काठमाण्डौं: नेपाली काँग्रेसले विजयादशमी, दीपावली, छठ र नेपाल सम्वतको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
आईतबार अपरान्ह करिब तीन घण्टासम्म भएको चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, निजामती कर्मचारीहरू र पूर्व विशिष्ट पदाधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुखहरु, आमसञ्चार माध्यम, नागरिक समाज र सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सर्वसाधारणलाई शुभकामना दिन सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, समाजबादी पार्टी संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, सुवासचन्द्र नेम्वाङ, रघुजी पन्त लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।
पार्टी स्रोतका अनुसार ५० हजारलाई निम्ता दिइएको चियापान कार्यक्रममा व्यवस्थापन गर्न करिब तीन सय स्वयम्सेवक परिचालन गरिएको थियो । अझ बढी स्वयंसेवक भिआइपी कार्यक्रमस्थलमा खटिएका थिए ।
चियापान कार्यक्रममा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरू पनि सहभागी भएका थिए ।
शुभकामना एवं चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेससँग लोकतन्त्रको लागि सँगै लडेको स्मरण गर्दै सम्बन्ध राम्रो भएको बताएका थिए ।
प्रधानमन्त्री ओलीले भने, ‘साढे चार दशकभन्दा बढी लामो समयदेखिको लोकतन्त्रको सहयात्राले हाम्रो बीचमा एउटा गहिरो समझदारी र मित्रता कमसेकम लोकतन्त्रको लागि सँगै लड्ने र लोकतन्त्रको मूल्य मान्यतामा तलमाथि पर्न नदिने प्रतिबद्धता छ । त्यसकारण हाम्रो सम्बन्ध विगत ४५ बर्षदेखी निरन्तर राम्रो छ ।’
नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चियापान जस्ता कार्यक्रममा हुने शीर्ष राजनीतिक भेटघाटले मुलुकका ठूला समस्यालाई वार्ता, छलफल र सहमतिद्धारा समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
यसैगरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा असम्भव भन्ने चिज नभएको भन्दै भविष्यमा राजनीतिले कोल्टे फेर्न सक्ने बताएका थिए । त्यसैगरी उनले दिवंगत नेता गिरजाप्रसाद कोइरालासंगको १२ बुँदे सम्झौतादेखि शान्ति सम्झौता र त्यसयता संविधान जारी गर्नेदेखि सरकार सञ्चालनसम्मको सहकार्यको व्याख्या गर्दै राजनीतिले फेरीपनि कोल्टे फेर्न सक्ने संकेत गरेका हुन् ।
सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल भएको दाबी गरेका छन् ।
त्यसैगरी नेकपा बरिष्टनेताद्धय माधवकुमार नेपाल, झलनाथ खनालले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल भएको दाबी गर्दै शुभकामना सन्देश दिएका थिए ।