सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘विधान मिचेर नेतृत्व हस्तान्तरण हुँदैन, कांग्रेसमा विधि स्थापित हुनुपर्छ’ : नेता, एनपी साउद (अन्तवार्ता)

२०८३ भाद्र ६, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नेपाली समाजमा दुईवटा उखान प्रचलित छन्- खाली भाँडो धेरै बज्छ र आधा गाग्रो पानी धेरै छचल्किन्छ । अहिले नेपाली कांग्रेस न सत्तामा बलियो स्थितिमा छ, न जनताले सोचेजस्तो जनमत नै दिए । यस्तो अवस्थामा पनि पार्टीभित्र एकताबद्ध हुनुको साटो किन यति धेरै आन्तरिक कोलाहल र द्वन्द्व छचल्किरहेको छ ?

म यसलाई खाली भाँडोभन्दा पनि आधा गाग्रो पानीको रूपमा व्याख्या गर्न चाहन्छु । किनभने नेपाली कांग्रेस इतिहास बोकेको ठुलो शक्ति हो, यो पूरै खाली कहिल्यै हुँदैन । तर यसमा आधा भरिएको अवस्था भने पक्कै देखिन्छ, जसले गर्दा बढी छचल्किने प्रवृत्ति देखा परेको छ ।

अहिले देशमा आएको नयाँ राजनीतिक लहर वा युवा आन्दोलनको बेला नेपाली कांग्रेस सत्ता र शक्तिमा हुँदा हामीसँग धेरै सबल आधारहरू थिए । तर सरकारमा रहँदा र सुशासन प्रवाह गर्ने सन्दर्भमा हाम्रा तर्फबाट केही गम्भीर कमजोरीहरू पक्कै भए । यो सुशासनको अभाव वा कमजोरीको मुद्दा आजको वा हिजोको मात्र होइन, यो २०४८ सालपछिका विभिन्न कालखण्डदेखि नै क्रमिक रूपमा जोडिएर आएको छ । २०४८ सालको बहुमतको सरकारपछि कांग्रेसभित्र सुरु भएको आन्तरिक खिचातानी, त्यसपछिका सरकारहरू र २०५६ सालपछिका घटनाक्रमहरूलाई हेर्ने हो भने हामीले सुशासन र स्थिरताको मुद्दालाई जनअपेक्षा अनुरूप स्थापित गर्न सकेनौँ । आर्थिक वृद्धिदर केही समय सन्तोषजनक रहेपनि सुशासनको कसीमा जनता सन्तुष्ट हुन सकेनन् । त्यसैले आज पार्टीभित्र जुन असन्तुष्टिको छचल्काइ छ, त्यो ऐतिहासिक कमजोरी र वर्तमानको महत्वाकांक्षाको प्रतिविम्ब हो ।

तपाईंहरूले हालै इतर समूहको एउटा ठुलो भेला आयोजना गर्नुभयो । संस्थापन इतर पक्षले यसरी छुट्टै भेला आयोजना गर्नुको उद्देश्य के हो ? पार्टीभित्रै छलफल गर्ने ठाउँ हुँदाहुँदै किन यो बाटो रोजियो ?

यसको पृष्ठभूमि निकै लामो र जटिल छ । देशमा युवाहरूको नयाँ आन्दोलन र तरंग पैदा भएको बेला हाम्रो पार्टीभित्रका केही साथीहरूले आफूलाई त्यसै लहरको प्रतिविम्बका रूपमा प्रस्तुत गर्न खोज्नुभयो । उहाँहरूले पार्टीको संरचनालाई पूरै पुनर्संरचना गर्ने र आफू अनुकूल नेतृत्व स्थापित गर्ने उद्देश्यका साथ पार्टीभित्र विशेष अधिवेशन वा विशेष महाधिवेशनको मुद्दा उठाउनुभयो ।

तर विशेष अधिवेशनको मुद्दा विधानसम्मत प्रक्रियाभन्दा पनि गुटगत महत्वाकांक्षाबाट बढी प्रेरित थियो । हामीले त्यस बेला पनि साथीहरूलाई आग्रह गरेका थियौँ कि पार्टीको नियमित महाधिवेशन आउन धेरै समय बाँकी छैन, त्यसैले धैर्य गरौँ । विधानतः पार्टी सभापति शेरबहादुर देउवाजीको यो अन्तिम कार्यकाल हो र लोकतान्त्रिक प्रक्रियाबाटै नेतृत्व हस्तान्तरणको दिशामा अघि बढ्नुपर्छ । तर आन्तरिक द्वन्द्व बढाएर जसरी विशेष अधिवेशनको बहसलाई अगाडि सारियो, त्यसले कांग्रेसलाई एकताबद्ध बनाउनुको साटो उल्टो क्षति पुर्‍यायो । चुनावको मुखमा आन्तरिक कलह बढाउँदा त्यसको सिधा असर निर्वाचन परिणाममा पर्‍यो ।

