सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेकपा मसालको इतिहास बोकेको पत्रिका “हाँक”को जुँगा लडाँइ गम्भिर मोडमा

२०७६ भाद्र १७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (मसाल) को गत भाद्र ५ गते सम्पन्न पोलिटब्यूरो बैठकले हाँक साप्ताहिकका प्रकाशक एवं सम्पादक गोविन्दसिंह थापालाई अनिश्चित कालका लागि पार्टीको साधारण सदस्यताबाट समेत निस्कासित गर्ने निर्णय गरेपश्चात सो पार्टीमा हाँक पत्रिका प्रकाशनको जुँगा लडाँइ शुरू भएको छ ।

भाद्र ११ गते उक्त पत्रिकाका सम्पादकले पार्टीको प्रतिष्ठा बोकेको पत्रिका रोक लगाउने निर्णय बिरूद्ध जारी गरेको प्रेश विज्ञप्ती तथा त्यसको प्रतिक्रियामा गोविन्दसिंह थापाले जारी गरेको विज्ञप्तीमा प्रकट गरिएका विचारहरूबारे सोही पार्टीका प्रवक्ता रामप्रकाश पुरीले एक विज्ञप्ती जारी गरी प्रष्ट पार्ने कोशिस गरेको दावी गरेका ।  पार्टी प्रवक्ता पुरीद्वारा जारी प्रेश विज्ञप्ती जस्ताको तस्तैः

नेपाल कम्युनिष्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय

स्पष्टीकरण

नेकपा (मसाल) ले गोविन्दसिंह थापालाई अनिश्चित कालको लागि पार्टी सदस्यताबाट निष्काशित गर्ने निर्णय गरेपछि त्यसको प्रतिक्रियामा उहाँले जारी गरेको विज्ञप्तीमा प्रकट गरिएका विचारहरूबारे प्रकाश हाल्नका लागि यो स्पष्टीकरण जारी गरिएको छ ।

हाँक साप्ताहिक बन्द गरिने निर्णय भएपछि कैयौँ शुभचिन्तकहरूले दुःख र चिन्ता प्रकट गरेका छन् र त्यसलाई पुनः प्रकाशन गर्ने कुरामा जोड दिएका छन् । त्यो स्वागतयोग्य विचार हो । तर गोविन्दसिंह थापाले त्यसलाई पहिले झैं उहाँको स्वामित्वमा नै राखेर प्रकाशन गर्ने कुरामा जोड दिएकोले नै हामीले त्यसबाट अलग हुन बाध्य हुनु परेको हो । तर हामीले त्यसलाई बन्द गर्ने निर्णय गरे पनि कानुनी रूपमा त्यसको स्वामित्व उहाँमा भएकाले उहाँले त्यसलाई प्रकाशन गर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सक्दैनौँ । तर त्यसरी त्यो प्रकाशन भएपनि पहिले जस्तै त्यो पार्टीको प्रकाशन हुने छैन र उहाँको व्यक्तिगत प्रकाशन हुनेछ । त्यो अवस्थामा हामीले युगज्योति प्रा.लि.का तर्फबाट पहिल्यै मासिक रूपमा प्रकाशित हुने गरेको र लामो समयदेखि बन्द भएको युगदर्शनलाई साप्ताहिकका रूपमा प्रकाशित गर्ने निर्णय गरेका छौँ । त्यसरी अब पहिले हामीले प्रकाशित गर्ने गरेको हाँक साप्ताहिकको निरन्तरता हुनेछ । त्यसलाई सहयोग गर्न हामीले हाँकका सबै गाहक, पाठक र शुभचिन्तकहरूसित अपिल गर्दछौँ ।

हाम्रो पार्टी भूमिगत भएको हुनाले पार्टीको नामबाट पत्रिका निस्कन सक्दैन्थ्यो । शहिद शोभखर धनन्जयको निधनपछि उहाँकी पत्नीले हाम्रो पार्टीलाई हस्तान्तरण गरेको हाँक साप्ताहिक त्यो बेलाका हाम्रो पार्टीका केन्द्रीय सदस्य गोविन्दसिंह थापामाथि विश्वास गरेर उहाँका नाममा दर्ता गराएका थियौँ । अहिले उहाँले विश्वासघात गरेकोले हामीले उहाँमाथि कडा कारवाही गर्नु परेको छ । पार्टीमा सबैभन्दा कडा कारवाही भनेको कुनै पार्टी सदस्यलाई अनिश्चित कालको लागि सदस्यताबाट निश्कासित गर्नु हो । अन्य सबै कारवाहीहरू पार्टीभित्र नै हुन्छन् र तिनीहरूबारे सार्वजनिक रूपमा जानकारी गराइन्न । तर अनिश्चितकालका लागि निष्काशित गरेपछि सार्वजनिक रूपमा पनि जानकारी गराउन सकिन्छ ।

तर त्यसको अर्थ अनिश्चित कालको लागि पार्टी सदस्यताबाट निष्काशित गरेपछि सबैबारे सार्वजनिक रूपमा नै जानकारी गराउनु अनिवार्य छैन । कतिपय अवस्थामा गल्तीको प्रकृति वा सम्बन्धित पार्टी सदस्यको स्तर हेरेर अनिश्चित कालको लागि पार्टीबाट निष्काशित गरेपछि पनि त्यसबारे सम्बन्धित् क्षेत्र वा जिल्लामा मात्र त्यससम्बन्धी जानकारी सीमित राख्न वा त्यहीँसम्म मात्र सार्वजनिक गर्न सकिन्छ र राष्ट्रिय स्तरमा नै त्यसबारे जानकारी गराउन आवश्यक हुँदैन । गोविन्दसिंह थापाले पार्टीको सम्पत्ति हाँकलाई व्यक्तिगत सम्पत्तिको रूपमा राख्ने कार्य राष्ट्रिय स्तरको नै सार्वजनिक महत्वको विषय भएको हुनाले त्यसबारे उहाँमाथि भएको कारवाहीलाई केन्द्रीय स्तरमा नै सार्वजनिक गर्नु आवश्यक हुन गएको थियो ।

