तपाईँहरूले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइसक्नुभयो, यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ ?
हामीले महाधिवेशनको प्रक्रिया अगाडि बढाइसकेको छौँ । यो महाधिवेशनबाट पहिलो, समग्र राजनीतिक समीक्षा गरेर हाम्रो पोजिसन क्लियर गर्छौँ । दोस्रो, अहिलेको समय सापेक्ष नीति निर्माणको काम गर्छौँ र नयाँ नीतिहरूको हामी घोषणा गर्छौँ । तेस्रो, पार्टी नेतृत्व भनेको हामीले टाउको मात्र होइन समग्र केन्द्रीय समिति नै परिवर्तन गर्छौँ । चौथो, विधानलाई सामयिक संशोधन परिमार्जन गर्छौँ।
यी चारवटा विषय उल्लेख गरेरै हामीले विशेष महाधिवेशन लिखित रूपमा दर्ता गरेका छौँ। विशेष महाधिवेशनको मूल प्रयोजन यही चारवटा विषय हो।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व, नयाँ नीति भन्नुभयो। संस्थापन पक्षले यसलाई अस्वीकार गरिराखेको छ। यो महाधिवेशनले नयाँ नेतृत्व ल्याउँदा पार्टीमा दुइटा सभापति त हुँदैन होला ?
पार्टीको महाधिवेशन गरेर महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएर आयो भने त्यो दुई वटा सभापति अथवा अहिलेको सभापति, पछिल्लो सभापति भन्ने नै भएन नि। महाधिवेशनले जो सभापति बनाउँछ त्यही सभापति नै पार्टीको सभापति हुन्छ।
संस्थापन पक्षले यो महाधिवेशनले चयन गरेको सभापतिलाई स्वीकार्छ ?
अब विधानमा भएको व्यवस्थालाई म व्यक्तिले मान्छु कि मान्दिन भन्ने कुराले अर्थ राख्दैन। यो विधिको शासनमा त जति तिमीमाथि छौँ भनेर सोच ठिक छ, तर तिमी भन्दा अझ माथि चाहिँ कानुन हुन्छ । भनेपछि पार्टीको लागि कानुन भनेको त पार्टीको विधान हो।
पार्टीको विधान भन्दा माथि त कोही पनि छैन। पार्टी विधानमा व्यवस्था भएको कुरालाई मैले मान्छु, मैले मान्दिन भन्ने कुरा नै एउटा लोकतान्त्रिक पार्टी भित्र सान्दर्भिक पनि होइन। लोकतान्त्रिक विचार बोक्ने मान्छेले बोल्ने सवाल पनि होइन।
अब विधानमा भएको व्यवस्था अनुसार झन्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि साथीहरूले विशेष महाधिवेशनलाई आह्वान गर्नुभयो। त्यसलाई समर्थन गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। अब यो सबै स्थितिलाई महसुस गरेर केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेर विशेष महाधिवेशनलाई आफ्ना अपनत्व लिन सक्छ।
अहिले पनि दुइटा पक्ष अझै विवाद भन्दा अलग छन् भन्ने लाग्छ। एउटा केन्द्रीय कार्यसमितिले निर्णय यो विषयमा गरिसकेको अवस्था छैन। अर्को स्वयम् पार्टी सभापतिले आफ्नो कुनै पोजिसन बनाएको अवस्था छैन। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य सकियो भनेर बोल्यो। तर त्यो केन्द्रीय कार्यसम्पादनको बैठकको निर्णयलाई केन्द्रीय कार्यसमितिले परिमार्जन गर्न सक्ने हैसियत राख्छ।
अर्को केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति शेरबहादुर देउवा कुनै हिसाबले पनि जोडिनुभएको छैन। उहाँ अझै पनि अलग्गै हुनुहुन्छ। यो त कार्यवाहक सभापतिको अध्यक्षता भएको बैठकले गरेको निर्णय हो।
त्यसकारण अब केन्द्रीय कार्यसमिति र सभापति स्वयम् अग्रसरतामा यो विशेष महाधिवेशन सबैको एकताको र रूपान्तरणको विशेष महाधिवेशन बनाउने कुराको सम्भावना अझै छ। त्यो सम्भावना टरेको छैन।
मलाई विश्वास छ, राजनीति त्यही दिशामा जान्छ। त्यो भएपछि विशेष महाधिवेशनका सबैको साझा विशेष महाधिवेशन हुन्छ। अहिले पनि हामी आपसमा संवादका लागि तयार नै छौँ। त्यो किसिमको संवाद भएर एउटा साझा निष्कर्षमा हामी पुगेको अवस्थामा फेरी यी विभिन्न सवालहरू स्वतः समाधान हुन्छ। थप समस्यामा पार्टी जाँदैन।
तपाईँले संवादको लागि खुला छौँ भन्दै गर्दा सभापतिले त महामन्त्रीद्वयलाई भेट्नै नचाहेको भन्ने छ ?