तपाईंले भन्नुभयो- विशेष अधिवेशनको बहसले पार्टीलाई क्षति पुर्‍यायो । तर निर्वाचन परिणाममा कांग्रेसको मत घटेको कुरालाई यसैसँग मात्र जोड्न मिल्छ र ? तपाईंहरुले यसपटक कांग्रेसलाई भोट नदिएर सहयोग गरिदिनुस् भनेर जनतालाई भनेकाले भोट घटेको होइन र ?

निर्वाचनको परिणाम आफैँमा धेरै कारकको योगफल हो । तर आन्तरिक एकता सबैभन्दा महत्वपूर्ण पक्ष हो । चुनावकै मुखमा पार्टीभित्र विभाजनको सन्देश जाँदा आम मतदाता र शुभेच्छुकहरू निराश भए । परिणामस्वरुप, अघिल्लो निर्वाचनमा करिब २७ लाख मत पाएको नेपाली कांग्रेस यस पटक १६ लाख मतमा खुम्चिन पुग्यो । ८९ सिटबाट घटेर हामी ३८ सिटमा झर्‍यौँ ।

यहाँसम्म कि हाम्रा युवा र स्थापित नेताहरूले समेत आफ्नो परम्परागत निर्वाचन क्षेत्र सुरक्षित महसुस गर्न नसकेर क्षेत्र परिवर्तन गर्नुपर्ने वा नयाँ ठाउँमा जानुपर्ने परिस्थिति बन्यो । यसले के देखाउँछ भने पार्टीभित्र संस्थापन र इतर पक्षबिचको अस्वस्थ प्रतिस्पर्धाले हाम्रो समग्र शक्ति कमजोर बनायो । जनताले हामीलाई बलियो र एकताबद्ध शक्तिका रूपमा हेर्न चाहेका थिए, तर हामी आफैँभित्र लडिरह्यौँ ।

तर गगन थापा समूहले त पार्टीभित्र विधानको पालना नभएको, सभापतिले एकलौटी ढंगले काम गरेको र पार्टीलाई जीवन्त राख्न विशेष अधिवेशन आवश्यक भएको तर्क गरिरहेको छ नि । यसमा तपाईंको विमति किन ?

विधानको कुरा गर्दा हामी सबैभन्दा पहिले स्पष्ट हुनुपर्छ । विशेष महाधिवेशन वा विशेष अधिवेशन बोलाउने स्पष्ट कानुनी र वैधानिक प्रक्रिया हुन्छ । विधानतः विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय समितिलाई मात्र हुन्छ । यदि केन्द्रीय समितिले बोलाउँदैन भने विधानको कुन दफाअनुसार कसले बोलाउने भन्ने कुरा निर्वाचन आयोग वा कानुनी निकायले निरूपण गर्ने विषय हो । दुईजना महामन्त्रीले हस्ताक्षर गर्दैमा वा केही केन्द्रीय सदस्यले भेला गर्दैमा त्यो स्वतः विशेष महाधिवेशन बन्न सक्दैन ।

हाम्रो पार्टीको विधान निर्वाचन आयोगमा दर्ता छ । विधान विपरीत गरिने कुनै पनि क्रियाकलापले वैधानिकता पाउन सक्दैन । त्यसैले हामीले भनेका थियौँ कि यो बाटो अवैधानिक छ । पार्टीभित्रै अल्पमत र बहुमतको प्राविधिक खेल खेलेर राजनीतिक विरासत हस्तान्तरण हुन सक्दैन । विरासतका लागि त पार्टीको इतिहास, आन्दोलन र विचारको निरन्तरता चाहिन्छ । तर साथीहरूले प्राविधिक र कानुनी छिद्रहरू खोजेर पार्टीमा जबर्जस्ती नेतृत्व हत्याउने प्रयास गर्नुभयो, जुन प्रत्युत्पादक साबित भयो ।

वैधानिक ढंगले भएको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई तपाईंहरूले स्वीकार नगरेकै कारण यो समस्या उत्पन्न भएको होइन र ?

