विशेष महाधिवेशन पछिको एकदमै छोटो समयमा सभापतिज्यूले राजीनामा दिनुभयो । यसलाई तपाईँले कसरी लिनुभएको छ ?
उहाँले नैतिकताको पक्षबाट राजीनामा दिनुभएको हो भन्ने मलाई लाग्छ । हाम्रो राजनीतिमा नैतिकताको पक्षलाई ख्याल गर्ने र त्यस आधारमा आफूलाई अगाडि बढाउन हाम्रो सभापतिज्यूले कोसिस गर्नुभएको छ । गगन थापा नेपालको राजनीतिमा बेथितिविरुद्ध लडेर, सुधारको पक्षमा उभिएर आफूलाई जतिसुकै जोखिम हुँदा पनि ती विषयहरूलाई बोकेर अगाडि बढेको व्यक्ति हो । त्यस कारण त्यो पहिचानलाई सुरक्षित गर्ने सवालमा पनि यो राजीनामा जोडिएको छ भन्ने मलाई लाग्छ ।
एकदमै छोटो समयमा नेपाली कांग्रेस पार्टीलाई सच्याउने, सुधार्ने र राष्ट्रिय राजनीतिमा अग्रपंक्तिमा लानेगरी विशेष अधिवेशन भयो । त्यो अधिवेशनले उहाँलाई सभापति बनायो । पार्टीभित्र र राष्ट्रिय राजनीतिका सवालमा कांग्रेसले अंगीकार गरेका मुद्दा र एजेन्डाभित्र सुधार भएको छ । त्यो कुरा निर्वाचनमा हामीले आम मतदातालाई बुझाउन नसकेको कुरा स्वीकार गर्नुपर्ने स्थिति बनेको छ । त्यसैले त्यो सुधारको पक्षमा उभिँदा-उभिँदै परिणाम नआएको कारण उहाँले नैतिक पक्षबाट आफूलाई जिम्मेवार सम्झेर राजीनामा दिनुभएको हो भन्ने मलाई लाग्छ ।
तर विशेष अधिवेशनले उहाँलाई सभापति बनाउँदै गर्दा केही जिम्मेवारीहरू तोकेको स्थिति छ । त्यो जिम्मेवारी पूरा नगरीकन बाहिरिने कुरालाई चाहिँ पार्टी पङ्क्तिले कसरी हेर्छ, अब त्यो टुंगिनै बाँकी छ ।
राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने निर्णय लिन भोलि बैठक बस्दैछ । तपाईँलाई के लाग्छ, स्वीकृत हुनु पर्छ या हुनु हुँदैन ?
हाम्रो विधानमा सभापतिले उपसभापतिमार्फत केन्द्रीय समितिलाई राजीनामा पेश गर्न सक्ने व्यवस्था छ । त्यही व्यवस्था बमोजिम हाम्रो सभापतिले उपसभापति विश्वप्रकाश शर्मामार्फत राजीनामा पेश गर्नुभएको छ । अब यो केन्द्रीय कार्यसमितिको विवेकमा निर्भर हुने विषय हो । केन्द्रीय कार्यसमितिले यसउपर भोलि छलफल गर्नेछ । त्यो छलफलका आधारमा यसको टुंगो लाग्छ भन्ने मलाई लाग्छ ।
एकदमै छोटो समय सभापति भएर भूमिका निर्वाह गरेको र सुधारका निम्ति प्रशस्त विषयहरू ल्याएर त्यसलाई अगाडि बढाउन खोजेको यो अवस्थामा केन्द्रीय समितिले उहाँको राजीनामा स्वीकृत गर्दैन भन्ने मलाई लाग्छ । अर्को कुरा, विशेष अधिवेशनमार्फत निर्वाचित भएको यो कार्यसमितिलाई नियमित अधिवेशन गर्ने जिम्मेवारी पनि छ । त्यो जिम्मेवारी पूरा गर्ने सवालमा पनि सभापतिको उपस्थिति अनिवार्य हुन्छ । राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक परिस्थिति, विशेष अधिवेशनले सुम्पेको कार्यभार र नियमित महाधिवेशन गर्नुपर्ने जिम्मेवारीका कारणले केन्द्रीय कार्यसमितिले राजीनामालाई त्यस ढंगबाट लिन्छ भन्ने लाग्छ । स्वीकृत गर्दैन ।
निर्वाचनको परिणाम पछि नेपाली कांग्रेस अझ थप सच्चिएर, आन्तरिक व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाएर, राष्ट्रिय राजनीतिका एजेन्डाहरूलाई प्रष्ट बनाएर एउटा सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्ने स्थितिमा हामीले गगन थापाको नेतृत्वलाई नै निरन्तरता दिएर अगाडि बढ्नु पर्छ ।
अब शेरबहादुर देउवाको अनुहार बेचेर चुनाव जित्न सकिँदैन भन्ने निष्कर्ष निकालेर गगन थापाले विद्रोह गर्नुभयो । यो निर्वाचन परिणामबाट उहाँको विद्रोह र विशेष महाधिवेशनको औचित्य पुष्टि हुन नसकेको हो ?