बाहिर मिडियामा कसले के भन्यो त्यो सबै अनुमानका कुरा भए। अब अनुमानलाई नै अन्तिम सत्य त भन्न हुँदैन, सकिँदैन। त्यसकारण उहाँहरू बस्ने, छलफल गर्ने र समग्र बृहत्तर पार्टी हितका लागि एउटा साझा सहमतिमा पुग्ने सम्भावना म प्रशस्त अहिले पनि देख्छु।
विशेष महाधिवेशनमा जाँदै गर्दा नयाँ नेतृत्वको रूपमा अघि सार्ने व्यक्त गगन थापा नै कि अरू कुनै व्यक्ति हुन्छ ?
सहमति बन्ने कुरो आउँदा त सहमतिले जे तय हुन्छ, त्यही हुन्छ। अब सहमति भएन भने र विशेष महाधिवेशनले नै निर्णय गरेर जानुपर्ने अवस्था भयो भने स्वाभाविक रूपले निर्वाचनको प्रक्रियामा जान्छ। अब निर्वाचनको प्रक्रियामा जाने भनेपछि उम्मेदवारी राख्ने स्वतन्त्रता साथीहरूलाई हुन्छ। अनि त्यो मध्यमा जसले ५० भन्दा बढी मत ल्याउनु हुन्छ उहाँ नै सभापति बन्नुहुन्छ।
विश्वप्रकाश जीले विशेष महाधिवेशनबाट होस् या नियमित महाधिवेशनबाट होस् अबको सभापति गगनजी नै बन्नुपर्छ भनेर सार्वजनिक रूपमा प्रस्ताव गरिसक्नुभएको छ। त्यसैले नयाँ सभापतिमा गगन थापाकै सम्भावना छ।
त्यसो भए संस्थापन पक्ष सहमत नभए पनि पनि आह्वान भएको विशेष महाधिवेशनले गगन थापालाई सभापति घोषणा गरेर जान्छ ?
अहिले म एक जनाले कसरी भन्न सक्छु र? महाधिवेशन प्रतिनिधिहरू आफ्नो धारणा राख्न आफैँमा स्वतन्त्र हुनुहुन्छ। यो त अब हल भित्रको साझा सङ्कल्पको कुरा हुन्छ। अब तपाइको साझा सङ्कल्प भएन भने बहुमतको सङ्कल्प हुन्छ। त्यसकारण अब यसको विषयमा विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढेपछि मात्र त्यही प्रक्रियाले निर्धारण गर्ने कुरो हुन्छ।
तर अब सामान्य अहिले रुझान, खोजी, चाहना सबैतिरको देशभित्र, बाहिरका पार्टीका सदस्य, शुभेच्छुक, मतदाताहरूको पनि चाहना हेर्दा अहिले सबैको पहिलो रोजाइमा गगन थापाजी नै देखिनुभएको छ।
तपाईँहरूले विशेष महाधिवेशनको एजेन्डा अघि सार्दै गर्दा इतर पक्षको नेतृत्व गरिरहनुभएको शेखर कोइराला पनि महामन्त्रीहरूसँग टाढिनुभएको हो ?
