण उपयोगी हुनुपर्ने बताउनुभएको छ ।

सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने उद्देश्यले विषयविज्ञको सहभागितामा विशेष आन्तरिक विमर्श गरेको उल्लेख छ ।

जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा छलफल गरिएको कांग्रेसले जनाएको छ ।

नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, सार्वभौमिक समानता र राष्ट्रिय हितका आधारमा सुदृढ बनाउन कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै वक्तव्यमा दुई देशबीचको सम्बन्धका सम्भावना, अवसर र व्यावहारिक जटिलताबारे पार्टीसँग लामो संस्थागत अनुभव र स्पष्ट बुझाइ रहेको जनाइएको छ ।

प्रधानमन्त्री राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जान लाग्नुभएको उल्लेख गर्दै कांग्रेसले राष्ट्रिय हितका विषयमा व्यापक परामर्श र साझा समझदारी निर्माण हुन सके अन्तरराष्ट्रिय मञ्चमा नेपालको अडान बलियो हुने जनाएको छ ।

नेपालको राष्ट्रिय हित र मित्रराष्ट्र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता स्पष्ट र अटल रहेको कांग्रेसको भनाइ छ ।

कांग्रेसले विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको ठोस समाधान र पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माणमा भ्रमण केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।

वरिष्ठ उपसभापति शर्माले प्रधानमन्त्री शाहको भ्रमणको पूर्ण सफलताको कामना गर्दै भ्रमणको सफलतासँग नेपालको सफलता जोडिएको उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव

एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै