
काठमाण्डौ: सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका छन् ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको सभाहल सिंहदरबारमा बिहिवार अपरान्ह ४ बजे संचारमन्त्री गोकुल प्रसाद बास्कोटाले मन्त्रीपरिषद्ले गरेको निर्णयहरु सार्वजनिक गरेका हुन् । असोज ७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु :-
१. नेपाल ट्रस्ट पहिलो संशोधन नियमावली २०७६ स्वीकृत गरिएको छ ।
२. मोरङ जिल्ला प्रशासनबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ ।
३. एसिड आक्रमणबाट घाइते भएकी जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापन जनही ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
४. चितवन जिल्ला भरतपुर उपमहानगरपालिका वडा नम्बर १६ वडाध्यक्षको रिक्त पद पूर्तिका लागि २०७६ मंसिर १४ गते शनिबार निर्वाचन हुने गरी मिति तोक्ने र सो जानकारी निर्वाचन आयोगलाई दिने निर्णय गरेको छ ।
५. नेपाली नागरिकहरू नारायणप्रसाद अर्जुन र महासेनानी रामजी थापालाई विदेशी मुलुकबाट पदक ग्रहण गर्ने स्वीकृति दिएको छ ।
६. प्रहरी अतिरिक्त महानिरीक्षक सरुवा गर्ने निर्णय गरिएको छ ।
७. उपरथी प्रभुराम शर्माको पदावधि एक वर्ष दुई महिना १५ दिन थप गर्ने निर्णय गरिएको छ ।
८. नेपाल प्रज्ञा प्रतिष्ठान र इजरायल हिन्दु लेखक सन्देश वाङ्मय आदानप्रदान तथा सहकार्य गर्ने कार्यक्रम सम्बन्धी प्रस्तावित समझदारी पत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपतिलाई स्वीकृति दिईएको छ ।
९. नेपाल सरकार र अस्ट्रेलिया सरकारबीच हवाई सेवा सम्झौता प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।
१०. शहरी पूर्वाधार विकास नियमको निगमको स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृति दिएको छ ।
११. राजकीय अथिति गृह निर्माण तयार गरिएको गुरुयोजना स्वीकृत गरिएको छ ।
१२. पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवलाई भारतको चण्डिगढ स्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचार सम्बन्धित बिल बमोजिमको रुपैयाँ नयाँदिल्ली स्थित नेपाली राजदूतावासबाट भुक्तानी दिने निर्णय गरिएको छ ।
१३. सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्देशिका २०७५ स्वीकृत गरिएको छ ।
१४. एकल महिला सुरक्षा कोष संचालन पहिलो संशोधन नियमावली २०७६ स्वीकृत गरिएको छ ।