अब व्यक्तिगत रूपमा त सबै आदरणीय नेता हुनुहुन्छ। हाम्रो व्यक्तिगत रूपमा कसैलाई केही भन्नु छैन। तर एजेन्डाको हिसाबले भन्ने हो भने पार्टीलाई नयाँ नीति, नेता, कार्यक्रम सहित रूपान्तरण गरेर चुनाव अगाडि नै चाहे नियमित होस् चाहे विशेष होस्, महाधिवेशन गरेर पार्टी रिफर्म गरेरै जानुपर्छ भन्ने कुरामा हस्ताक्षर अभियान चल्यो। उहाँ (शेखर कोइराला) ले हस्ताक्षर अभियानमा उहाँको सहयोग रहेन। विपरीत कित्तामै उभिनुभयो।
अहिले पनि विशेष महाधिवेशनलाई सफल बनाउने भन्दा पनि यसले पार्टी विभाजन गर्छ, भनेर नकारात्मक प्रतिक्रियामा धेरै प्रवेश गरिराख्नु भएको देखिन्छ। हामीले विभाजन होइन, अझ रूपान्तरित र एकताबद्ध कांग्रेस बनाउनको लागि गरिरहेका छौँ। तर यसमा किन हो उहाँको क्रियाशीलता बन्न सकेको छैन।
अहिले उहाँ मात्र होइन अरू सबै नेताहरू पनि पार्टीलाई सुदृढ एकता बनाउने कुरामा एक ठाउँमा आउनुहुन्छ भन्ने अपेक्षा राख्छौँ। सुदृढ कांग्रेस बनाउनको लागि एजेन्डागत, नीतिगत ढङ्गले पनि रूपान्तरित गरेर मात्र सम्भव छ। पार्टी सभापतिज्यूलाई पनि कन्भिन्स गर्ने कुरामा उहाँको प्रयत्न रहोस् भन्ने हाम्रो चाहना हो।
त्यसो हुँदा पछिल्लो समय उहाँ सभापतिसँग नजिकिएको भन्ने तपाईँहरूको बुझाइ हो ?
ठ्याक्कै के हो उहाँले नै भन्नुहोला तर पछिल्लो चरणमा पार्टीलाई रूपान्तरित गरेर जाने र रूपान्तरणका एजेन्डासहित एकताबद्ध गर्ने भन्ने कुरामा उहाँको हामीले सहयोग पाएनौँ, उहाँप्रति हाम्रो गुनासो त्यही छ।
गगन थापाले पनि सभापतिको तयारी गरिराख्नु भएकाले एउटै कित्तामा उभिन नसक्ने निष्कर्षमा पुग्नुभएको हो कि ?
त्यो त फेरि संस्थापन पक्षका अरू-अरूले नेताहरूले पनि तयारी गर्दै हुनुहुन्छ भन्ने कुरा उहाँलाई थाहा होला। अर्को कित्तामा कोही पनि सभापति उम्मेदवार नरहेको, संस्थापन पक्षका सबैले उहाँलाई सहयोग गर्ने सहमति जनाउनुभएको अवस्था हो भन्ने मलाई लाग्दैन।
त्यसो भए विशेष महाधिवेशन पक्षधरको सभापतिको उम्मेदवार गगन थापा नै हो ?
जुन एजेन्डामा जसले नेतृत्व गर्छ, स्वाभाविक रूपले लिडर उही हुन्छ । अहिले विशेष महाधिवेशन गर्ने जुन भावना र लक्ष्य हामीले राखेका छौँ। त्यसको वैचारिक, पोलिटिकल सबै लिडरसिप गगनजीले प्रदान गरिराख्नुभएको छ।
विश्वप्रकाशजीले पनि साथ दिइराख्नुभएको छ। अब विश्वप्रकाश जी आफू स्वयम् सभापतिको अहिले आकाङ्क्षी हुनुहुन्न, उहाँले सार्वजनिक रूपमा बोलिसक्नुभएको छ। खुलेर गगनजीलाई नै प्रस्ताव गरिसक्नुभएको छ। त्यसो भएकाले स्वाभाविक रूपले उहाँकै सम्भावना प्रबल हुन्छ।
तपाईँले नयाँ नीति र नेतृत्वको कुरा गर्दैगर्दा विशेष महाधिवेशन आह्वान भएको मिति कांग्रेस विभाजनको मितिमा परिणत हुन्छ ?
हुँदैन, हुँदैन। बरु हिजो कतिपय जनताहरूको पनि कांग्रेसप्रति गुनासो थियो। कतिपय कुराको गुनासो गर्नुको जायज आधार पनि थियो। त्यसकारण अब जनताको गुनासोलाई सुनेर, गुनासोको समाधान पनि दिएर नयाँ ढङ्गले एकताबद्ध भएर हिँड्ने सङ्कल्प विशेष महाधिवेशनले गर्छ।
हिजोको कांग्रेस व्यक्तिका नाममा जोडिएको थियो होला। त्यसकारण व्यक्तिको लाइकिङ, डिसलाइकिङ पार्टीको स्तर, पोजिसन अथवा हैसियत बदलिन्थ्यो होला । अब एजेन्डामा केन्द्रित भएर कांग्रेस अगाडि बढ्ने हुँदा व्यापक समर्थन हुन्छ। हिजो कांग्रेसभित्र जोडिन नसक्नुभएकाहरूले पनि अपनत्व फिल गर्न सक्ने कांग्रेस बनेर यो विशेष महाधिवेशनबाट बाहिर आउँछ। नेपाल प्रेश