यो विशेष महाधिवेशन विधिवत् ढंगबाट भएको हो । विधानले व्यवस्था गरे बमोजिम भएको हो । पार्टीको आन्तरिक जीवन सञ्चालनको विधि जुन निर्धारण भएको छ, त्यसअनुसार नै भएको हो । विशेष महाधिवेशनको सबै मापदण्ड पूरा भएको छ । नेतृत्व कसरी छनोट गरिन्थ्यो, त्यसको विधि व्यवस्था जसरी निर्धारण भएको थियो, त्यो सबै विधिवत् रूपमा भएको विषय हो ।
त्यसैले अब विशेष महाधिवेशनको औचित्य थियो र थिएन भन्ने विषयभन्दा पनि सभापतिको नेतृत्वमा नेपाली कांग्रेस पार्टी निर्वाचनमा गएको थियो । त्यो निर्वाचनमा हामीले आशाप्रद परिणाम प्राप्त गर्न सकेनौँ । नेतृत्वले नैतिकताको बोध गर्यो । नेपाली राजनीतिमा यो पहिलो पटक हो जस्तो लाग्छ मलाई । उहाँले त्यो विषयलाई विशेष ढंगबाट ख्याल गर्नुभयो ।
कतिपयले चाहिँ आशंका के गरेका छन् भन्दा गगन थापाले राजीनामा दिएको एउटा फिक्सिङ हो । ‘तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु’ भनेकोजस्तै ‘म राजीनामा दिन्छु तिमीहरू अस्वीकृत गर’ भन्ने खालको सेटिङ भएर नाटक मात्रै मञ्चन गरिएको त होइन ?
होइन, अहिलेको समयमा एउटा व्यक्तिले आफ्नो मनोमानी ढंगबाट अर्को एउटा व्यक्तिलाई पनि चलाउन सक्दैन । मान्छे विवेकी हुन्छ । एउटा इन्स्टिच्युसनको सेन्ट्रल कमिटीले कसैको स्वार्थका निम्ति काम गरिदिने भन्ने हुँदैन । पार्टीको भविष्य के गर्दा राम्रो हुन्छ, आजको घडीमा पार्टी कसरी अगाडि बढ्नुपर्छ, कसको नेतृत्व आवश्यक छ भनेर पार्टीको हितलाई नै मध्यनजर गरेर निर्णय गर्ने विषय हो । त्यसैले केन्द्रीय कार्यसमितिका सबै मान्छेलाई कन्भिन्स गरेर राजीनामा दिएको भनेर भन्न मिल्दैन । नेपाली कांग्रेस जस्तो पार्टीको सेन्ट्रल कमिटीमा कसैले कसैलाई कन्भिन्स गरेर आफ्नो अनुकूल बनाउन सक्ने स्थिति हुँदैन ।
उहाँले राजीनामा दिइसकेपछि पद सुरक्षित हुने स्थिति त हुँदैन । त्यो बहुसंख्यक केन्द्रीय सदस्यहरूको विवेकमा आधारित हुन्छ । उहाँले राजीनामा अस्वीकृत हुन्छ भनेर राजीनामा दिएको होइन । अस्वीकृत हुँदा पनि तयार भएर दिनुभएको हो । हामी कसैलाई जानकारी दिएर गरेको पनि होइन । उहाँले एकाएक राजीनामा दिनुभयो । राजीनामा दिइसकेपछि अहिले मैले व्यक्तिगत धारणा राख्ने विषय एउटा भयो, तर पार्टीको केन्द्रीय कार्यसमितिले आफ्नो विवेक प्रयोग गर्छ । के गर्दा पार्टीको हित हुन्छ, के गर्दा नियमित महाधिवेशन सजिलै गरी गर्न सकिन्छ र के गर्दा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन सकिन्छ, त्यस आधारमा निर्णय गर्छ ।