गोविन्दसिंह थापाले आफ्नो स्वामित्वमा उक्त पत्रिका सञ्चालन गर्ने विषयमा उहाँको कतै विरोध नभएको र प्रा.लि. वा कम्पनीमा लैजाने निर्णयसित मात्र उहाँको विरोध भएको लेख्नुभएको छ । सत्य के हो त्यसबारे उहाँको नै विज्ञप्तीबाट प्रष्ट हुनेछ । उहाँले आफ्नो विज्ञप्तीमा लेख्नुभएको छ, “महामन्त्री कामरेडले विज्ञप्तिमा लेख्नुभएको छ, ‘गोविन्दसिंह थापाले पहिलेकै जस्तो गरेर हाँकलाई प्रकाशित गर्न तयार भएको तर प्रा.लि.मा लैजान तयार नभएको भन्ने उल्लेख गर्नु भएको छ । मैले प्रा.लि.मा हाँकलाई लैजानु हुन्न भनेर अस्वीकार गरेकै हो । यो पत्रिका पार्टीकै निर्देशनमा मेरो नाममा दर्ता भएको हो ।”

माथिको वहाँको भनाइबाट तीनवटा कुराहरू प्रष्ट हुन्छन् । प्रथम, त्यो पत्रिका पार्टीको निर्देशनमा उहाँको नाममा दर्ता भएको थियो । त्यसबाट त्यो पत्रिका उहाँको व्यक्तिगत सम्पत्ति नभएको कुरामा कुनै शङ्का रहेन । त्यो पत्रिका पार्टीको निर्देशनमा उहाँको नाममा दर्ता भएको हुनाले र उहाँको व्यक्तिगत सम्पत्ति नभएको हुनाले पार्टीले त्यो पत्रिकाको उहाँको नामको दर्तालाई हटाई अन्य कुनै व्यक्तिको नाममा दर्ता गराउन वा प्रा.लि.को मातहतमा लैजान निर्देशन दिएपछि उहाँले त्यसअनुसार गर्नु पर्दथ्यो । पहिले अन्यत्र कतिपय पार्टी सदस्यहरूका नाममा भएका पार्टीको सम्पत्तिबारे पार्टीले निर्देशन दिएपछि त्यसअनुसार नै हस्तान्तरण गर्ने गरिएको छ । उहाँले त्यसो गर्न अस्वीकार गर्नु गम्भीर प्रकारको अनुशासनविहीनता भएको कुरा प्रष्टछ ।

द्वितीय, त्यो पत्रिकालाई पहिले जस्तै निकाल्ने कुरामा उहाँको कुनै विरोध छैन तर त्यसलाई प्रा.लि.मा लैजाने कुरासित मात्र उहाँको विरोध छ । त्यसको अर्थ हो, त्यो पत्रिकालाई उहाँले सँधै नै आफ्नो व्यक्तिगत स्वामित्वमा राखिरहन चाहनुहुन्छ । पार्टीको सम्पत्तिलाई सँधै व्यक्तिगत स्वामित्वमा राखिरहन खोज्नु गम्भीर प्रकारको गल्ती हो ।

तृतीय, उहाँको तर्क के छ भने त्यो पत्रिकालाई प्रा.लि.मा लैजाने भनेको कम्पनीमा लैजानु भनेको हो । त्यसैले उहाँले प्रा.लि.मा लैजान विरोध गर्नुभएको हो । त्यसरी उहाँको तर्कअनुसार यो पत्रिका उहाँको स्वामित्वमा रहँदासम्म पार्टीको पत्रिका हुन्छ, तर प्रा.लि.मा गयो भने त्यो पत्रिका पार्टीको पत्रिका रहन्न, त्यसैले त्यो पत्रिका पार्टी बाहिर नजाओस् भनेर नै उहाँले प्रा.लि.को विरोध गर्नुभएको हो भन्ने उहाँको दावी छ । बताइरहनुपर्ने आवश्यकता छैन कि यो पार्टीको सम्पत्तिमाथि कब्जा गर्ने आफ्नो गलत प्रकारको कारवाहीमाथि ढाकछोप गर्ने प्रयत्न मात्र हो ।

गोविन्द सिंह थापाले त्यो पत्रिका उहाँको व्यक्तिगत सम्पत्ति नभएको कुरा स्पष्ट शब्दमा स्वीकार गर्नु हुन्छ । उहाँले लेख्नुहुन्छ  “यो मेरो सम्पत्ति होइन, यो क्रान्तिकारी श्रमजीवी वर्गको साझा सम्पत्ति हो, म ता संरक्षक मात्र हुँ ।” पार्टीले उहाँको नाममा त्यो पत्रिका दर्ता गराएको थियो । तर उहाँलाई त्यो पत्रिकाको संरक्षक कहिले पनि बनाएको थिएन । अहिले पार्टीले व्यक्तिगत रूपमा उहाँको नाममा दर्तालाई खारेज गरेर प्रा.लि.को रूपमा त्यो पत्रिकालाई सामूहिक रूपमा लैजाने निर्णय गरेपछि उहाँले स्वघोषित रूपमा आफूलाई त्यसको संरक्षक भएको बताउनु भएको छ । उहाँले जीवनभरि त्यो पत्रिकालाई त्यही रूपमा राख्ने बताउनु भएको छ । उहाँको जीवनपछि त्यो पत्रिकाको हक उहाँको परिवारमै जानेछ । उहाँले आफै त्यो पत्रिका उहाँको सम्पत्ति नभएको र क्रान्तिकारी श्रमजीविवर्गको साझा सम्पत्ति भएको बताउनु हुन्छ, तर त्यो साझा सम्पत्तिलाई व्यक्तिगत र पारिवारिक सम्पत्ति बनाउने प्रयत्न गर्दै हुनुहुन्छ । उहाँको त्यो कार्य कति सही वा गलत छ ? कसैले पनि सजिलैसित त्यो कुराको अनुमान गर्न सक्दछ ।