हामीले उहाँहरूको वैधानिकतालाई अस्वीकार गरेको होइन, बरू उहाँहरूले पार्टीको स्थापित नेतृत्व र विधानलाई चुनौती दिने काम गर्नुभयो । कांग्रेसभित्रको यो आन्तरिक अविश्वासकै कारण आज हामी संसद्मा पनि रक्षात्मक अवस्थामा छौँ ।

तपाईंहरूले हालै आयोजना गर्नुभएको भेलामा धर्म निरपेक्षता र सनातन धर्मका विषयमा पनि निकै चर्चा भयो । नेपाली कांग्रेसले संविधान निर्माणको नेतृत्व गर्दा धर्म निरपेक्षता स्वीकार गरेको थियो । तर अहिले आएर तपाईंहरू किन संविधान विपरीत हिन्दु राष्ट्र वा सनातन धर्मको कुरा उठाइरहनुभएको छ ?

पहिलो कुरा, नेपालको संविधान कुनै एउटा पार्टीको मात्र दस्तावेज होइन, यो तत्कालीन शक्ति सन्तुलन र राष्ट्रिय सहमतिको साझा दस्तावेज हो । संविधान निर्माणको नेतृत्व नेपाली कांग्रेसले गरेको हुनाले यसको स्वामित्व हामी लिन्छौँ । तर यसको अर्थ संविधानमा रहेका प्रत्येक शब्दहरू अपरिवर्तनीय छन् भन्ने होइन । संविधान आफैँमा संशोधन योग्य दस्तावेज हो ।

जहाँसम्म धर्म निरपेक्षताको कुरा छ, संसारका धेरै लोकतान्त्रिक मुलुकहरूमा धर्म निरपेक्षताको परिभाषा र अभ्यास फरक–फरक छ । नेपालको सन्दर्भमा धर्म निरपेक्षताको आवरणमा हाम्रा परापूर्व कालदेखि चलिआएका प्राचीन र सनातन धर्म–संस्कृतिमाथि प्रहार भइरहेको छ भन्ने जनगुनासो व्यापक छ । नेपालको इतिहासमा हिन्दु, बौद्ध, किरात र प्रकृतिपूजक धर्महरू अनादि कालदेखि आपसमा मिलेर बसेका छन् । यी हाम्रा राष्ट्रिय पहिचान र सभ्यताका आधारस्तम्भ हुन् ।

हामीले के भनेका हौँ भने राज्यले यी प्राचीन र सनातन धर्महरूको संरक्षण र सम्वर्द्धन गर्नुपर्छ । धर्म निरपेक्षताको नाममा आफ्नो मौलिक पहिचान गुमाउने छुट हामीलाई छैन । यो संविधान विपरीतको बहस होइन, बरु संविधानले नै प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रता र पहिचानको रक्षाको वकालत हो ।

यसको मतलव देउवा नेतृत्वको कांग्रेस धर्म निरपेक्षता हटाएर नेपाललाई फेरि हिन्दु राष्ट्र स्थापना गर्ने दिशामा जान खोजेको हो ?

धर्म निरपेक्षता कम्युनिस्ट शब्द हो । हामी प्रगतिशीलताको नाममा आफ्नो जरा काट्ने कुराको विरोधी हौँ । राज्यले सनातन धर्म र संस्कृतिलाई विशेष संरक्षण दिनुपर्छ भन्ने हाम्रो माग हो । यसको अर्थ अन्य धर्मावलम्बीहरूलाई निषेध गर्ने वा उहाँहरूको अधिकार खोस्ने भन्ने पक्कै होइन ।

नेपालमा मुस्लिम, इसाई वा अन्य जुनसुकै धर्म मान्ने नागरिकलाई पनि आफ्नो धर्म मान्ने पूर्ण स्वतन्त्रता हुनुपर्छ । तर सनातनदेखि चलिआएको राष्ट्रिय पहिचानलाई समाप्त पार्ने काम हुनुहुँदैन ।

पार्टीका युवा नेताहरू जस्तै गगन थापा र विश्वप्रकाश शर्माहरू त धर्म निरपेक्षताको पक्षमा दृढ देखिनुहुन्छ । तपाईंहरूले उठाएको यो सनातन धर्मको मुद्दाले पार्टीभित्र अर्को ठुलो वैचारिक विभाजन ल्याउँदैन ?