एउटा काल्पनिक प्रश्न, गगन थापाले विद्रोह नगरेको भए वा परिवर्तित कांग्रेस नबनेको भए अथवा शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेस चुनावमा गएको भए, तपाईँको विचारमा अहिलेको भन्दा खराब परिणाम आउँथ्यो होला कि योभन्दा राम्रो परिणाम आउँथ्यो ?
योभन्दा राम्रो परिणाम त आउँदै आउँदैनथ्यो । मलाई लाग्छ नेपाली कांग्रेसको पक्षमा जनमत आकर्षित गर्नका निम्ति जे गर्न सकिन्थ्यो त्यो गरियो । यो चुनाव मेरो विचारमा कांग्रेसका हामीहरूले गर्दा भएको हो । नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिले संसद पुनर्स्थापना होइन निर्वाचन भनेको छ । संसद पुनर्स्थापना हुँदा त म पनि सांसद रहिरहन्थेँ नि । तर त्यो लोभ गरिएन । जनताले फैसला गर्नुपर्छ, जनताले गरेको फैसला स्वीकार्य छ भनेर हामीले भन्यौँ । यस आधारमा चुनावी वातावरण हामीले बनायौँ ।
भलै परिणाम हाम्रो पक्षमा आएन, सबै चुनावमा हाम्रो पक्षमा परिणाम आउँछ भन्ने छैन । चुनाव कि जित्नका लागि हुन्छ कि हार्नका लागि हुन्छ । दुवैका लागि तयार हुनुपर्छ । हामीलाई समय नपुगेको कुरा, त्यो हाम्रो समस्या हो । समय पुगेन, समय थोरै भयो यो हामीले समीक्षा गर्ने विषय हो । तर निर्वाचनको परिणामलाई हामीले स्वीकार गरेका छौँ । हामी जनतामा जाने, जुनसुकै विषयको फैसला नै जनताले गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हौँ ।
परिणाम राम्रो ल्याउन हामीले कोसिस गरेका हौँ । हामीले सबै उपाय अपनाएका हौँ । परिणाम राम्रो ल्याउनका निम्ति जे–जे उपाय अपनाउन सकिन्थ्यो, त्यसअन्तर्गत विशेष अधिवेशनको उपाय हामीले अपनायौँ । नेतृत्व र नीति परिवर्तन गरेर प्रष्ट भएर अगाडि जाने कोसिस गर्यौँ । तर हामीले आम मतदातालाई बुझाउन सकेनौँ भन्ने कुरा स्वीकार्छु ।
चुनावमा तपाईँहरूको अपेक्षा के थियो ? यस्तो खालको परिणाम आउला भन्ने तपाईँले कल्पना गर्नुएभएको थियो ?
ठ्याक्कै यस्तै परिणाम आउँछ भनेर त परिणाम जसले ल्याउनुभएको छ उहाँहरूले पनि सोच्नुभएको थिएन । अनपेक्षित नै हो यो परिणाम । यसो अनुमान लगाउँदा यो कसरी आयो त भनेर कतैबाट पनि हिसाब मिलाउँदा मिल्दैन । तर हामी स्वीकार्छौं ।
जनताको फैसला अन्तिम हुन्छ । त्यो फैसलालाई हामी मान्छौँ । हामी पहिलो या पहिलोसँग नजिकको शक्ति हुन्छौँ भन्ने अपेक्षा थियो । त्यो हुन सकेनौँ ।
तपाईँहरूको मुख्य प्रतिस्पर्धा कुन दलसित हुन्छ भन्ने आँकलन थियो ?