उहाँको विज्ञप्तीमा भनिएको छ, “पार्टी केन्द्रमा दक्षिणपन्थी विचार हावी भएपछि पत्रिकालाई प्रा.लि.मा दिने प्रस्ताव आएको थियो, तर त्यसलाई मैले स्वीकार गरिन । यो पार्टीको पत्रिका हो पार्टीबाट नै चलाउनुपर्छ भन्ने मेरो मान्यता हो…. कुनै कम्पनीको जिम्मा लगाएर होइन, प्रकाशनबाट पार्टी पन्छिन हुँदैन भन्ने मेरो मान्यता हो ।” उहाँको यो भनाइमा केही प्रकाश हाल्नुपर्ने आवश्यकता छ । प्रथम, उहाँले पार्टीमा दक्षिणपन्थी विचार हावी भएपछि पार्टी केन्द्रमा त्यो पत्रिकालाई प्रा.लि.मा लैजाने प्रस्ताव आएको बताउनु भएको छ । महाधिवेशन पहिले नै पार्टीको केन्द्रीय समितिको २०७५ श्रावण १८, अर्थात महाधिवेशनभन्दा करिब १० महिना पहिले बसेको केन्द्रीय समितिको बैठकमा त्यो प्रस्ताव आएको थियो । त्यसबारे कुनै बहुमत वा अल्पमत नभईकन सर्वसम्मतिले त्यो प्रस्ताव पारित भएको थियो । त्यसबाट पार्टी केन्द्रमा दक्षिणपन्थी विचार हावी भएपछि त्यो पत्रिकालाई प्रा.लि.मा लैजाने प्रस्ताव आएको थियो भन्ने विचार पूरै असत्य भएको कुरामा कुनै शङ्का रहन्न ।

द्वितीय, थापाजीले प्रा.लि.मा लैजाने प्रस्तावलाई स्वीकार नगरेको बताउनु भएको छ, तर त्यो कुरा सत्य होइन । उहाँले त्यो प्रस्तावमा कुनै मतभेद प्रकट गर्नुभएको थिएन र त्यो प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । त्यो निर्णयअनुसारपछि थापाजीको अध्यक्षतामा हाँक प्रा.लि.लाई चलाउनका लागि पाँच सदस्यीय समिति बनेको थियो । जसमा अन्य सदस्यहरूमा क. सुरेश, क. प्रविण, क. उदासी र एम.क्षेत्री हुनुहुन्थ्यो । त्यो निर्णय गरेपछि छिट्टै महाधिवेशन हुने भएकोले त्यसपछि नै त्यो निर्णयलाई कार्यान्वयन गर्ने समझदारी भएको थियो । तर महाधिवेशनपछि त्यो निर्णयलाई कार्यान्वयन गर्न छलफल हुँदा उहाँले पहिले जस्तै गरेर, अर्थात उहाँको नामको हाँकको दर्तालाई कायम नै राखेर प्रकाशनलाई निरन्तरता दिने कुरामा जोड दिनुभयो र हाँकमाथिको उहाँको व्यक्तिगत स्वामित्व हटाउने वा प्रा.लि.मा लैजाने कुराको विरोध गर्नु भयो ।

गोविन्दसिंह थापाले यो प्रश्न गम्भीरतापूर्वक उठाउनु भएको छ, “म पार्टी केन्द्रसित सोध्न चाहन्छु मैले पार्टीलाई पत्रिका नदिएको कसरी भयो ? सहिद शोभाखर धनन्जय र उहाँकी पत्नीले हामीलाई हस्तान्तरण गरेको क्रान्तिकारी विचार बोकेको पत्रिकालाई पार्टीले चलाउनुपर्छ कि कम्पनीलाई जिम्मा दिएर पन्छिनु पर्छ ? मैले महामन्त्रीलाई अहिले पनि भन्न चाहन्छु पत्रिका बन्द गर्ने निर्णय पुनर्विचार गर्नुहोस्, पत्रिका पार्टीले नै चलाउनु पर्छ अझै केही बिग्रेको छैन । पार्टीबाट मलाई निष्काशन गरेपनि केही फरक पर्दैन तर पत्रिका पार्टीले उही रूपमा चलाउनु पर्दछ भन्ने मेरो मान्यता छ ।” उहाँको पत्रिका “उही रूपमा चलाउनु पर्दछ” भन्नुको अर्थ प्रष्ट छ ः त्यसमाथिको उहाँको व्यक्तिगत स्वामित्वलाई कायम राखेर नै त्यसलाई चलाउनु पर्दछ र त्यसो गरेमा उहाँको कुनै असहमति छैन ।

पार्टी केन्द्रीय समितिले पत्रिकालाई प्रा.लि.मा लैजानुपर्छ भन्नुको अर्थ त्यसको प्रकाशनबाट पन्छिन खोजेको भन्ने थापाजीको आरोप सत्य छैन । प्रा.लि.मा लैजानु भन्नुको अर्थ उहाँ एकजनाको नाममा भएको दर्तालाई खारेज गरेर सामूहिक स्वामित्वमा लैजाने भन्ने हो । अन्यत्र पनि व्यक्तिको नाममा राखिएका सम्पत्तिमा कतिपय ठाउँमा विश्वासघात हुने गरेको छ । गोविन्दसिंह थापाको व्यवहारबाट पनि त्यो कुरा छर्लङ्ग भएको छ । त्यसैले हामीले पार्टीको व्यक्तिगत स्वामित्व भएको सम्पत्तिलाई सिधै पार्टीको स्वामित्वमा वा कुनै न कुनै प्रकारको सामूहिक स्वामित्वमा लैजाने नीति अपनाएका छौँ । नेकपा (मसाल) भूमिगत भएको र दर्ता पनि नभएको हुनाले कानुनी रूपमा त्यसको नाममा कुनै सम्पत्ति राख्न मिल्दैन । त्यसैले हामीले पहिले गोविन्दसिंह थापाको नाममा रपछि प्रा.लि.का रूपमा हाँकलाई राख्ने निर्णय गरेका थियौँ । तर जसको नाममा राखे पनि त्यसको वास्तविक स्वामित्व पार्टीकै हुन्छ र त्यसको सञ्चालन पनि पार्टीले नै गर्दछ । त्यही नीतिअनुसार हाँकलाई पनि प्रा.लि. बनाएर सामूहिक स्वामित्वमा लैजाने निर्णय गरिएको हो । पार्टीको सम्पत्ति एकजनाको नाममा मात्र राख्नुभन्दा एकजनाभन्दा बढी व्यक्तिहरूको स्वामित्वमा राख्दा बढी सुरक्षित हुन्छ भन्ने हाम्रो सोञ्चाइ छ । त्यसैले एकजना व्यक्तिको नाममा भएको सम्पत्तिलाई सामूहिक स्वामित्वमा राख्ने नीति पार्टीले अपनाउँदै आएको छ । त्यही नीतिअनुसार हाँकमा पनि एकजनाको स्वामित्वलाई हटाएर प्रा.लि.द्वारा सामूहिक स्वामित्व कायम गर्ने निर्णय गरिएको थियो । त्यसरी प्रा.लि. बनाएपछि पार्टीले त्यसको प्रकाशन पार्टी बाहिरको कुनै कम्पनीलाई दिन्छ भन्ने आरोप निराधार भएको कुरा प्रष्ट छ ।