नेपाली कांग्रेस विचारहरूको मन्थन हुने खुला दल हो । यहाँ विभिन्न विषयमा विमति र बहस हुनु स्वाभाविक हो । गगनजी वा अरू साथीहरूको आफ्नै दृष्टिकोण होला । तर पार्टीभित्र सनातन धर्मको पक्षमा उभिनेहरूको संख्या पनि निकै ठुलो छ । हामी प्रजातान्त्रिक पार्टी हौँ, त्यसैले बहुमत सदस्य र आम जनताको भावनालाई समेटेर अगाडि बढ्नु हाम्रो कर्तव्य हो । यसले पार्टीलाई विभाजन गर्दैन, बरु कांग्रेसलाई नेपाली माटो र जनताको भावनासँग अझ नजिकबाट जोड्नेछ ।

महामन्त्री प्रदीप पौडेलले एउटा अपिल जारी गरेर अदालत होइन, सानेपा आउनु भनेर तपाईंहरूलाई आह्वान गर्नुभएको छ । यसलाई कसरी लिनुभएको छ ?

हामी सधैँ एकताकै पक्षमा छौँ । तर राजनीतिक सहमति गर्दा विधान र कानुनी प्रक्रियालाई पूरै बेवास्ता गर्न मिल्दैन । हामीले अदालत वा निर्वाचन आयोगमा रहेका मुद्दाहरूको छिटो निरूपण चाहेका छौँ, ताकि पार्टीको वैधानिकतामाथि कसैले औँला ठड्याउन नसकोस् । हामी सबै मिलेर पार्टीलाई नयाँ जीवन दिन तयार छौँ, तर यसका लागि सबैले आ–आफ्नो पोजिसन छाड्नुपर्छ ।

कांग्रेसलाई फेरि देशको पहिलो र एकताबद्ध शक्ति बनाउन अबको तत्कालीन कार्यदिशा के हुनुपर्छ जस्तो लाग्छ ? आम कार्यकर्ता र जनतालाई तपाईंको सन्देश के छ ?

हामीले सबै प्रकारका अस्वस्थ प्रतिस्पर्धालाई बन्द गरेर गम्भीर र खुला संवाद सुरू गर्नुपर्छ । विमतिहरूलाई विधानसम्मत ढंगले हल गर्नुपर्छ । कांग्रेसको इतिहास संघर्ष र बलिदानले लेखिएको छ । क्षणिक आन्तरिक विवादले हाम्रो गन्तव्य रोक्न सक्दैन । हामी एकताबद्ध भएर अगाडि बढ्यौँ भने नेपाली कांग्रेसलाई फेरि मुलुकको नेतृत्वदायी शक्ति बनाउन कत्ति पनि समय लाग्ने छैन । रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘जनतासँग टुटेको सम्बन्ध जोड्नु नै एमाले पुनरुत्थानको पहिलो सर्त हो’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘अदालतबाट शेरबहादुर देउवाको नेतृत्वले वैधानिकता पाउनेमा विश्वस्त छौँ’ : डा. प्रकाशशरण महत (अन्तवार्ता)

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी (अन्तवार्ता)

१८ करोडको चर्चा निराधार, निष्पक्ष अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)

‘रास्वपासँग फेरि एकता गर्ने योजना छैन, उज्यालो नेपाललाई आफ्नै रोडम्यापअनुसार अघि बढाउँछौँ’ : कुलमान घिसिङ

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल (अन्तवार्ता)

‘ओली-प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन किनारामा पुग्यो’ : हरिबोल गजुरेल (अन्तवार्ता)

‘अधिवेशन बिथोल्न क्षेत्रीय सभापतिकै योजनामा फलामको भाटासहित आक्रमण गरियो’ : डा. डिला संग्रौला (अन्तवार्ता)

‘संविधान लोकतान्त्रिक छ, यसलाई बचाएर लैजान्छन् भन्ने विश्वास छ’ : पूर्वराष्ट्रपति रामबरण यादव (अन्तवार्ता)

‘तिहार–छठपछि सरकारलाई खबरदारी गर्न वैचारिक आन्दोलन गर्छौं’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

भोटेकोशी बाढीपीडितलाई दसैंअघि अस्थायी घर, दुई वर्षभित्र स्थायी बस्ती उपलब्ध गराउछौं : पूर्वाधारमन्त्री, सुनिल लम्साल