अहिले जो पहिलो हुनुभयो उहाँहरू नै मुख्य प्रतिस्पर्धी हुनुहुन्छ भन्ने थियो । हाम्रा कतिपय साथीहरू मान्नुहुन्नथ्यो, तर म चाहिँ मान्दथेँ । उहाँहरू नै पहिलो हुने कुरा मेरो मनले मानेको थियो । परिस्थिति त्यस्तो छ भन्ने कुरा मैले अगाडि नै स्वीकार गरेको थिएँ । तर यति सिट र यति धेरै अन्तरको त उहाँहरूले नै अपेक्षा गर्नुभएको थिएन ।
आफ्नो निर्वाचन क्षेत्रमा चाहिँ के अनुमान गर्नुभएको थियो ? हारिन्छ भन्ने थियो ?
हार्दा पनि धेरै थोरै अन्तरले हार्छु होला भन्ने लागेको थियो । जित्ने नै बढी सम्भावना छ भन्ने देखिन्थ्यो । माहोल नै त्यस्तो थियो । त्यो त परिस्थिति र माहोलले अनुमान गर्ने कुरा हो । जित्ने नै बढी सम्भावना भएको अनुमान गर्न सकिन्थ्यो । यसरी हारिन्छ भन्ने त कुनै कोणबाट पनि अनुमान गर्न सकिने स्थिति थिएन ।
जनताले एउटा पार्टीलाई स्पष्ट बहुमत मात्र नभएर झण्डै दुई तिहाइको शक्ति बनाइदिएका छन् । अब देश कता जाला त ?
अब बन्ने प्रधानमन्त्रीको अवस्था एकदमै धेरै अनुकूल छ । ब्युरोक्रेसी रिफर्म गर्ने, नेपालको प्रशासनिक संयन्त्र, राजनीतिक संयन्त्र रिफर्म गर्ने, नेपालको संविधान संशोधन गर्ने, छिमेकी सँगको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने, परराष्ट्र नीतिलाई नयाँ ढंगले परिभाषित गर्ने, आर्थिक दृष्टिकोण निर्माण गर्ने, तमाम भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्ने सबै काम गर्न मिल्ने गरी जनसमर्थन प्राप्त भएको छ । भरोसा प्राप्त भएको छ । जनताको विश्वास प्राप्त भएको छ ।
त्यसैले हामी शुभकामना व्यक्त गर्न चाहन्छौँ । तपाईँले राम्रो गर्नुभयो हाम्रो पूर्ण समर्थन हुन्छ । रचनात्मक मात्र होइन हाम्रो पूर्ण समर्थन हुन्छ । हामी एकदम दिल खोलेर तपाईँको प्रशंसा गर्छौँ । तपाईँका बाधा व्यवधानहरू हामीले फुकाइदिने कतै ठाउँ छ भने हामी त्यो पनि फुकाउँछौँ । बाधा सिर्जना गर्ने त कुनै अवस्थै रहँदैन । तर देश र जनताको हित विपरीत काम हुने परिस्थिति भयो, जनतालाई झुक्याउने परिस्थिति भयो भने त्यो बेला चाहिँ हामीले पनि खबरदारी गर्नुपर्ने हुन्छ ।
यो चुनावमा शेरबहादुर देउवा पक्षबाट कांग्रेसलाई अलिकति असहयोग भयो भन्ने पनि चर्चा छ नि ?