गोविन्दसिंह थापाले सरकारलाई सहिदहरूको विवरण दिंदा क. शोभाखर धनन्जयको नाम नदिएकोमा आपत्ति प्रकट गर्नु भएको छ । त्यसरी उहाँको नाम शहिदहरूको सुचिमा नदिनुको पछाडिको कारण के हो त्यसबारे केही प्रकाश पार्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले क. शोभाखर धनन्जय, क. गङ्गाधर र क. जलजलालाई पनि शहिद मानेको छ । उहाँहरूलाई सहिद मान्नुको पछाडि कुनै पार्टी सदस्यले जीवनको अन्तसम्म पेशेवर भएर पार्टी र क्रान्तिका लागि काम गरेको छ भने त्यसलाई शहिद मान्नु पर्छ भन्ने धारणाले काम गरेको छ । त्यस अर्थमा नै उहाँहरूलाई शहिद मानिएको हो । तर सरकार र दुश्मनको हमलाबाट मृत्यु भएका व्यक्तिहरूलाई नै शहिद मान्नु पर्दछ भन्ने सोञ्चाइ पनि छ । त्यसरी हत्या गरिएका व्यक्तिहरूको नाम नै शहिदको सुचिमा दिइएको थियो तर क. गङ्गाधरको आसाममा डायरीया भएर मृत्यु भएको थियो । क. जलजलाको दिल्लीमा बस दुर्घटनामा मृत्यु भएको थियो । क. शोभाखर धनन्जयलाई पनि कुनै दुश्मनले हत्या गरेको भन्ने कुनै जानकारी अँझैसम्म प्राप्त भएको छैन । हामीलाई प्राप्त जानकारीअनुसार उहाँको पनि दिल्लीमा बस दुर्घटनामा नै मृत्यु भएको थियो । त्यसरी मृत्यु भएका कामरेडहरूको नाम शहिदहरूको सुचीमा सरकारलाई दिनु सही हुँदैनथ्यो र हामीले दिएका थिएनौँ । विभिन्न दुर्घटना वा रोग लागेर निधन भएका व्यक्तिहरूलाई शहिद मान्ने हाम्रो निर्णय सही भएको छ वा छैन त्यसबारे थप अध्ययन वा छलफल हुनुपर्छ भन्ने कुरा हाम्रो केन्द्रीय समितिमा उठेको छ । त्यसबारे अँझैसम्म हामी कुनै निष्कर्षमा पुगेका छैनौँ ।

भदौ ११ गते क. शोभाखर धनन्जयको निधन भएको दिन भएको हुनाले त्यो दिन प्रकाशित हाँकमा उहाँको स्मृतिमा केही नलेखिएकोबारे पनि गोविन्दसिंह थापाले विरोध जनाउनु भएको छ । हामीले हाँकको नीति, व्यानर न्यूज वा सम्पादकीयबारे केही निर्देशन दिए पनि त्यसका सबै सामाग्रीहरू हेर्ने वा राख्ने जिम्मा सम्पादक वा त्यो पत्रिकाको काम गर्ने साथीहरूको नै हुन्छ । त्यो दिन क. धनन्जयको स्मृतिमा पहिलेका वर्षहरूमा झैं सामग्री किन दिइएन त्यो कुरा सम्बन्धित सम्पादक वा त्यो पत्रिका हेर्ने सम्बन्धित सम्पादकले नै जान्नुपर्ने कुरा हो । त्यसैले उहाँको स्मृतीमा त्यो दिन सामग्री प्रकाशित नगरिएकोमा हामीलाई दुःख छ । तर क. धनन्जयको सम्पत्ति वा उहाँले पार्टीलाई जिम्मा लगाएको नासोलाई व्यक्तिगत सम्पत्ति बनाउन चाहने व्यक्तिले उहाँको स्मृतिमा हाँकमा कुनै सामग्री प्रकाशित नगरिएकोमा रोष प्रकट गर्नुको कुनै अर्थ छैन ।

गोविन्दसिंह थापाले आफूमाथि भएको अनुशासनको कार्वाहीको चर्चा गर्दै लेख्नु भएको छः “यो सिलसिला यहीँ मात्र सकिने छैन । अँझै थुप्रै (क्रान्तिकारी) कामरेडहरूलाई अनुशासनको नाममा सफाया अभियान चलाइने छ । भित्री पार्टी सङ्घर्षको यो अवस्थामा सबै कामरेडहरूलाई अनुशासित धैर्यता र संयमका साथ अगाडि बढ्न र पार्टीलाई ऐक्यवद्ध तथा सुदृढ पार्नका लागि म सबै कामरेडहरूलाई पुनः अपिल गर्दछु ।” पार्टीका नीति, विधानमा अनुशासनको उल्लङ्घन गरेपछि अनुशासनको कार्वाही एउटा निरन्तर चलिरहने प्रक्रिया हो । डा. केशरजङ्ग रायमाझीदेखि अहिलेसम्म बारम्बार त्यस प्रकारका कार्वाहीहरू हुने गरेका छन् । पार्टीको सम्पत्तिलाई व्यक्तिगत सम्पत्ति बनाउन खोजेको कारणले कारवाहीमा परेका व्यक्तिले “थुप्रै क्रान्तिकारी कामरेडहरूलाई अनुशासनको नाममा सफाया अभियान चलाइने छ” भनेर आफू पनि क्रान्तिकारी भएको हुनाले अनुशासनमा परेको भनेर सावित गर्ने प्रयत्न गर्नु साँच्चिकै हास्यास्पद कुरा हो । वास्तवमा उहाँ क्रान्तिकारी भएकाले वा उहाँको फरक मत भएकाले होइन, उहाँले पार्टीको सम्पत्तिमाथि व्यक्तिगत स्वामित्व कायम गर्ने गम्भीर गल्ती गरेको हुनाले नै उहाँमाथि कारवाही गरिएको हो । त्यो गल्तीलाई उहाँले क्रान्तिकारीता वा फरक मतको आडमा ढाकछोप गर्ने प्रयत्न गर्दै हुनुहुन्छ । वास्तवमा महाधिवेशनको बेलामा वा भित्री दुई लाइनको सङ्घर्षको बेलामा फरक मत राख्ने थुप्रै कामरेडहरू पार्टीको केन्द्रीय समितिमा वा विभिन्न स्तरका समितिहरूमा जिम्मेवार पदमा हुनुहुन्छ । त्यसकारण उहाँमाथि कारवाही गरिएको कारणले उहाँहरू सबैलाई सफाया गरिने छ भनेर आफ्नो पक्षलाई सही र न्यायपूर्ण सावित गर्न प्रयत्न गर्नु उहाँको प्रवृत्ति कति निम्न स्तरको छ बुझ्न गाह्रो पर्दैन ।

