काठमाण्डौः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले निर्वाचन आयोगमा उप–निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थानीय निकाय, प्रदेश र संघमा रिक्त स्थानमा यही मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सबै प्रक्रिया पूरा गर्ने जिम्मा पार्टी महासचिव विष्णु पौडेललाई दिने लगायतका निर्णय गरेको हो ।
बुधबारको बैठकमा पार्टी एकताका बाँकी कामबारे कुनै पनि छलफल नभएपनि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी बारे बैठकमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
उक्त बैठकमा केन्द्रीय आयोग, प्रवास कमिटी, केन्द्रीय बिभागका सदस्यहरु सहित एकताको बाँकी कामलाई पुर्णता दिने कार्यसूची रहेपनि अर्को बैठकका लागि सारिएको छ ।
