काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ कमिटीले बर्दिवास लगायतका घटनामा बरिष्ट नेता लगायत पार्टीका केन्द्रिय सदस्यहरूको प्रत्यक्ष संलग्नता देखिएको भन्दै कारबाहीको माग गर्दै अध्यक्ष र महासचिवलाई प्रतिवेदन बुझाएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णुप्रसाद पौडेललाई संयुक्त रूपमा बुझाइएको प्रतिवेदनमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र मातृका यादव लगायत पाँच केन्द्रीय सदस्यहरूलाई तत्काल छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।
प्रतिवेदनमा भनिएको छ “जनप्रतिनिधिको प्रशिक्षण स्थगित गराउने, पूर्वघोषित ६ वटा जिल्लाको सपथग्रहण स्थगित गराउने र बर्दिबास घटनासम्म आईपुग्दा वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी समिति सदस्य मातृका यादवको प्रत्यक्ष संलग्नता भेटिएको भन्दै दुबैलाइ आवश्यक छानबिन गरी कारबाही गर्नुपर्ने” माग गरिएको छ । यसैगरी सोही घटनामा झन्डै आधा दर्जन केन्द्रीय सदस्यहरू प्रत्यक्ष जोडिएको भन्दै निष्कासनसम्मको माग गरिएको छ ।
रौतहट बाहेक प्रदेश नम्बर २ का अन्य ८ वटा जिल्लाका अध्यक्ष र सचिवसहित प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल ललगायतले उक्त प्रतिवेदन नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेललाई भेटेर बुझाएका हुन् ।