उहाँको भनाइको त्योभन्दा हास्यास्पद कुरा यो छ ः पार्टीबाट अनिश्चित कालका लागि निष्काशित भइसकेका व्यक्तिले सबै कामरेडहरूसित यो अपिल गर्नु भएको छ ः “भित्री सङ्घर्षको यो अवस्थामा सबै पार्टी कामरेडहरूलाई अनुशासित धैर्यता र एकताका रूपमा अगाडि बढ्न पार्टीलाई एकतावद्ध तथा सुदृढ पार्नका लागि म सबै कामरेडहरूलाई पुनः अपिल गर्दछु ।” पार्टीबाट अनिश्चित कालका लागि निष्काशित भइसकेको व्यक्तिले भित्री पार्टी सङ्घर्षको कुरा गर्नुको कुनै अर्थ छैन । त्यसका साथै उहाँले एकतावद्ध र सुदृढ हुनका लागि जुन अपिल गर्नुभएको छ, त्यो अपिल कसलाई गरिएको हो ? यो स्पष्ट छ कि उहाँको त्यो अपिलको जबाफमा उहाँसित पार्टी विरोधी, पार्टी बाहिरका, पार्टीमाथि हमला गर्ने व्यक्तिहरू वा अराजक तत्वहरू नै ‘ऐक्यवद्ध’ वा ‘सुदृढ’ हुनेछन् ।

यस सिलसिलामा एउटा अर्को कुरा पनि प्रष्ट गर्नुपर्ने आवश्यक छ । कानुनी रूपमा त्यो पत्रिका उहाँको नाममा दर्ता भएको हुनाले उहाँको स्वीकृत विना त्यसलाई प्रा.लि.मा लैजान वा अरू कसैले प्रकाशित गर्नु सम्भव छैन । त्यसै गरेर उहाँले त्यसलाई आफै चलाउन चाहेमा वा अरू कसैद्वारा चलाउन चाहे पनि त्यसलाई बन्द गर्नु पनि हाम्रा लागि सम्भव छैन । त्यसैले हामीले पहिले दर्ता भएको “युगज्योति प्रा.लि.”द्वारा युगदर्शन साप्ताहिक प्रकाशित गर्ने निर्णय गरेका छौँ । कतिपय साथीहरूले हाँकलाई पुनः प्रकाशन गरेमा राम्रो हुने विचार प्रकट गर्नु भएको छ । गोविन्दसिंह थापाले एकपटक विश्वासघात गरिसकेको हुनाले त्यो पत्रिकालाई उहाँको व्यक्तिगत स्वामित्वमा राखेर प्रकाशन गर्नु सही नहुने कुरा प्रष्ट छ । उहाँले आफ्नो व्यक्तिगत स्वामित्व समाप्त गरेर पार्टीले तोकेका व्यक्तिहरूको प्रा.लि. मातहतमा त्यसलाई प्रकाशन गर्न मन्जुर गरेमा हामीलाई हाँक साप्ताहिकलाई नै नियमित प्रकाशित गर्न सके खुशी लाग्ने थियो । गोविन्दसिंह थापाले त्यसलाई पुनः विचार गरे त्यो राम्रो कुरा हुने थियो । किनभने सहिद शोभाखर धनञ्जयको त्यो पत्रिका उहाँकी पत्नीले पार्टीलाई हस्तान्तरण गर्नुभएको थियो, व्यक्तिगत रूपमा उहाँलाई हैन । त्यो पत्रिकालाई आफ्ना व्यक्तिगत सम्पत्ति बनाउन खोज्नु उहाँको प्रयत्न निन्दनीय छ ।

हामीलेमाथि नै लेखिसकेका छौँ, हाम्रो पार्टीले कानुनी वाध्यताका कारणले आफ्नातर्फबाट त्यसलाई बन्द गर्ने वा त्यसबाट अलग हुने निर्णय गरे पनि कानुनी रूपले उहाँसँग स्वामित्व भएका कारणले उहाँले, जस्तै कि हामीलेमाथि पनि उल्लेख गर्‍यौँ, उहाँले एक वा अर्को प्रकारले त्यसलाई सञ्चालन गर्दै जाने सम्भावनालाई अस्वीकार गर्न सक्दैनौँ । त्यसरी त्यो पत्रिका चले पनि त्यसले हाँकको पहिलेको प्रतिष्ठा र गौरवलाई कायम राख्न सक्ने छैन । बढीभन्दा बढी पार्टीमाथि हमला गर्नको लागि पार्टी विरोधीहरूको हातमा एउटा हतियार बन्नेछ । किनभने प्रथम, कानुनी रूपमा नभएपनि वास्तविक रूपमा पार्टीको स्वामित्वमा चलेको पत्रिका पार्टीसित विश्वासघात गरेको कारणले कारवाहीमा परेका एकजना व्यक्तिको स्वामित्वमा चल्नेछ । द्वितीय, हाँकको निधारमा विश्वासघातको कालो टिका लागेको हुनेछ । त्यसैले गर्दा गोविन्दसिंह थापाले त्यो हाँकलाई चलाए पनि त्यो पहिलेको गौरवमय र लामो इतिहास बोकेको हाँक हुने छैन ।