यसो भन्दा हामीले आफ्नो कमजोरी अरूलाई थोपारे जस्तो हुन्छ । हाम्रो प्रचलन कस्तो छ भने चुनाव हारेपछि कसैले असहयोग गर्यो भन्ने अरूलाई दोष दिने । तर यो चुनावमा तपाईँको प्रश्नसँग जोडिएको विषय त्यति अस्पष्ट छैन । मैले भनिरहन नपर्ला ।
अर्को साइडबाट हेर्दा, देउवाले अन्तिम पटक चुनाव लड्न खोजिरहनुभएको थियो । उहाँ सहितका केही पुराना नेताहरूलाई टिकट दिएको भए कांग्रेसमा एकताको सन्देश जान्थ्यो र कुन आधिकारिक भन्ने मुद्दा पनि त समाप्त हुन्थ्यो होला । त्यति उदारता किन देखाउन सकिएन ?
हामीले कुनै पक्षलाई टिकट नदिएको स्थिति छैन । भनेको यो टिकट वितरणको सन्दर्भमा कुनै पक्ष छुटेको छैन । परिस्थिति अनुकूल कसलाई हुन्छ भनेर छलफल भयो होला । हामीले जुन सिद्धान्त अंगीकार गर्न खोज्यौँ, मापदण्डलाई आत्मसात् गर्न खोजिरहेका थियौँ, त्यो मापदण्ड पूरा गर्न कोसिस गर्यौँ होला । त्यो मापदण्ड अनुकूलको उम्मेदवार चयन गर्न खोज्यौँ होला । थोरै समय भएको कारणले हामीले सबै कुरा बुझ्न नसकेका हुन सक्छौँ ।
सबै ठाउँमा एकदमै ठिक भएको छ भनेर म एकदम कन्फिडेन्सका साथ दाबी गर्न पनि चाहन्न । किनभने समय असाध्यै थोरै थियो । हामीलाई प्राप्त सूचना र जानकारीको आधारमा हामीले टिकट वितरणको प्रक्रियालाई पनि एकदमै बेस्ट बनाउन खोजेका हौँ ।
पुराना परम्परा र अभ्यासलाई अंगीकार नगरीकन नयाँ ढंगबाट गर्न खोज्यौँ । निर्वाचन जित्ने अवस्थामा छ, छवि एकदमै राम्रो छ तर कुनै पक्षको हो भन्ने आधारमा पूर्वाग्रही व्यवहार गरिनुहुन्न भन्ने कुरालाई हामीले ख्याल गरेका थियौँ ।
अब भोलिको बैठकपछि कांग्रेसमा के होला ? यदि केन्द्रीय कार्यसमितिले राजीनामा स्वीकृत गर्यो भने त्यसपछि कांग्रेसको नेतृत्व कसले गर्छ ?
हाम्रो वैधानिक प्रक्रियाअनुसार जान्छ । मेरो व्यक्तिगत धारणा चाहिँ गगन थापाकै नेतृत्वमा कांग्रेस नियमित अधिवेशनसम्म जानुपर्छ । मतलब मलाई विश्वास छ कि जान्छ पनि ।
अबको पाँच वर्ष कांग्रेसले के गर्नुपर्छ ?
यो जुन जनमत रास्वपाले प्राप्त गरेको छ, त्यसलाई हामीले जनताको विश्वास हो भन्ने ढंगबाट बुझ्नुपर्छ । त्यसैले उसलाई सरकार बनाइसकेपछि काम गर्न दिनुपर्छ । काम गर्न सहयोग गर्नुपर्छ । हामीले एकदम रचनात्मक सहयोगी बनेर अगाडि बढ्नेछौँ ।
विगतमा जस्तो संसद बहिष्कार गर्ने, संसद अवरुद्ध गर्ने, सडक आन्दोलन गर्ने, जबर्दस्त पूर्वाग्रह राखेर धारणा निर्माण गर्ने, यस्तो कुनै पनि काम गर्नुहुन्न र गर्दैनौँ पनि । हामीले जनताको पक्षमा काम हुने अवस्थामा सहयोग गर्नुपर्छ । त्यसो भएन, विश्वास टुट्ने स्थिति बन्यो, जनता झुक्याउने स्थिति बन्यो भने हामीले त्यही ढंगबाट आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ । नेपालप्रेशबाट