पार्टीले आफ्नो इतिहासमा विभिन्न कारण वा परिस्थितिवश आफ्ना कैयौँ प्रकाशनहरूलाई बदल्दै वा एकको ठाउँमा अर्कोलाई प्रकाशित गर्दै आएको छ । पहिले पार्टीले जनमतलाई प्रकाशित गर्दथ्यो ।पछि पृष्ठभूमि, महिमा, योजना आदिलाई प्रकाशित गर्ने गरेको थियो । त्यही क्रममापछि हामीले हाँक प्रकाशित गर्न थालेका थियौँ । अहिले पुनः हाँकका ठाउँमा युगदर्शन प्रकाशित गर्ने निर्णय गर्नु परेको छ । जुन पत्रिकालाई प्रकाशित गरे पनि पार्टीको नीति र पार्टी नै मुख्य हुन्छ र व्यक्ति मुख्य हुँदैन । कुनै पत्रिकाको महत्व त्यसको पछाडि पार्टी वा पार्टीको राजनीति भएको हुनाले नै हुन्छ । त्यसैले ने.क.पा.(मसाल)को क्रान्तिकारी राजनीतिक लाइनलाई अगाडि बढाउन युगदर्शन साप्ताहिकले महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने कुरामा हामीले पूरा विश्वास गरेका छौँ ।

गोविन्दसिंह थापालाई पार्टीबाट निष्काशित गरेपछि वा हामीले हाँकको ठाउँमा युगदर्शनलाई साप्ताहिकको रूपमा प्रकाशित गर्ने निर्णय गरेपछि सामाजिक सञ्जाल वा अनलाइनहरूमा हाँकलाई बन्द गरेकोमा विरोधका स्वरहरू पनि प्रकट हुने गरेका छन् तर के स्पष्ट हुनुपर्दछ भने हामीले हाँकलाई बन्द गरेको होइन तर पार्टीको सम्पत्तिमाथि थापाले आफ्नो व्यक्तिगत स्वामित्व कायम राख्ने कुरा गरेको हुनाले नै हामीले त्यसबाट अलग हुने निर्णय गरेको हो । पार्टीको सम्पत्तिमाथि व्यक्तिगत स्वामित्व कायम गर्ने प्रयत्न अत्यत निम्नस्तरको अनैतिक कार्य हो । तर उहाँले त्यसो गर्दा पनि कैयौँ व्यक्तिहरूले उहाँको पक्ष लिने वा उहाँको नाममा नै हाँकलाई निरन्तरता दिने कार्यलाई समर्थन गरेको पनि पाइन्छ । पार्टी विरोधीहरूले त्यसो गर्नु अस्वभाविक कुरा होइन । उनीहरूले हाँक पार्टीबाट अलग भएपछि त्यसलाई उपयोग गरेर पार्टीको क्रान्तिकारी राजनीति वा पार्टीमाथि हमला गरेर पार्टीलाई कमजोर पार्न चाहन्छन् । पार्टीमा हुने कुनै पनि मतभेद वा फूटलाई उनीहरूले जहिले पनि पार्टीका विरुद्ध प्रयोग गर्ने प्रयत्न गर्दछन् । त्यसै गरेर बुर्जुवा वा प्रतिक्रियावादीहरूका लागि पार्टीको वा कुनै सार्वजनिक सम्पत्तिलाई व्यक्तिगत गराउनु पनि उनीहरूको नैतिकताका विरुद्धको कुरा हुँदैन । तर यस सन्दर्भमा आश्चर्य र दुःखको कुरा के छ भने आफूलाई कम्युनिस्ट वा क्रान्तिकारी बताउने कतिपय व्यक्तिहरूले गोविन्दसिंह थापाको त्यस प्रकारको व्यवहारलाई प्रशंसा गरिहरेका छन् वा त्यो कार्यमा, यहाँसम्म कि उहाँले विश्वासघात गरेर वा गम्भीर प्रकारको अनुशासनविहीनताको प्रदर्शन गर्न खोजेको हाँकलाई पनि समर्थन वा सहयोग गर्न खोजेको देखिन्छ । अहिले जुन प्रकारको अवस्थामा, पार्टीको सम्पत्तिलाई व्यक्तिगत सम्पत्ति बनाएर, गोविन्दसिंह थापाले हाँकलाई प्रकाशित गर्ने प्रयत्न गर्दै हुनुहुन्छ, त्यसलाई सबै पार्टी विरोधी शक्तिहरूले आफ्ना निहित स्वार्थहरूको पूर्तिका लागि प्रयोग गर्नेछन् । खास गरेर आठौँ महाधिवेशनले पारित गरेको क्रान्तिकारी लाइनका विरुद्ध उनीहरूले त्यसलाई अधिकतम रूपमा प्रयोग गर्ने प्रयत्न गर्नेछन् । त्यसरी का. धनन्जयले क्रान्तिकारी उदेश्यका साथ शुरु गरेको हाँक अब गोविन्दसिंहको हातमा पुगेर ने.क.पा. (मसाल) को लामो, गौरवपूर्ण इतिहास तथा आठौँ महाधिवेशनको क्रान्तिकारी सिद्धान्त र राजनीतिक लाइनका विरुद्ध हमला गर्नका लागि हतियारका रूपमा पतन हुने छ । तर हामीलाई विश्वास छ, का. धनन्जयको क्रान्तिकारी सपना र हाँकको उचाइ र गौरवपूर्ण इतिहासलाई युगदर्शनले लगातार र झन् उच्च रूपमा अगाडि बढाइरहने छ ।

मितिः २०७६ भाद्र १७

रामप्रकाश पुरी

प्रवक्ता

यो पनि पढ्नुहोला ? हाँक साप्ताहिकका प्रधान सम्पादक/प्रकाशक गोविन्दसिंह थापाले भाद्र ११ गते जारी गरेको प्रेश विज्ञप्ती जस्ताको तस्तै ।

प्रेस वक्तव्य

ने.क.पा.(मसाल) को २०७६ भाद्र ५ गते बसेको पी.वी.को बैठकले “गोविन्दसिंह थापालाई पार्टी सदस्यताबाट समेत अनिश्चितकालका लागि निष्काशित गरेको” कुरा हिजो भाद्र १० गते जारी पार्टीको वक्तत्वबाट मलाई जानकारी हुन आएको छ । यो मेरो लागि कुनै अप्रत्यासित र अनपेक्षित विषय होइन, लामो समयदेखि पार्टीभित्र क्रान्तिकारी वामपन्थी र दक्षिणपन्थी विचारका बीचमा चलेको तीब्र संघर्षको सिलसिलामा आठौं महाधिवेशन भन्दा पहिले धेरै कमरेडहरु निलम्वन र निष्काशनमा पर्नु भएको थियो भने महाधिवेशन पछिको अवस्थामा पहिलो प्रहार ममाथि गरिएको छ ।

यसबाट देश विदेश रहने कुनै पनि कमरेडहरु नआत्तिन, उत्तेजित नहुन र अनुशासित ढंगले काम गर्न म हार्दिक अपिल गर्दछु । किनकि यो भित्री पार्टी संघर्ष निरन्तर चलिरहने कुरा हो ।

हाम्रो पार्टीको आठौं महाधिवेशनमा अल्पमतको र बहुमतका विचारमा व्यापक छलफल भएको थियो । त्यो बेला म अल्पमतको क्रान्तिकारी वामपन्थी विचारको पक्षमा उभिएको थिँए । म बहुमतको दक्षिणपन्थी लाइनमा उभिएको भए सायद म निष्कासित हुने अवस्था आउने थिएन । महाधिवेशनमा प्राविधिक बहुमत जुटाएर दक्षिणपन्थी विचार पारित गराउने महामन्त्रीले महाधिवेशनपछि पनि अल्पमत पक्षका कमरेडहरुलाई एक एक गरेर अनेक प्रकारले प्रताडित गरिराख्नु भएको छ र महाधिवेशनदेखि नै अल्पमतले पार्टी फुटाउछ भनेर हल्ला गरिरहनु भएको छ । तर अल्पमतले उहाँले भने जस्तो गरी पार्टीलाई फुटाउने कहिल्यै प्रयत्न गरेन ।

आफूले भविष्यवाणी गरेजस्तो नभएपछि महामन्त्री यतिबेला अतालिनु भएको छ । महाधिवेशनपछि त्यो संघर्षलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोंचाई महामन्त्रीमा कहिल्यै देखिएन । एकातिर सिद्धान्ततः पार्टीभित्र दुई लाइन संघर्ष एउटा जीवित पार्टीभित्र चलिरहने कुरा हो भनेर स्वीकार गर्ने अर्कोतिर, पार्टीभित्र एकमनावाद लाद्न खोज्ने, यो दार्शनिकरुपले अधिभूतवादी र व्यवहारमा सामन्तवादी पद्धति हो । यो पद्धतिललाई मैले मात्र होइन, पार्टीभित्रका हजारौं पार्टी सदस्यहरुले विरोध गर्दै आउनु भएको छ ।

यो अधिभूतवाद, सामन्तवाद र प्राधिकारवादको विरुद्धको भित्री पार्टी संघर्षलाई रोक्नका लागि मलाई कार्वाही गर्दैमा रोकिन्छ भन्ने सोंच्नु सूर्यलाई हत्केलाले छेक्नु सरह हुनेछ । फरक विचारलाई सम्मान नगर्ने, कार्यकर्ताहरुलाई उचित जिम्मेवारी नदिने भिन्न विचारको सवालमा छलफल नगर्ने र जनवादी केन्द्रियताको सही प्रयोग नगरेर सबैलाई कार्वाही गरेर नै तह लगाउन सकिन्छ भन्ने सोंच्नु लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत कुरो हो । यसले एकातिर पार्टीलाई विसर्जनवाद तर्फ धकेल्दै छ भने अर्कोतर्फ क्रान्तिकारी विचारलाई योजनाबद्ध किसिमले छिन्नभिन्न पारिंदैछ ।

महामन्त्री कमरेडले विज्ञप्तिमा लेख्नुभएको छ गोविन्दसिंह थापाले “पहिले कै जस्तो गरेर हाँकलाई प्रकाशित गर्न तयार भएको तर प्रालिमा लैजान तयार नभएको” भन्ने उल्लेख गर्नु भएको छ । मैले प्रालिमा हाँकलाई लैजानु हुन्न भनेर अस्वीकार गरेकै हो । यो पत्रिका पार्टीकै निर्देशनमा मेरो नाममा दर्ता भएको हो । यो पत्रिकाको स्थापना शहिद शोभाखर धनञ्जय (सरोज शर्मा) ले गर्नुभएको थियो । कैयौं पटक पंचायती तानाशाही व्यवस्थाको आक्रमणको शिकार बन्न पुग्यो । त्यसको बाबजुद पनि क्रान्तिकारी विचारलाई निरन्तर जनतामा प्रवाह गर्दै आएको यसको गौरवपूर्ण इतिहास छ । पार्टी केन्द्रमा दक्षिणपन्थी विचार हावी भएपछि पत्रिकालाई प्रालिलाई दिने प्रस्ताव आएको थियो । तर मैले त्यसलाई स्वीकार गरिन । यो पार्टीकै पत्रिका हो । पार्टीबाटै चलाउनुपर्छ भन्ने मेरो मान्यता हो ।

यहाँसम्म हाँकको यात्रालाई निरन्तरता दिन र अहिले “क” वर्गमा स्थापित गर्नमा हजारौं कार्यकर्ता र शुभचिन्तकहरुको खुन पसिना भिजेको छ र अहिले पनि पटक पटक कार्यकर्ता र शुभचिन्तकहरुको सहयोगबाट चलिरहेको छ । यो अवस्थामा कुनै कम्पनीको जिम्मा लगाएर हाँक प्रकाशनबाट पार्टी पन्छिनु हुँदैन भन्ने मेरो मान्यता हो । हाँकको प्रकाशक र सम्पादक म भए पनि मबाट कुनै प्रकारको निर्देशन जाने गरेको छैन । त्यसको पछिल्लो उदाहरण वर्ष ३६ अंक ४० मा मेरो विरुद्ध महामन्त्रीको वक्तव्य तथा जिम्मेवार कमरेडहरुका लेखहरु प्रकाशित हुनुले पनि त्यो कुरा स्पष्ट पार्दछ । मैले पार्टीलाई पत्रिका नदिएको कसरी भयो ? म पार्टी केन्द्रसित सोध्न चाहन्छु, शहिद शोभाखर धनञ्जय र उहाँकी पत्नीले हामीलाई हस्तान्तरण गरेको क्रान्तिकारी विचार बोकेको पत्रिकालाई पार्टीले चलाउनु पर्छ कि कम्पनीलाई जिम्मा दिएर पन्छिनुपर्छ ? एउटा क्रान्तिकारी विचार बोकेको पत्रिकालाई कम्पनीलाई संचालन गर्न दिनु अनुशासन विहीनता पनि नहुने र अनैतिक पनि नहुने । तर पार्टीको हातको पत्रिका कम्पनीलाई दिन नखोज्नु कसरी अनुशासनविहीन र अनैतिक हुन्छ ? मैले महामन्त्रीलाई अहिले पनि भन्न चाहन्छु, पत्रिका बन्द गर्ने निर्णय पुनर्विचार गर्नोस, पत्रिका पार्टीले नै चलाउनु पर्छ अझै केही बिग्रेको छैन । पार्टीबाट मलाई निष्कासित गरेपनि केही फरक पर्दैन तर पत्रिका पार्टीले उही रुपमा चलाउनु पर्छ भन्ने मेरो मान्यता छ ।

यो मेरो सम्पत्ति होइन, यो क्रान्तिकारी श्रमजीवी वर्गको साझा सम्पत्ति हो । म त संरक्षक मात्र हो । म ४० वर्षदेखि सुगर रोगबाट पीडित छु । अहिले म दौडधुप गर्न र सक्रिय हुन सक्दिन । यो अवस्थामा यदि पार्टी केन्द्रले बन्द गर्छ भने त्यसलाई चुप लागेर टुलुटुलु हेरेर बस्न पनि सकिन्न । म त्यसलाई निरन्तरता दिन बाध्यताले प्रयास गर्नुपर्दछ । यो पत्रिका सबै क्रान्तिकारी साथीहरुको साझा सम्पत्ति भएको हुनाले यसलाई बन्द भएको देख्न सक्नु हुनेछैन भन्ने कुरामा पनि म पूर्णत, विश्वस्त छु ।

अन्तमा एउटा महत्वपूर्ण कुराको उल्लेख गर्न चाहान्छु । क. महामन्त्रीले शोभाखर धनञ्जयलाई शहिद भनेर लेख्नु भएको छ । त्यो देख्दा मलाई खुशी लागेको छ । शहिदलाई शहिद भन्दा खुशीलाग्नु स्वाभाविक हो । तर गणतन्त्र स्थापनापछि सरकारले सबै पार्टीसित शहिदहरुको सिफारिस माग गरेको बेला उहाँले शोभाखर धनञ्जयलाई हाम्रो पार्टीको शहिदको सूचीमा राख्नु भएन । आज बडो दुःखको साथ यो कुरा मैले उठाउनु परेको छ । जब पत्रिका बन्द गर्नुपर्यो, यतिबेला मलाई “शहिद शोभाखर धनञ्जयमाथि विश्वासघात गरेको” भनेर आरोप लगाउनु भएको छ । “विश्वासघात” कसले गरेको छ ? स्वतः स्पष्ट छ । अर्को कुरा पनि जोड्न चाहान्छु, आज भदौ ११ गते शोभाखर धनञ्जय, नयाँ दिल्लीमा नेपाली एकता मासिक पत्रिका बेलारोडमा बिक्री गर्न जाँदा पडयन्त्रमूलक तथा रहस्यमय ढंगबाट हत्या गरिएको थियो । प्रत्येक वर्ष हाँक साप्ताहिकमा शहिद शोभाखर धनञ्यको स्मृतिमा लेख तथा समाचार छापिन्थे । आजको अंकमा शहिद धनञ्जयको स्मृतिमा एक शब्द पनि नलेख्ने र त्यही स्मृति दिवसको अवसरमा उहाँले स्थापना गरेको हाँक साप्ताहिकलाई सधैका लागि बन्द गर्ने पार्टी केन्द्रले शहिद भनेर गोहीका आँसु चुहाउनुको कुनै तुक छैन ।

हाँकका सम्पूर्ण शुभचिन्तक, पाठक, लेखक, स्तभकार, सम्वाददाता, सहयोगदाता तथा विज्ञापनदाताहरुसित म के अनुरोध गर्छु भने क. मोहन विक्रम सिंहले हाँक बन्द गरे पनि हाँक बन्द हुनेछैन । यसले निरन्तरता पाउने छ । “हाँकलाई प्रालिमा लैजान नदिएको” भन्ने विवाद बहाना मात्र हो मूल कुरो महामन्त्रीको दक्षिणपन्थी विचारलाई पार्टीमा स्थापित गर्न नसकेको आक्रोशपूर्ण अभिव्यक्ति हो । यो सिलसिला यही मात्र रोकिने छैन । अझै थुपै्र क्रान्तिकारी कमरेडहरुलाई अनुशासनको नाममा सफाया अभियान चलाइनेछ । भित्री पार्टी संघर्षको यो अवस्थामा सबै कमरेडहरुलाई अनुशासित, धैर्यता र संयमका साथ अगाडि बढ्न र पार्टीलाई एकताबद्ध तथा सुदृढ पार्नका लागि म सबै कमरेडहरुलाई पुनः अपिल गर्दछु ।

मितिः २०७६ भदौ ११

गोविन्दसिंह थापा

प्रधान सम्पादक/प्रकाशक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सडक खन्दा विस्फोट

जिबी राईको स्वर्णलक्ष्मीले पैसा फिर्ता दिएनन्, आमाको दाँत फेर्न नपाए पछि पीडित रविकाेमा धाउँदै

टीकापुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कोशीमा सरकार र पहिचान पक्षधरबीच ३ बुँदे सहमति

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच दोस्रो चरणको वार्ता सुरु

रौतहट प्रहरीले बरामद अवैध सामान कारबाहीका लागि भन्सार कार्यालयमा बुझायो

बालुवाटार पुगेका लघुवित्तपीडितले मागे गभर्नर अधिकारीको राजीनामा

शोक बिदा

ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्रमा खाली गर्न महानगरको आग्रह {पत्रसहित}

लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन्: प्रधानमन्त्री दाहाल

भारतीय कुखुरा नेपाल भित्रिँदा नेपाली किसान मारमा

अछाम जिप दुर्घटनामा एक बालकको ज्यान गयो